नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा झण्डै २ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ।
यसका लागि केन्द्रीय बैंकले दिन चाहेको ब्याजदर र लिन चाहेको रकम खुलाई आवेदन दिन क, ख र ग वर्गका वित्तीय संस्थालाई आह्वान गरेको छ।
केन्द्रीय बैंकले क वर्गका अर्थात् वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ। त्यस्तै ख वर्गका अर्थात् राष्ट्रियस्तरका विकास बैंकहरुमा २८ करोड ६६ लाख र ग वर्गका अर्थात् राष्ट्रियस्तरका वित्त कम्पनीमा ९ करोड ५५ लाख रुपैयाँ मुद्दती निक्षेप रकम छुट्याएको छ।
कुल १ अर्ब ९१ करोड १० लाख रकम बैंक तथा वित्तीय संस्थामा १ वर्षका लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाई यही चैत ८ गते राति १२ बजेभित्र ब्याजदरसम्बन्धी प्रस्ताव पेस गर्नुपर्नेछ।
केन्द्रीय बैंकका अनुसार रकम लिने संस्थामा तोकिएको न्यूनतम पुँजी कोष कायम भएको, कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले तोकेको सीमामा रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा तल रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेछ।
त्यसैगरी आव २०७९/८० मा सञ्चालन मुनाफामा (व्यवस्थापछिको) रहेको, रियल स्टेट कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्ने लगायतका शर्त राखिएका छन्।
Shares
प्रतिक्रिया