नेपाल राष्ट्र बैंकले चारवटा वाणिज्य बैंक र दुईवटा विकास बैंकलाई कारबाही गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिकमा ६ वटा बैंकलाई विभिन्न कारबाही गरेको राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ।
कारबाहीमा पर्ने वाणिज्य बैंकमा प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज छन्। त्यस्तै लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेका छन्।
राष्ट्र बैंकका अनुसार प्राइम बैंकले एकीकृत निर्देशनअनुसार कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तताको मापदण्डअनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकताभन्दा कम गरेको तथा बैंकको २०७८ चैतको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोले नसिहत दिइएको छ। बैंकलाई केन्द्रीय बैंकका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको बारे सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएकोले सचेत गराइएको छ।
त्यस्तै कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको पुँजी पर्याप्तताको मापदण्डअनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकताभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिविपरीत ब्याज अनुदान दिएकोले सचेत गराइएको छ।
यसबाहेक केन्द्रीय बैंकले बैंक/वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब र भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलबभत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकाले ३५ दिनभित्र उक्त रकम असुलउपर गर्न निर्देशन दिइएकोमा सो रकम असुलउपर भएको केन्द्रीय बैंकले जनाएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगालाई पनि राष्ट्र बैंकले एकीकृत निर्देशनविपरीत कार्य गरेकामा सचेत गराएको छ। यता लक्ष्मी सनराइज बैंकलाई केन्द्रीय बैंकले प्रवाहित कर्जा बैंकको सेयरधनीाके खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकाले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
यता दुई विकास बैंकहरु लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंकलाई पनि वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्तमात्रमा हुन नसकेको, शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेकोलगायतका कमजोरीमा सचेत गराएको छ।
Shares
प्रतिक्रिया