यो साता आइतबार होलीको सार्वजनिक विदा पर्दा सेयरबजार बन्द रह्यो।
त्यसयताका चार दिन खुल्ला रहेको बजार समग्रमा १२.९२ अंकले घट्यो। दिनका हिसाबले सोमबार र बुधबार घटेको सूचक मंगलबार र बिहीबार बढेको थियो।
घटेको बजारमा यो हप्ता ९ अर्ब ७१ करोड रुपैयाँको मात्र कारोबार भएको छ। आइतबार विदा परेकाले पनि कारोबार रकममा असर देखिएको हो। यो कारोबार रकम गत हप्ताको तुलनामा निकै कम हो। गत हप्ता ३२.३ अंकले बजार घटे पनि १७ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
समग्रमा सूचक र कारोबार रकम घटे पनि यो साता केही कम्पनीको सेयर भने उच्च दरले बढेको छ। साताभर सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सर्किट तहमै आम्दानी गरे। दोस्रो बजार प्रवेशयता लगातार बढेको कम्पनीको सेयर मूल्य १०८२.७० रुपैयाँ प्रतिकित्ता पुगेको छ।
मागका हिसाबले यो साता सर्वोत्तम सिमेन्ट, चिर्ख्वा हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्ड, एनआईबीएल ग्रोथ फन्डको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखिन्छ।
कुन दिन कस्तो रह्यो कारोबार?
सोमबार
आइतबार होलीको सार्वजनिक विदापछि यो साता सोमबार सेयरबजारमा पहिलो कारोबार भएको थियो। उक्त दिन बजार परिसूचक नेप्से १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको थियो।
बजारमा सो दिन ७० लाख ६१ हजार १२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो। जसमा ३७ वटा कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिए पनि २०४ वटाको घटेको र तीनवटाको अघिल्लो कारोबार मूल्यमै किनबेच भएका थिए।
उक्त दिन बजारमा कम्पनीहरूको सेयर मूल्य अधिकतम १० प्रतिशतसम्मले बढेको र अधिकतम सोही दरले घटेको थियो भने अधिकतम २८ करोड ९० लाखसम्मको सेयर कारोबार भएको थियो। सोमबार कुनै एक कम्पनीको अधिकतम ३ लाख ४३ हजार ४ सय ८५ कित्तासम्म कारोबार हुँदा अधिकतम १ हजार ९ सय ४ पटकसम्म कारोबार भएको थियो।
सो दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड उपसमूहको मात्रै सूचक हरियो रहे भने अन्य समूह राताम्य हुन पुगे।
सोमबार कुमारी धनवृद्धि योजना, प्रभु स्मार्ट फन्ड, सर्वोत्तम सिमेन्ट, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ र एनआईबीएल ग्रोथ फन्डको सेयरको उच्च माग भएको थियो।
मंगलबार
मंगलबार भने सूचक बढेको थियो। तर कारोबार रकम भने घट्न पुगेको थियो। नेप्से १० अंकले बढेको दिन सेयरबजारमा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँको मात्र कारोबार भएको थियो।
६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर बिक्री भएको दिन नेप्से १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको थियो। योसँगै १६८ कम्पनीको सेयर मूल्य बढेको, ६८ वटाको घटेको र १० वटाको अघिल्लो दिनकै मूल्यमा कारोबार भएको थियो।
सो दिन कम्पनीहरुको सेयर अधिकतम ९.३५ प्रतिशतसम्म घट्दा १० प्रतिशतसम्मले बढेको थियो। २ लाख ३४ हजार ६ सय २४ कित्तासम्मको कुनै एक कम्पनीको अधिकतम सेयर कारोबार भएको दिन रकमका हिसाबले ९ करोड ३१ लाखसम्मको मात्र कारोबार भएको थियो। धेरैपटक २ हजार ६ पटकसम्म कुनै एक कम्पनीको अधिकतम कारोबार भएको थियो।
मंगलबार सर्वोत्तम सिमेन्ट, ङादी ग्रुप पावर, पिपल्स हाइड्रोपावर कम्पनी, चिर्ख्वा हाइड्रोपावर कम्पनी र सानिमा लार्ज क्याप फन्डको सेयरमा लगानीकर्ताको धेरै रुचि रह्यो।
बुधबार
बुधबार फेरि सेयरबजार ओरालो लाग्यो। नेप्से १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा झरेको दिन २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँबराबरको ६० लाख ४७ हजार २१ कित्ता सेयर बिक्री भएको थियो।
बुधबार उत्पादन उपसमूह ६४.०७ अंकले हरियो रहे पनि बाँकी सबै सूचकहरु राताम्य रहे। बीमा, विकास बैंक र होटल समूह धेरै घट्न पुगे।
योसँगै बजारमा ५१ कम्पनीको सेयर मूल्य बढे पनि १८८ कम्पनीको सेयर घटेको र ६ वटाको सेयर मूल्य स्थिर रहेको थियो। बुधबार सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको थियो।
त्यस्तै उक्त दिन सर्वोत्तम सिमेन्टको सेयर माग उच्च रह्यो। यससँगै सानिमा लार्ज क्याप फन्ड, एनआईबीएल ग्रोथ फन्ड, कुमारी धनवृद्धि योजना र लक्ष्मी इक्विटी फन्डको सेयर पनि धेरै माग भएको थियो।
बिहीबार
बिहीबार सेयरबजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा थामिएको थियो। साताको अन्तिम कारोबार दिन ०.२३ प्रतिशतले बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँबराबरको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएको थियो।
योसँगै १२० कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १० वटाको अघिल्लो कारोबार मूल्यमा किनबेच भएको थियो। अन्तिम दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार उपसमूह हरियो भए भने निर्जीवन, माइक्रोफाइनान्स, होटल र वाणिज्य बैंक राताम्य हुन पुगे।
बिहीबार पनि लगानीकर्ताले सर्वोत्तम सिमेन्टको सेयरलाई किन्ने सूचीमा पहिलो नम्बरमा राखेका थिए। यसबाहेक चिर्ख्वा हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्ड, एनआईबीएल ग्रोथ फन्ड र हिमालयन रिइन्स्योरेन्सको सेयर पनि धेरै माग भएको थियो।
Shares
प्रतिक्रिया