ad ad

कारोबार


सेयरबजारमा चलखेल : साना लगानीकर्ताको मनोबल कमजोर बनाउने, घटेको मूल्यमा सेयर किन्ने

सेयरबजारमा चलखेल : साना लगानीकर्ताको मनोबल कमजोर बनाउने, घटेको मूल्यमा सेयर किन्ने

नेपालखबर
फागुन २, २०८० बुधबार १०:२६, काठमाडौँ

मौद्रिक नीतिको अर्र्धवार्षिक समीक्षापछि खुलेको बजार उच्च अंकले घटेर २१ सय विन्दु तल ओर्लिएको छ। समीक्षाअघि २१ सय विन्दुमाथि रहेको बजार उच्च अंकले घटेर साढे २ हजार विन्दुतिर ओर्लिएको हो। 

अर्धवार्षिक समीक्षामा सेयर बजारलाई प्रभाव पार्ने गरी नीतिगत परिवर्तन भएको छैन। बरु, अप्रत्यक्ष रुपमा बजारलाई साथ पुग्ने गरी नै मौद्रिक नीतिको समीक्षा आएको देखिन्छ। समीक्षाले अप्रत्यक्ष रुपमा बजारलाई सहयोग पुर्याउने गरी आएको छ। 

पछिल्लो समय पुँजी कोषको दबाबमा रहेका बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा थिए। एकातिर पुँजीकोषको दबाब, अर्कोतिर उच्च जोखिम भारका कारण अधिकांश बैंकहरु ऋण बढाउन नसक्ने अवस्थामा थिए।

अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले पुँजी कोष कसिलो भएका कारण कर्जा प्रवाह गर्न नसक्ने बैंकलाई केही राहत मिलेको छ।

यसअघि १ करोडसम्मको यस्तो कर्जालाई समीक्षामा २ करोडसम्म रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको बैंकलाई केही राहत मिलेको हो। यस्तो कर्जा रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५ प्रतिशतमात्रै हुने हुन्छ। जोखिम भार घट्ने भएपछि बैंकहरुलाई कर्जा लगानी क्षमता बढ्ने हुन्छ। 

बैंकहरुमा जति लगानी क्षमता धेरै हुन्छ त्यति नै बजारलाई सपोर्ट मिल्ने हुन्छ। तर, अर्धवार्षिक समीक्षामा बजारलाई सकारात्मक प्रभाव पर्ने नीतिगत कुरा नआएको भन्दै मंगलबारको कारोबारमा केही खेलाडीले बजार घटाउन ठूलो कसरत गरे।

केही हदसम्म उनीहरु सफल पनि देखिए। कारोबारको सुरुदेखि बजारमा सप्लाई देखाएर साना लगानीकर्तालाई मनोबल कमजोर बनाउने र घटेको मूल्यमा सेयर किन्ने प्रवृत्ति देखियो। 

उक्त दिन कारोबार साढे ४ अर्ब बढीको देखिएको छ। ३०.५६ अंकले घटेको बजारमा कारोबार साढे ४ अर्ब बढीको कारोबार हुनुले बजारमा केही खेलाडीले खेलेको प्रस्ट हुन्छ।  

अहिलेको परिस्थिति नै सेयरबजारलाई साथ मिल्ने किसिमको छ। अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधार, अधिक तरलता, घट्दो ब्याजदर र शोधनान्तर बचतलगायतका सूचकले बजारलाई सपोर्ट मिल्छ। बजारलाई सपोर्ट मिल्ने परिस्थितिमा उच्च अंकले घट्नु स्वाभाविक नरहेको जानकार बताउँछन्। 

२ वर्षअघि ३२ सय विन्दु पुगेको बजार त्यसयता निरन्तर घटेर २१ सय वरिपरि घुमिरहेको छ। एकातिर तल्लो विन्दुमा रहेको बजार, त्यसमा पनि परिस्थिति नै सपोर्ट मिल्ने हुँदा बजारमा देखिएको ठूलो गिरावट स्वाभाविक नहुने उनीहरुको भनाइ छ। 

केन्द्रीय बैंकले जोखिम भार बढाउने र मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा घटाउने व्यवस्था गर्दा त्यसले बजारलाई नकारात्मक असर पर्ने थियो। तर, समीक्षामा बजारलाई प्रभाव पार्ने किसिमको कुनै व्यवस्था नहुँदा समेत बजार नकारात्मक देखिएको छ।

बजार धेरै घट्नुपर्ने आधार छैन : विश्लेषक अर्याल 
मौद्रिक नीतिको समीक्षाका कारण बजार धेरै घट्नुपर्ने आधार नदेखिएको सेयरबजार विश्लेषक मुक्ति अर्याल बताउँछन्।

लगानीकर्ताको अपेक्षाअनुरुप मौद्रिक नीति नआउँदा सामान्य घटबढ हुन्छ। तर, बजारमा ठूलो अंकको गिरावट हुने किसिमको समीक्षा नरहेको अर्यालको भनाइ छ। 

मौद्रिक नीतिको समीक्षामा बजारलाई प्रभाव पार्ने सकारात्मक र नकारात्मक कुनै पनि विषय नरहेको उनी बताउँछन्। 

अहिले अर्थतन्त्र नै ठीक अवस्थामा नहुँदा कर्जा लिनसक्ने अवस्था नबनिसकेको अर्यालको भनाइ छ। 

‘अहिले प्रणालीमा तरलता अधिक देखिए पनि कर्जा लिनसक्ने अवस्था बनेको देखिँदैन’, उनले भने, ‘व्यापारी, उद्यमी, व्यवसायीले कर्जा लिन सक्ने अवस्था हुनुपर्छ। त्यो अवस्था तब बन्छ जब आर्थिक वृद्धि हुन्छ। अवसर हुन्छ। उत्पादन भएर माग बढ्दा कर्जाको माग हुन्छ।।’ 

कर्जाको माग बढ्न नसकेकाले अवस्थामा बजार धेरै सकारात्मक र नकारात्मक हुने नदेखिएको उनले बताए। 

मौद्रिक समीक्षा अपेक्षाकृत नआउँदा बजार घट्यो : ढकाल
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लगानीकर्ताको अपेक्षाअनुरुप मौद्रिक नीतिको समीक्षा नुहँदा बजार घटेको बताउँछन्। 

‘२०७८को मौद्रिक नीतिमा केन्द्रीय बैंकले पुँजी बजारमाथि अंकुश लगायो। त्यो अंकुश विस्तारै खुकुलो गर्दै आइरहेको अवस्था थियो’, उनले भने, ‘ती अंकुश विस्तारै परिमार्जन गर्दै खुकुलो बनाउँदै आइरहेको अवस्था थियो। यतिबेला लगानीकर्ताले सेयर कर्जाको सीमा र जोखिम भार खुकुलो हुने अपेक्षा गरेका थिए। अर्धवार्षिक समीक्षामा लगानीकर्ताको अपेक्षा नसमेटिँदा बजार घटेको हो।’

समीक्षामा सकारात्मक कुरा नदेखिए पनि नकारात्मक कुरा नरहेकाले बजार विस्तारै लयमा जाने ढकालले बताए। 

बजार तल्लो विन्दुमा त्यसमा पनि घट्दो ब्याजदर, अधिक तरलता लगायतका कुराले बजारलाई सपोर्ट मिल्ने भएकाले बजार सकारात्मक हुने उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .