चार महिनादेखि नेतृत्वविहीन भएको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई ल्याउने तयारी भएको छ।
अर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्र निकट मानिने कार्कीलाई अध्यक्ष बनाउने तयारी गरे पनि निर्णयक्षमता कमजोर रहेका र विवादमा परेका व्यक्तिलाई ल्याउन नहुने आवाज उठेको छ।
कार्कीले अर्थ मन्त्रालयकै निर्देशन कार्यान्वयन गर्न सकेका छैनन् भने नेप्से पुनर्संरचना गर्ने प्रतिबद्धता जनाए पनि कुनै प्रगती भएको छैन। कार्की नेप्सेका असफल सीईओ हुन्।
पुँजीबजार नियमन गर्ने निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन भएको चार महिना नाघिसकेको छ। गत पुस तेस्रो सातादेखि नेतृत्वविहीन धितोपत्र बोर्डमा रिक्त पदपूर्तिको लागि प्रक्रिया अघि बढे पनि स्वार्थसमूहले खेल्न थालेपछि अन्ततः अड्किन पुगेको थियो।
नयाँ अध्यक्ष नियुक्तिका लागि गत फागुन ३० गतेलाई अन्तिम म्याद राखी आवेदन माग भएको थियो। सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।
त्यसमा १९ जनाले इच्छा देखाएकामा ५ जना संक्षिप्त सूचीमा परेका छन्। यसबाट पनि ३ जनाको नाम अर्थमन्त्रीमार्फत मन्त्रिपरिषदमा सिफारिस भइसक्नुपर्ने थियो। तर ५ जनाको अन्तर्वार्ता प्रक्रिया रोकिएको एक महिना बितिसकेको छ।
अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक फोरममै केही योग्य व्यक्ति छुटेकाले प्रक्रिया रोकिएको संकेत गरेका थिए।
छनोट हुने ५ जनामा हालका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ, विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै हाल निमित्त अध्यक्ष रहेका नवराज अधिकारी छन्।
कार्कीलाई अध्यक्ष बनाउने तयारी
स्रोतहरूका अनुसार मन्त्री पुनले पहिलो नम्बरमा सिफारिस गरिएका कृष्णबहादुर कार्कीलाई अध्यक्ष बनाउन चाहेका छन्।
कार्की अहिले नेप्सेका सीईओको रुपमा कार्यरत छन्। उनी नेकपा माओवादीनिकट भएको कारण नै नेप्सेको सीईओ भएको आरोप यसअघि नै लागेको थियो। अहिले माओवादी नेतृत्वको सरकार र अर्थमन्त्री समेत माओवादीबाटै भएको अवस्थामा कार्कीलाई जिम्मेवारी सुम्पिन लागेको स्रोतको भनाइ छ।
तर कार्की योजना कार्यान्वयन गर्न असफल मानिन्छन् भने यसअघि विभिन्न परियोजनामा विवादमा पनि फसेका व्यक्ति हुन्। कार्की तिनै व्यक्ति हुन् जसले तालुकदार मन्त्रालयकै निर्देशन कार्यान्वयन गर्न सकेका छैनन्। नेप्से पुनर्संरचना गर्नुपर्छ भनेर अर्थ मन्त्रालयले उनकै कार्यकालमा दुई पटक प्रतिवेदन तयार गरेको छ। तर त्यसमा न कार्कीले कुनै कार्यक्रम अघि सार्न सकेका छन्, न त अहिले भएको नेप्से व्यवस्थापनमा नयाँपन दिन सकेका छन्।
उनको कार्यकालमा नेप्सेमा समस्याहरू घट्नुको साटो थपिँदै गएको नेप्सेमा आइरहने समस्याले नै पुष्टि गरेको छ।
नेप्सेको सफ्टवेयरमा आइरहने समस्याका कारण सेयरबजारमा परिरहेको क्षति र लगानीकर्ताले भोग्नुपरेको समस्याभन्दा उनलाई वाइको कम्पनीको चिन्ता बढी हुने गरेको छ। वाइकोले नै नेप्सेको सफ्टवेयर बनाएको हो।
त्यसमाथि सीईओ कार्कीको पदावधि नेप्सेमै दुई वर्षभन्दा बढी समय अझै बाँकी छ। यतिका लामो समय बाँकी रहँदै धितोपत्र बोर्डको अध्यक्षका लागि उनी हदसम्म लागेका छन्।
यसअघि नेपाल सरकारको सहसचिव रहेका कार्कीले माओवादी सरकारकै पालामा बूढीगण्डकी आयोजनाको जिम्मेवारी समेत पाएका थिए। जसमा उनी विवादमा तानिएका थिए
नयाँ स्टक हात पार्ने खेल
धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैंकपछिकै दोस्रो ठूलो नियमनकारी निकायका रुपमा हेरिन्छ। किनभने यसले ३१ खर्ब ८० अर्ब हाराहारी आकारको पुँजीबजारलाई एकछत्र नियमन गर्छ।
पुँजीबजारमा हाल एउटा स्टक एक्सेन्ज, एउटा सीडीएस एन्ड क्लियरिङ लिमिटेड, तीनवटा क्रेडिट रेटिङ, २९ वटा मर्चेेन्ट बैंकर्स, १६ वटा फण्ड म्यानेजर र ८४ वटा ब्रोकर कम्पनीलगायत ३ सय १८ वटा बजारसम्बद्ध निकायहरु छन्।
त्यस्तै २ सय ४६ वटा सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुँदै आएको छ भने साढे ६२ लाख लगानीकर्ता समेत यसमा जोडिन पुगेका छन्।
पछिल्लो समय नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया समेत अघि बढेको छ। यसमा अनुकूल व्यक्ति अध्यक्ष बनाउन व्यापारिक वृत्तको दौडधूप पनि चलिरहेको छ।
यिनै भित्री स्वार्थका बीच माओवादीले आफूले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन खोजेको हो।
को–को छन् नयाँ स्टकमा दाबेदार
नयाँ लाइसेन्सको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा ३ आवेदन परेको छ। नयाँ स्टककोे चुक्ता पुँजी तीन अर्ब तोकिएको छ। हाल त्यसको ७० प्रतिशत जुटाए पुग्नेछ।
धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गर्दै चुक्ता पुँजी तीन अर्ब पुर्याइएको थियो। आवेदन दिने लगानीकर्ताहरूले तोकिएको व्यवस्थाअनुसार पुँजी जुटाउँदै छन्। हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरूमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका छन्।
आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको समेत लगानी रहेको आवेदनमा उल्लेख छ।
त्यसैगरी अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।
Shares
प्रतिक्रिया