नेपालमा विभिन्न चरणमा भित्रिएको झण्डै ५ अर्ब रुपैयाँको स्रोत नखुलेको विदेशी लगानीलाई वैधानिकता प्रदान गरिने भएको छ।
औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले लगानी भइसकेको ४ अर्ब ८९ करोड रुपैयाँ लेखांकनमा नदेखिए पनि नेपाल राष्ट्र बैंकलाई वैधानिकता दिन भनेको हो।
बोर्डका सदस्यसचिव तथा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले उक्त रकम लेखाङ्कनको लागि निर्देशन दिएको पुष्टि गरे।
‘लामो समयदेखि लेखाङ्कनको समस्या थियो, त्यसलाई सल्टाउन निर्देशन दिने निर्णय भएको छ’, गौतमले नेपालखबरसँग भने।
विभागका अनुसार नेपालमा विदेशबाट लगानी भित्र्याएको प्रमाणपत्र देखाउन नसक्दा लेखाङ्कनमा समस्या भएपछि वैधानिकताको प्रक्रिया अघि बढाइएको छ।
नेपालमा बहुराष्ट्रिय कम्पनीदेखि यहाँकै चर्चित उद्योग व्यवसायहरुसँग समेत विदेशबाट लगानी भित्र्याएको प्रमाण छैन। गत वर्ष नेपाल सरकारले लगानी भइसकेकाको पूर्ण लेखाङ्कन गर्ने नीति अघि सारेको थियो।
सोहीअनुसार सरकारसँग अनुमति लिएर नै लगानी भएको तर प्रमाण नष्ट भएको वा प्रचलित कानुनबमोजिम विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भएर सेयर लागत समेत कायम भएको अवस्थामा त्यसको प्रमाण नभएकाहरुलाई सम्पर्कमा आउन भनिएको थियो।
विशेषगरी विदेशी लगानीबापतको रकम नेपाल भित्र्याएको प्रमाण पेस गर्न नसकी नेपाल राष्ट्र बैंकबाट लेखांकन तथा लेखांकन समर्थन नभएका उद्योगको सेयर खरिदबिक्री पुनर्लगानी, लगानी फिर्ता लैजानेलगायतका प्रक्रिया अपनाउन सहजीकरण गर्न सरकारले २०७९ पुस ३ गते ३५ दिने सूचना जारी गरेको थियो।
पुनर्लगानी, लगानी फिर्ता लैजानेलगायतका उद्योग प्रशासनका विषयहरुलाई नीतिगत तहमा समाधान गर्ने प्रयोजनार्थ उद्योग विभागले सूचना जारी गरेको थियो। त्यसअनुसार नै उक्त ४ अर्ब ८९ करोड लगानी लेखाङ्कनको लागि आवेदन आएको थियो।
लेखांकनमा छैन ८१ कम्पनीको लगानी
उद्योग विभागमा आएको विवरणअनुसार ८१ वटा कम्पनीमा भएको लगानीको लेखाङ्कन भएको छैन। यसरी प्रमाण नभएका कम्पनीलाई अहिले वैधानिकता दिन बोर्ड बैठकले राष्ट्र बैंकलाई निर्देशन दिएको हो।
बोर्डको बैठक गत मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा बसेको थियो। लेखाङ्कन नभएको उद्योग तथा व्यवसायहरुमा बहुराष्ट्रिय कम्पनीदेखि रेष्टुराँसम्म छन्। जसमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालदेखि याक एन्ड यती होटलसम्म रहेको उद्योग विभागले जनाएको छ।
लेखाङ्कनमा समस्या रहेका उद्योग तथा व्यवसायहरुमध्ये सोलार फार्म प्रालिमा ६६ प्रतिशत विदेशी लगानी छ। त्यसमा ३३ करोड लगानी नेपाल भित्रिएको प्रमाण छैन। त्यसैगरी बोटलर्स नेपालको कुल विदेशी लगानी ७६ दशमलव २ प्रतिशत छ। त्यसमा १९ करोड ४८ लाख विदेशी लगानी नेपाल ल्याएको प्रमाण छैन। त्यस्तै, डाबर नेपालको विदेशी लगानी ९७ दशमलव ५ प्रतिशत रहेकामा ७ करोड ९८ लाख रुपैयाँ लगानीको प्रमाण देखिँदैन।
यता शतप्रतिशत विदेशी लगानीको याक एन्ड यती होटल लिमिटेडमा २ करोड ५१ करोड रुपैयाँको प्रमाण छैन। त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडले सञ्चालन गरेको हायात होटलमा १५ दशमलव ४ प्रतिशत लगानी विदेशी छ। त्यसमा १ अर्ब ८८ करोड रुपैयाँ विदेशबाट ल्याए पनि प्रमाण देखिएको छैन।
त्यस्तै, भृकुटी पल्स नवलपरासी, इस्टर्न सुगर, श्रीराम सुगर, होटल एभरेस्ट, टाइगर टप्स रिसोर्ट लगायत ८१ कम्पनीले आफूले विदेशबाट लगानी ल्याए पनि सबै रकमको प्रमाण नभएको देखिएको हो।
कुन कम्पनीको कति रकम लेखाङ्कन हुन बाँकी?
Shares
प्रतिक्रिया