जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तर्क्रिया कार्यक्रम गरेको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो।
जीवन बीमाका समसामयिक विषयउपर छलफल गर्ने अभिप्रायका साथ ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए।
यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने उनको भनाइ थियो। यसले ज्ञान बाँड्न सहयोग मिल्नेमा विश्वस्त रहेको पराजुलीले बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे। उनले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको बताए।
संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्क्षय रूपमा काम गरिरहेका फिलिप ज्याक्सनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्ल भएको बताए। बीमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे।
ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीबारे बृहत् प्रस्तुतीकरण दिएका थिए। साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए। त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत बताएका थिए।
यसैगरी ज्याक्सनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु राखेका थिए। उनले अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताबारे बताउँदै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा सल्लाह दिएका थिए।
Shares
प्रतिक्रिया