ad ad

समाज


भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी महिलाका श्रीमान् नेपाली भएको खुलासा

श्रीमतीलाई शंका गर्थे हेमन्त दास
भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी महिलाका श्रीमान् नेपाली भएको खुलासा

फाइल तस्बिर : महालक्ष्मी


नेपालखबर
असोज ८, २०८१ मंगलबार ११:१०, काठमाडौँ

भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी भारतीय महिला महालक्ष्मीका श्रीमान् नेपाली नागरिक भएको खुलेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो।

सो भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो। साथै भुइँमा समेत शवका टुक्रा छरिएका थिए।

यसअघि यस्तो बीभत्स हत्या नदेखेको बेंगलुरु प्रहरीसमेत छक्क पर्‍यो। शवका टुक्रा संकलन गर्न बेंगलुरुको फोरेन्सिक टोली एक्लैले नसकेर सरकारी अस्पतालका मेडिकल स्टाफलाई समेत बोलाउनुपरेको थियो। 

त्यही घरमा भाडामा बस्ने अन्यले महालक्ष्मीको बन्द कोठाबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि यही सेप्टेम्बर २० का दिन घरमालिकलाई खबर गरे। कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बेंगलुरुमा बस्ने आफ्ना आमा र बहिनीको फोन नम्बर दिएकी थिइन्। घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर महालक्ष्मीको बस्ने कोठा बन्द रहेको र दुर्गन्ध आइरहेको कुरा सुनाए।

महालक्ष्मीले १९ दिनदेखि आमासँग कुरा गरेकी रहिनछन्। घरधनीको कुरा सुनेर उनकी आमा त्रसित भइन्। महालक्ष्मी बस्ने कोठाको एउटा चाबी उनकी आमासँग पनि थियो। उनी तुरुन्तै चाबी लिएर अर्की छोरीसँगै महालक्ष्मी बस्ने घर पुगिन्।

महालक्ष्मीको हत्यारा को?
शवका टुक्रा संकलन गरेपछि प्रहरीले कोठामा महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पार्‍यो। मोबाइलको सीडीआर अर्थात् कल डिटेल रेकर्ड जाँच गर्दा यो फोनबाट अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो। त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा कुनै नम्बरबाट फोन आएको पाइएन। 

यसबाट बेंगलुरु प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा गरिएको अनुमान गरेको छ। तर प्रश्न थियो– महालक्ष्मीलाई कसले किन यति निर्ममतापूर्वक मार्‍यो? कुन दुश्मनले मार्‍यो? यस विषयमा बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ। 

महालक्ष्मीकी श्रीमान्‌ नेपाली, २०२३ देखि छुट्टिएकी थिइन्
भारतीय सञ्चारमाध्यमका अनुसार महालक्ष्मीका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ। सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो। विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए।

जहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन्। उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले। केही समयपछि छोरी जन्मियो।

सन् २०२३ सम्म उनीहरूको जीवन ठीकठाक चलिरहेको थियो। तर २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए। छोरी हेमन्त दाससँग बस्थिन्। महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन्। छोरीलाई भेट्न उनी पन्ध्र दिन वा महिनामा एकपटक हेमन्तको घर जान्थिन्।

श्रीमान् हेमन्तले गर्थे महालक्ष्मीप्रति शंका 
अनुसन्धानअनुसार हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो। हेमन्तले महालमक्ष्मी र उत्तराखण्डमा हेयर ड्रेसल काम गर्ने अशरफबीच प्रेम चलिरहेको आशंका गरेका थिए। यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो।

यही झगडाका कारण करिब ९ महिनाअघि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन्। केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .