उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिकास्थित धौवादी फलाम खानीको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
खानीबाट आइरन/स्टिल उत्पादन गर्नका लागि चार वर्षअघि स्थापना भएको धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना भएको थियो।
यस क्षेत्रमा काम गर्ने प्रविधि तथा दक्ष जनशक्तिको अभाव तथा सीमित स्रोत साधनका बाबजुद पनि हालसम्म कम्पनीले गर्दै आएको प्रयास सह्राहनीय रहेको मन्त्री रिजालले बताए।
यस्तो असामान्य परिस्थितिमा धौवादी फलामखानी भण्डारको अधिकतम सदुपयोग गर्न फलाम/स्टिल उद्योग स्थापना गरि फलामजन्य वस्तुको मागको करिब एक चौथाइ हिस्सा परिपूर्ति गर्ने र यसबाट देशको व्यापार घाटा कम गर्न मद्दत पुर्याउनुका साथै वैदेशिक मुद्रा सञ्चितिमा समेत वृद्धि हुने मन्त्री रिजालले व्यक्त गरे।
हाल देशमा उत्पादन भइरहेको विद्युतको औद्योगीकरण कार्यका समुचित उपयोग हुन जरूरी रहेको उल्लेख गर्दै मन्त्री रिजालले भविष्यमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि बढी कार्बन उत्सर्जन गर्ने परम्परागत इन्धनलाई विस्थापित गरी हाइड्रोजन ऊर्जा स्रोतलाई सदुपयोग गरी ग्रिन स्टिल उत्पादन गर्ने लक्ष्य हासिल गर्न सकिने बताए।
साथै, मन्त्री रिजालले धौवादी फलाम कम्पनीको स्थापनापछि स्थानीय युवाहरूलाई रोजगारी सृजना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरे। धौवादी फलाम कम्पनी लिमिटेड फलाम उत्पादन क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास समेत मन्त्री रिजालले व्यक्त गरे।
स्थलगत अनुगमनका क्रममा मन्त्री रिजालसहित उद्योग सचिव मुकुन्दप्रसाद निरौला, निजी सचिव मात्रिका आचार्य, स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, धौवादी फलाम कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डा जनकबहादुर चन्द सहितको उपस्थिति थियो ।
Shares
प्रतिक्रिया