लगानी सम्मेलनमा प्रस्तुत गरिने सबैभन्दा ठूलो परियोजना मुगु कर्णाली जलाशययुक्त विद्युत् आयोजना हुने भएको छ।
करिब ४ खर्ब रुपैयाँ लागतको जलविद्युत् आयोजनाको लगानी सुनिश्चित गर्न प्रस्तुत गर्न लागिएको हो।
सरकारले जलविद्युत् क्षेत्रमा सम्भाव्यता अध्ययन भई अघि बढेका आयोजनामध्ये सबैभन्दा ठूलो जलाशययुक्त आयोजनामा विदेशी लगानीकर्ता खोजिरहेको छ। गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारतीय लगानीकर्ताले उक्त आयोजनामा चासो देखाउने चर्चा भएको थियो।
सरकारले कर्णाली नदीलाई आधार बनाई ठूला आयोजना सम्मेलनमा अघि सारेको छ। जसमा सबैभन्दा ठूलो कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना छ। दक्षिण भेगमा निर्माण स्थल रहेको उक्त आयोजनाको सम्भाव्यता अध्ययनार्थ विद्युत प्राधिकरणले विज्ञ टिम गठन गरिसकेको छ।
कर्णाली चिसापानीबाट उत्तरतर्फ बेतन कर्णाली, अपर कर्णाली, कर्णाली करिडोर, फुकोट कर्णाली, हुम्ला कर्णाली जलाशययुक्त आयोजना समेत छ। ६ ठूला आयोजनामध्ये कर्णाली चिसापानीपछिको ठूलो मुगु कर्णाली आयोजना हो। अपर कर्णाली र फुकोट कर्णाली बनाउन भारतीय लगानीकर्ताले अनुमति पाइसकेका छन्।
नेपालमा हाल निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना अरुण तेस्रो हो। जुन भारतीय कम्पनीले नै निर्माण गरिरहेको छ। अरुण तेस्रोभन्दा दोब्बर बढी क्षमताको मुगु कर्णाली पनि अघि बढाउने निर्णय भइसकेको छ। ४३९ मेगावाटको बेतन कर्णाली आयोजना र ६१ मेगावाट हुम्ला कर्णाली हाइड्रोपावर लगायत निर्माण हुँदै छन्।
लगानी बोर्डका अनुसार १९०२ मेगावाटको जलाशययुक्त आयोजनाको वित्तीय व्यवस्थापनको लागि सम्मेलनमा शोकेस गर्ने निर्णय गरिसकेको छ।
ऊर्जा तथा सिँचाइ मन्त्रालयले २०१८ मा विद्युत् उत्पादन कम्पनीलाई मुगु कर्णालीको अध्ययन गर्न सर्भे लाइसेन्स दिएको थियो। विद्युत् उत्पादन कम्पनी लिमिटेडले मुगु कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ।
आयोजनाको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले इन्जिनियरिङ अध्ययन गरिसकेको छ। विस्तृत इन्जिनियरिङ अध्ययन रिपोर्टका अनुसार जगन्नाथ गाउँपालिकाको जुद्दीमा ड्यामसाइट बन्नेछ। आयोजनामा कर्णाली करिडोरको जितेबाट ३ घण्टाको ड्राइभिङबाट पुगिन्छ।
आयोजनाबाट कर्णालीका ४ र सुदूरपश्चिमको १ (बाजुरा) जिल्ला प्रभावित हुनेछन्। तिनमा एक नगरपालिका र ११ वटा गाउँपालिका प्रभावित हुनेछन्।
आयोजनाबाट प्रभावित हुम्ला जिल्लाका सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका छन्। त्यस्तै, मुगु जिल्लाका खत्याड र सोरु गाउँपालिका छन्। कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका प्रभावित हुनेछन्। यता, बाजुरा जिल्लाका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका प्रभावित हुनेछन्।
सुरुङभित्र पावरहाउस, १० वटा उत्पादन युनिट
विद्युत् विकास विभागका अनुसार करिब ४ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक संरचना निर्माण र जग्गा मुआब्जालगायत सबै खर्च ४ खर्ब पुग्ने अनुमान छ। तर विस्तृत अध्ययन प्रतिवेदनपछि मात्रै स्पष्ट लागत खुल्नेछ।
२०७५ असारमा विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई यो आयोजनाको सर्वे लाइसेन्स प्रदान गरिएको थियो। लाइसेन्स पाएसँगै कम्पनीले सम्भाव्यता अध्ययन सुरु गरेको थियो।
विद्युत् उत्पादन कम्पनी लिमिटेडअन्तर्गत मुगु कर्णाली जलशाययुक्त आयोजना निर्देशक सूर्य प्रकाश पाण्डेले आयोजनाको सम्भाव्यता अध्ययन सकेर विद्युत् विकास विभागमा बुझाइसकेको बताए।
‘सम्भाव्यता अध्ययन रिपोर्टमा केही विज्ञबाट आएको सुझावलाई समेटेर अपडेट गर्दै छौँ’, आयोजना निर्देशक पाण्डेले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक काम अर्थात् टीओआर वातावरण मन्त्रालयमा पेश भएको छ। मन्त्रालयले टीओआर स्वीकृत गरेसँगै वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टमा काम सुरु हुन्छ।’
आयोजना कंक्रिट प्रयोग गरी ड्याम बनाइनेछ। आयोजनाको पावर हाउस भुइँमुनि हुनेछ। यसमा १० वटा उत्पादन युनिट हुनेछन्।
आयोजनाबाट वर्षातभन्दा हिउँदको समयमा उत्पादन गर्ने योजना छ। यसको क्षमता सुख्खा समयमा ३ हजार २१८ गिगावाट आवर र वर्षातमा २ हजार ६६४ गिगावाट आवर छ। आयोजना दैनिक ४.३ घण्टादेखि १२ घण्टासम्म सञ्चालन गर्न सकिनेछ।
ऊर्जा मन्त्रालयका सहसचिव नविन सिंहले मुगु कर्णालीमा आयोजनाको लागि लगानीकर्ता खोजिरहेको बताए।
‘सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ’, उनले भने।
विद्युत् विकास विभागमा विद्युत् उत्पादन कम्पनी लिमिटेडले गत असार १३ गते निर्माणको लाइसेन्सको लागि आवेदन दिएको छ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडले मुगु कर्णाली आयोजनाको अडिट टनेलको निर्माण तथा परीक्षणको लागि प्याराडाइज बिल्डर्स र पविता निर्माण सेवाले संयुक्त उपक्रमले ठेक्का पाएका छन्। गत माघ २५ मा उक्त जेभीले १९ करोड ३२ लाखमा ठेक्का पाएको थियो।
ऊर्जा मन्त्रालयका अधिकारीहरुका अनुसार ठूलो आयोजना भएकाले लगानी जुट्न समय लाग्नेछ। हिउँदको समयमा खोलाको पानी सुक्ने भएकाले कम विद्युत् उत्पादन हुन्छ।
मुगु कर्णाली जलाशययुक्त आयोजना बनाउँदा हिउँदे समयमा भोग्नुपरेको समस्या समाधान हुने मन्त्रालयका इन्जिनियर बताउँछन्।
Shares
प्रतिक्रिया