नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमराबीच पुँजीवृद्धि र लगानीकर्ता जुटाउने सम्झौता भएको छ।
यही वैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा उक्त सहमति भएको हो।
सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छाका अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरेका छन्।
सिमरामा रहेको होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृति प्राप्त फाइभ स्टार होटल हो।
यो होटल २०७३ सालदेखि सञ्चालन हुँदै आएको छ। नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ।
सम्झौताबमोजिम होटल इच्छाको पुँजी वृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए।
फाइभ स्टार होटल सञ्चालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र थप सुविधा हरू जडान गर्न ठूलै पुँजीको आवश्यक पर्ने भएकाले उक्त सम्झौता अघि बढेको हो।
पुँजी वृद्धिपछि लगानीको स्रोत पर्याप्त हुने र आवश्यकताअनुसार स्तर वृद्धि गर्न सजिलो हुने होटलले जनाएको छ। भविष्यमा होटलको पहिचान र दायरा व्यापक बनाउन सर्वसाधारणलाई पनि सेयर जारी गर्ने योजना छ।
पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लिखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ। सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ।
नेपालभित्र पनि विभिन्न कम्पनीहरूसँग सम्झौता गरी नयाँ कम्पनी स्थापना, सञ्चालित कम्पनीलाई आवश्यक पुँजी जुटाउन, रूग्ण उद्योग र बैंकरबीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजनाअनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ।
Shares
प्रतिक्रिया