ad ad

कारोबार


नबिल बैंककी ‘स्टार’ दीक्षा मास्के

नबिल बैंककी ‘स्टार’ दीक्षा मास्के

दिक्षा मास्के नबिल बैंकको डल्लु शाखामा अपरेसन इन्चार्ज छिन्। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २८, २०८० सोमबार १३:४५, काठमाडौँ

धेरै युवालाई कि विदेशले तानिरहेको हुन्छ कि त लोकसेवाले। भरपर्दो र सुरक्षित भविष्यको लागि यो नै उनीहरुको उत्तम विकल्पजस्तो बनेको छ। 

विदेश जानेमध्ये अधिकांश प्लस टु सकेर गइहाल्छन्, नजानेहरु नेपालमै पढेर सरकारी जागिर ताकिरहेका हुन्छन्। तर कतिपय त्यस्ता युवा पनि छन् जो उनीहरुभन्दा भिन्न छन्। 

त्यसैको एक उदाहरण छिन् सुनाकोठीकी दीक्षा मास्के। 

दोलखामा जन्मिएकी मास्केले कक्षा ८ सम्म उतै पढिन्। त्यसपछि काठमाडौं आइन्। वनस्थली स्कुलबाट ९ र १० र सेन्ट जेभियर्स कलेजबाट प्लस टु सकिन्। 

त्यसपछि प्राइम कलेजबाट बीबीए सकेर इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मास्टर पढिरहेकी थिइन्। बैंकिङ करिअर पनि सुरु गरिन्। 

हाल उनी विगत १ वर्षदेखि नबिल बैंकको डल्लु शाखामा अपरेसन इन्चार्ज छिन्। 

नबिल बैंकमा २०१९ देखि जोडिएकी उनले छोटो समय प्राइम बैंकमा काम गरेकी थिइन्। 

‘नबिल बैंकको कुलेश्वर शाखामा १ वर्ष काम गरेँ’, उनी भन्छिन्, ‘त्यसपछि आफ्नै जन्मठाउँ चरिकोट पुगेँ।’ 

चरिकोटमा करिब डेढ वर्ष काम गरेपछि हाल डल्लु शाखा आइपुगेको उनी बताउँछिन्। 

करिब ६ वर्ष नबिल बैंकमा बिताइसकेकी मास्के नबिल बैंकमा काम गर्दा आफूलाई निखार्दै लगेकी छिन्। 

उनी भन्छिन्, ‘नबिल बैंक सिकाइको हिसाबमा निकै राम्रो छ। त्यसमा पनि सबैभन्दा राम्रो त यस बैंकका सहयोगी सहकर्मीहरु छन्। यहाँको साथ, सहयोग र सिकाइले तानेको छ।’

नबिल बैंकमा एउटा जागिरभन्दा पनि घर परिवारमा बसेर काम गरेजस्तो लाग्ने उनी सुनाउँछिन्। 

त्यसैले उनी नबिल बैंकलाई आफ्नो दोस्रो घर मान्छिन्। खासगरी नबिल बैंकले गर्ने व्यवहारबाट उनी सन्तुष्ट छिन्। 

आइपरेका अप्ठ्यारालाई समेत सहज रुपमा लिने नबिल बैंकका स्टाफहरुले सुपरभाइजरलाई आफ्नो समस्या राख्ने र ती समस्याहरुको सहज समाधान हुने गरेको उनको भनाइ छ। 

उनका अनुसार बैंकमा कर्मचारीबीचको सौहार्द सम्बन्धले दत्तचित्त भएर काम गर्ने वातावरण छ। त्यसमाथि ट्रेड युनियनले समेत राम्रो सहयोग गर्दै आएको उनी बताउँछिन्। 

यिनै कारण मास्केलाई ड्युटी समयमात्र होइन, अन्य समयमा पनि बैंकलाई सहयोग गरूँजस्तो लाग्ने गरेको छ। 

जब उनी ‘सर्भिस स्टार अफ द मन्थ’ बनिन्
लक डाउनको समय थियो। टिकटक नेपालमा चर्चा पाइरहेको थियो। त्यहाँ धेरै किसिमका कन्टेन्टहरु आइरहेका हुन्थे। उनी पनि प्रयोगकर्ता। केही सूचनामूलक कन्टेन्टहरु पोष्ट गरूँ भन्ने लाग्थ्यो। 

लजालु स्वभावका कारण हिच्किचाउँथिन्। तर उनको आमा पनि बैंककै लागि केही गर न भन्ने गर्थिन्। आमाले ‘पुस’ गरेपछि उनले बैंक सम्बन्धित कन्टेन्ट बनाउने जमर्को गरिन्।

नबिल बैंकले ल्याएका स्किमहरुको टिकटकको कन्टेन्ट बनाइन्। यसले उनलाई २ वर्षअघि पुसमा बैंककै ‘सर्भिस स्टार अफ द मन्थ’ बनायो। 

बैंकले अहिलेसम्म बैंकिङ पहुँच प्राप्त नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्न नबिल दिगो बैंकिङ कार्यक्रम ल्याएको थियो। 

देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको थियो। 

यही योजनामा आधारित भई दीक्षा मास्केले पहिलोपटक आफ्नो कन्टेन्ट टिकटकमा पोस्ट गरेकी थिइन्। पहिलो पोस्ट नै १० हजार बढीले हेरेका थिए। 

त्यति मात्रै होइन, त्यहाँबाट आउने जिज्ञासाहरु र अन्य प्रतिक्रियाहरु निकै चाखलाग्दा थिए। त्यसपछि उनलाई थप हौसला मिल्यो र बैंकका अन्य धेरै कन्टेन्टहरु बनाउँदै गइन्। 

यसको प्रभाव राम्रो देखियो। उनकै पोस्ट हरेर खाता खोल्नेहरु, डिपोजिट गर्नेहरु र अन्य सेवा लिनेहरुको संख्या बढ्दै गयो। 

स्किमअनुसारका टिकटक कन्टेन्ट
पछि पछि त उनले नबिल बैंकका सबै स्किमअनुसारका नयाँ टिकटक कन्टेन्ट बनाउन थालिन्।  

‘अफिस टाइममा मात्रै हैन। आफ्नो संस्था राम्रो हुँदै गयो भने सबैलाई राम्रो हुने हो भन्ने मनसायबाट सोसल साइटबाट पनि प्रमोसन गरेको थिएँ’, मास्के भन्छिन्, ‘तर बैंकले पनि चयन गरेर उत्साह थप्छ भन्ने कुराचाहिँ सोचेकी पनि थिइनँ।’ 

बैंकले ‘स्टार अफ द मन्थ’ घोषणा गर्नु भनेको बैंकको एक खालको ब्रान्ड एम्बेसडर घोषणा गर्नुजस्तै हो। नबिल बैंकले पैसा दिएर नै यस्ता एम्बेसडर बनाइरहेको हुन्छ। 

तर धेरै स्टाफहरु भने स्वविवेकले नै बैंकको प्रमोसन गरिरहेका हुन्छन्। तिनैमध्ये अग्रपंक्तिमा मास्के आउँछिन्।  

उनी भन्छिन्, ‘सोसल साइटबाट दिने सानो कुराले पनि धेरै ग्राहकलाई सेवा गर्न सकिँदो रहेछ।’ 

नबिल बैंकको ‘स्टार अफ द मन्थ’ मास्केका लागि एउटा उत्साह भर्ने गिफ्ट थियो। त्यसैले उनी धेरै खुसी छिन्। पुसको घोषणा माघमा भएको थियो।

त्यही माघमा बिहे गरेकाले यो उनका लागि महत्त्वपूर्ण उपहारजस्तो भएको उनी सुनाउँछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .