ad ad

कारोबार


कान्तिपुर सेभिङले डेढ अर्ब ठग्यो, एक अर्ब खाएर सीबी लामा फरार

कान्तिपुर सेभिङले डेढ अर्ब ठग्यो, एक अर्ब खाएर सीबी लामा फरार

नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:४८, काठमाडौँ

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालकहरूले डेढ अर्ब रुपैयाँभन्दा बढी रकम ठगेको पाइएको छ।

सीबी लामा भनेर चिनिने काभ्रेका चन्द्रबहादुर तामाङले काठमाडौँमा स्थापना गरेको यस सहकारी संस्थाले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको हो।

प्रहरी अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले संस्थापक सीबी लामासहित ११ जना सञ्चालकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

लामासहित १० जना अहिले पनि फरार छन्। पछिल्लो समय यस संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल थिए। मल्ललाई भने प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ। अदालतमा उनको बयान भए पनि थुनछेक बहस सकिएको छैन।

यस संस्थामा ८ सय ५२ जनाभन्दा बढी बचतकर्ताको रकम फसेको छ। एउटै व्यक्तिको बचत डेढ करोडसम्म रहेको छ।

प्रतिबचतकर्ता औसत १८ लाख रुपैयाँ हाराहारीका दरले फसेको अभियोगपत्रमा संलग्न विवरणबाट देखिन्छ।

१७ वटा शाखा कार्यालयसमेत खोलेर गरिएको यस ठगी प्रकरणमा १४ वटा मिसिल तयार गरी अदालतमा पेस गरिएको छ।

कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल र देवराज पराजुली पनि फरार छन्।

यस्तै लेखा सुपरीक्षण समितिका संयोजक कञ्चन तामाङ लामा, सदस्यद्वय उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया पनि फरार छन्।

सीबी लामा नेतृत्वकै अर्को सहकारी पशुपति सेभिङमा बचतकर्ताको पौने २ अर्ब रुपैयाँभन्दा बढी रकम डुबेको छ। यस सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ।

लामाले खाए १ अर्ब
कान्तिपुर सेभिङबाट सीबी लामाले आफ्नो र आफन्तको नाममा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ।

हालका अध्यक्ष हिमालयविक्रम मल्लले दिएको बयान अनुसार, २०७६ सालअघि नै लामाले त्यो रकम लिएका थिए। उनले त्यो रकम फिर्ता नगरेपछि हिसाब मिलाउन र बचतकर्तालाई फिर्ता गर्न समस्या भएको हो।

मल्लले बयानमा बताएअनुसार, सीबी लामा भन्ने चन्द्रबहादुर तामाङले २०५५ सालदेखि नै आफू अध्यक्ष भई पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ नामक अर्को सहकारी सञ्चालन गर्दै आइरहेका थिए। २०७५/०७६ मा पशुपति सेभिङको कारोबारमा समस्या आई बन्द हुने अवस्था आयो। त्यसले कान्तिपुर सेभिङमा पनि समस्या हुने देखियो।

‘अन्य साथीहरू कोही अध्यक्ष बन्न नमान्नुका साथै सहकारी विभागले समेत एकै व्यक्ति दुई ठाउँमा अध्यक्ष हुन नपाउने नीति ल्याएपछि मल्ल २०७६ मा अध्यक्ष भए। मल्लले भनेका छन्,’ मल्लले भनेका छन्, ‘सीबी लामाले त्यसअघि नै आफू अध्यक्ष भएकै कारण आफ्नो र आफन्तहरूको नाममा सावाँ र ब्याज गरी करिब एक अरब रुपैयाँभन्दा बढी चलाएका थिए। त्यो रकम हालसम्म फिर्ता गरेका छैनन्।’

जग्गा व्यवसायमा फस्यो रकम
संस्थाका हालका अध्यक्ष हिमालयविक्रम मल्लले कान्तिपुर अस्पताल प्रालि र जग्गा व्यवसायमा लगानी गर्न थालेपछि बचतकर्ताको रकम फिर्ता दिन नसकेको र फस्दै गएको बयानमा उल्लेख गरेका छन्।

सुरुमा सहकारीका बचतकर्ता बढ्दै गएको र कर्मचारीको व्यवस्थापन पनि राम्रोसँग गरिरहेको भए पनि संस्थाको रकम निजी लाभका लागि कम्पनीहरूमा परिचालन गर्दा समस्या भएको उनको भनाइ छ।

कोरोना महामारीपश्चात् आर्थिक मन्दी हुनु, जग्गा जमिनको कारोबारमा गिरावट आउनुका साथै कान्तिपुर अस्पताल सञ्चालनमा कठिनाइ भएपछि हामीले सगरमाथा सहकारी, कुटिर बचत तथा ऋण र मेरिगोल्ड सेभिङ एण्ड क्रेडिटलाई कान्तिपुर सेभिङमा गाभेर चलाएको मल्लले बताएका छन्।

कान्तिपुर सेभिङका नाममा खरिद गरिएका धनसम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रयास गरे पनि त्यसमा सफल नभएको उनको भनाइ छ।

अलिअलि गरी जग्गा बिक्री वितरण गर्दै पैसा फिर्ता गरिरहेकोमा अन्य सहकारीहरूमा समस्या आइरहेको देखिएपछि बचतकर्ताहरू सबै एकसाथ रकम फिर्ता माग्न थालेपछि थेग्न नसकिएको प्रस्टीकरण उनले दिएका छन्।

कान्तिपुर सेभिङसँग करिब साढे ४ अर्ब रुपैयाँबराबरको स्थिर सम्पत्ति रहेको विवरण पनि उनले बयानमा टिपाएका छन्। सीबी लामाले फिर्ता नगरेको रकमसमेत जोड्दा साढे ५ अर्ब हिसाब पनि मल्लले प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .