नेपाल वायुसेवा निगमले ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको बारे छानबिन गर्ने भएको छ।
यसको लागि छानबिन उपसमिति गठन गरिएको निगमले जनाएको छ।
यही वैशाख २३ मा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य ब.क्या. सुधिश शमशेर राईको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो।
समितिले निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई) मा मर्मतसम्भार गर्न पठाएकोमा ढिलो आएको र भाडाको इन्जिन समयमा नदिएको बारे छानबिन र अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिसयुक्त प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ।
९एन–एकेएक्स जहाज इजरायलबाट मर्मतपछि दुबई हुँदै यही वैशाख १५ मा नेपाल आएको थियो।
जहाजको इन्जिन इजरायलको मेन्टिनेन्स एन्ड रिपेयर अर्गनाइजेसन (एमआरओ)मा मर्मत भएको थियो। यस क्रममा आवश्यक प्राविधिक जाँचपछि अन्य प्राविधिक समस्याबाहेक इन्जिनभित्रका ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इन्जिनियर र प्राविधिकको प्रतिवेदनअनुसार पार्टपुर्जाको बजारमा अभाव भएको बताइएको थियो।
यसबाहेक युद्ध प्रभावित क्षेत्र भएकोले आपूर्तिमा कठिनाइ भएको र ढिलाइ भएको निगमले जनाएको थियो।
Shares
प्रतिक्रिया