नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि गत सोमबारदेखि सेयरबजारमा तीव्र उतारचढाव देखिएको छ।
सोमबार, मंगलबार र बुधबार सेयरबजारले सम्भावित अर्थमन्त्रीलाई लिएर तीव्र ‘रियाक्ट’ गरेको छ। सोमबार एकपछि अर्को सर्किटसँगै कारोबार प्रभावित भएपछि मंगलबार फेरि गिरावट आएको थियो। बुधबार फेरि कारोबार अवधिमा सूचक तीव्र घटबढ बन्दै अन्त्यमा ९.३३ अंकको वृद्धिसँगै हरियो भएको छ।
नयाँ अर्थमन्त्रीका रुपमा वर्षमान पुनले बुधबार नै शपथ लिँदै छन्। ३ बजे कारोबार सकिँदा हरियो भएको सेयरबजारले पुनलाई स्वागत गरेको छ।
बुधबार नेप्से १९९३, १९९४ र १९९५ को न्यून विन्दु र २०३६, २०३१ को उच्च विन्दुमा अस्थिर देखिएको थियो। ३ बजे कारोबार बन्द हुँदा भने २०१७.०३ को विन्दुमा थामिन पुगेको छ।
नयाँ सत्ता गठबन्धन बनेको खबरसँगै नेप्से ६ प्रतिशतसम्म बढेकोमा त्यसपछि निरन्तर घटेको छ। कारोबार रकममा भने अघिल्लो हप्ताजस्तै खासै ठूलो उतारचढाव देखिएको छैन।
बुधबार ९१ लाख कित्ता सेयर बिक्री भएको छ। यो भनेको ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार हो। योसँगै १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको र ११ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज कम्पनीहरुको सेयर अधिकतम ९.५९ प्रतिशतसम्म मात्रै बढेको छ। त्यस्तै ९.७१ प्रतिशतसम्मले मूल्य घटेको छ। सर्वाधिक कारोबारमा सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको ३३ करोडको कारोबार भएको छ।
बुधबार ५८ हजार ९ सय ४० पटक खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
त्यस्तै सत्ता फेरबदलको असर सेयरबजार पुँजीकरणमा समेत देखिएको छ।
सोमबार ह्वात्तै बढेको दिन सेयरबजार पुँजीकरण ३२ खर्ब ६६ अर्बको भएको थियो। तर मंगलबार फेरि घटेर ३१ खर्ब ५५ अर्बमा झरेको थियो।
Shares
प्रतिक्रिया