घरजग्गाको व्यवसाय गर्ने चिनियाँ कम्पनी एभरग्रान्ड र यसका संस्थापकमाथि ७८ अर्ब डलर ठगीको आरोप लागेको छ।
बीबीसीका अनुसार कम्पनी र यसका संस्थापक हुई का यानविरुद्ध ऋणमा डुब्नुअघिका दुई वर्षमा आम्दानी ७८ अर्ब डलर बढी देखाएको आरोप लागेको हो।
चीनको वित्तीय बजार नियामकले यस कम्पनीको मूलभूमिमा व्यवसाय गर्ने हेङ्दा रियल इस्टेटलाई ५८ करोड ३५ लाख अमेरिकी डलर जरिवाना गरिसकेको छ।
हुईलाई चीनका वित्तीय बजारमा जीवनभरका लागि प्रतिबन्ध लगाइएको छ।
गत जनवरीमा एभरग्रान्डलाई हङकङको एउटा अदालतले सम्पत्ति बेचेर ऋण भुक्तान गर्न आदेश दिएको थियो।
चीनको धितोपत्र नियामक आयोग (सीएसआरसी)ले हुईमाथि नै धेरै आरोप लगाएको छ। कुनै बेला चीनकै सबैभन्दा धनी व्यक्ति बनेका हुईविरुद्ध आफ्ना कर्मचारीलाई हेङ्दाको २०१९ र २०२० को वार्षिक आम्दानी बढेको देखाउन निर्देशन दिएको आरोप लागेको छ।
हुईलाई ६५ लाख डलर समेत व्यक्तिगत जरिवाना गरिएको बताइएको छ। गत सेप्टेम्बरमा कम्पनीका प्रमुख समेत रहेका हुईलाई प्रहरी निगरानीमा राखेर अनुसन्धान गरिएको थियो।
एभरग्रान्ड चीनकै ठूलो घरजग्गा कम्पनी रहे पनि अहिले ३ खर्ब डलरभन्दा बढी ऋणमा डुबेको छ।
Shares
प्रतिक्रिया