ad ad

कारोबार


मार्कीचोक–नयाँ भरतपुर प्रसारणलाइन असारभित्रै सक्न ताकेता, नसकिए ३०० मेगावाट बिजुली खेर जाने

मार्कीचोक–नयाँ भरतपुर प्रसारणलाइन असारभित्रै सक्न ताकेता, नसकिए ३०० मेगावाट बिजुली खेर जाने

नेपालखबर
चैत २०, २०८० मंगलबार १३:४६, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारणलाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारणलाइन महत्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरेको हो।  

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिकालगायतका विषयमा जानकारी लिएको थियो। आयोजनाकातर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानुनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २/३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने बताए। 

‘अहिले चालू रहेको मर्स्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारणलाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारणलाइनको क्षमताले नधान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थप विद्युत् पठाउन पनि सकिंदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने। 

‘त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारणलाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ, नत्र विद्युत् कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ।’ 

घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारणलाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे।

आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारणलाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ। मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो। 

वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९मा भएको व्यवस्था बमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो। नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो। तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए। 

अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वन तथा भू–संरक्षण विभागमा गरिदिनुपर्नेछ। त्यसपछि आयोजनने वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुनेछ। त्यसपछि मात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्नेछ। प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो। 

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नु पर्ने छ। त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ। ५ वटा टावर खडा गरिएको छ। मर्स्याङ्दी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनहरुको निर्माण हुँदैछन्। चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ। लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन्।  

मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो। प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ।

आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माणाधीन छ। 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारणलाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन्। 

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (ईआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .