ad ad

कारोबार


ढकाल र प्रधान मैदानमा आएपछि सर्वसम्मत नेतृत्वको पहल गर्दै महासंघका पूर्वअध्यक्षको भेला

ढकाल र प्रधान मैदानमा आएपछि सर्वसम्मत नेतृत्वको पहल गर्दै महासंघका पूर्वअध्यक्षको भेला

दीपक भट्ट
फागुन १६, २०७६ शुक्रबार १४:२४,

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान मैदानमा उत्रिएपछि केही पूर्वअध्यक्षहरुले सर्वसम्मत नेतृत्व चयनको पहल थालेका छन्।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था महासंघको विधानमा गरिएपछि महासंघको इतिहासमै दोस्रो पटक सबैको अर्जुनदृष्टि वरिष्ठ उपाध्यक्षमा परकेो छ। नीजि क्षेत्रका शक्ति केन्द्रहरुको खास रस्साकस्सी उपाध्यक्षमै देखिएको छ।

यो नयाँ व्यवस्था पाँच वर्षअघिको महाधिवेशनबाट भवानी राणा वरिष्ठ उपाध्यक्ष र पशुपति मुरारका अध्यक्ष चुनिँदा लागू गरिएको थियो। अध्यक्ष पनि निर्वाचित हुनु पर्ने व्यवस्था रहेको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था ल्याइएको थियो।

जुन व्यवस्थाअनुसार मुरारकापछि राणा अध्यक्ष बनेर उनको कार्यकाल समेत सकिएको छ भने अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अब स्वतः अध्यक्ष बन्दैछन्।

आगामी चैत २८ र २९ गते महासंघको साधारण सभा आयोजना गरिएको छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ।

साधारण सभा आयोजना हुन एक महिनाभन्दी बढी समय बाँकी रहँदै खासगरी उपाध्यक्षका लागि दौडधुप सुरु भएको छ। वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन्। दुई हप्ताअघि प्रधान र केही दिनअघि ढकालले ठूलो जमघटका बीच वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै चुनावी माहोल बढेको हो।

तर यस्तो चुनावी लडाईं नीजि क्षेत्रका लागि राम्रो नहुने तर्क गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि अर्को एउटा पहल पनि सुरु गरिएको छ। जसको पहल मुख्यगरि ज्योति ग्रुपले लिएको छ।

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले यसपाली एसोसिएट उपाध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन्। सौरभलाई समेत सर्वसम्मत उपाध्यक्ष बनाउने गरी उम्मेदवारी घोषणा गरिसकेका ढकाल र प्रधानमध्ये एकजना यो वर्ष र अर्को जना अर्कोपटक सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउने छलफल सुरु भएको हो।

ज्योति ग्रुपका प्रमुख पद्म ज्योतिले बिहीबार बेलुका महासंघका पूर्वअध्यक्षहरु सुुरज वैद्य, प्रदीपकुमार श्रेष्ठ, महेशलाल प्रधान, रवीभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीलाई एकैठाउँ भेला गरेर छलफल गरेका हुन्।

‘महासंघमा राजनीति बढ्न थालेको र केही व्यक्तिको स्वार्थबाट निर्देशित भई नेतृत्व चयन हुन थालेको’ भन्दै त्यस्तो अस्वस्थ र अपारदर्शी चलखेल रोक्न सर्वसम्मत गराउने पहल सुरु भएको महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालखबरलाई बताए।

‘महासंघमा देखिएको प्रतिष्पर्धा स्वच्छ बनाउन तथा अहिलेको अप्ठेरोलाई सहज बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको हो,’ श्रेष्ठले भने, ‘अहिलेको उम्मेदवारीको अवस्थालाई समेत अध्ययन गरी सहजीकरण गर्ने निर्णय भएको छ।’

ढकाल र प्रधान एक आपसमा प्रतिस्पर्धा गर्दा दुबैलाई फाइदा नहुने भएकाले सहमतीको प्रयास भएको उनले बताए।

‘बरु एकजनाले यो कार्यकाल र अर्को आकांक्षीले आउने कार्यकाल नेतृत्व गर्नेगरि अथवा कुनै माध्यमबाट सहमती पहिल्याउनेगरि समझदारी गर्न जरुरी छ,’ श्रेष्ठले भने।

२०५६ सालमा आफु र रविभक्तबीच यस्तै सहमती भएको स्मरण गर्दै उनले भने, ‘त्यो सयम वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था त थिएन। तर अध्यक्षको लागि हामी दुईजना आकांक्षी देखिएपछि पहिला म अध्यक्ष हुने र अर्को कार्यकाल रविभक्त हुने सहमती गरिएको थियो।’

यो पटक पनि मेलमिलापको सन्देश दिनेगरि महासंघ अघि बढाउनुपर्ने उनको भनाइ छ।

किन चाहियो मेलमिलाप?
प्रदिपकुमार श्रेष्ठका अनुसार महासंघ पछिल्लो समय कमजोर हुँदै गएको गुनासो व्यवसायीबाट नै आउन थालेको छ।

महासंघको नेतृत्वले व्यवसायीको समस्या समाधानको खोजी गर्न नसकेको, ओजपूर्ण निर्णय लिन नसकेको आरोप पनि लाग्न थालेको छ।

महासंघमा मेलमिलाप कमी भएकै करण संस्था कमजोर हुँदै गएको अनुभूतिअनुसार यो पटक सर्वसम्मतरुपमा वरिष्ठ उपाध्यक्ष चयन गर्न प्रयास भएको श्रेष्ठले बताए।

पूर्वअध्यक्षहरुको भेलाले रविभक्त श्रेष्ठ र महेशलाल प्रधानको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि थप छलफल अघि बढाउने निर्णय समेत गरेको छ। उनीहरुले दुवै प्यानलमा रहेका व्यक्तिसँग परामर्श गरेर मध्यमार्गी उपाय सुझाउनेछन्।

चण्डीराज र पशुपतिलाई बोलाइएन  
महासंघमा अहिले फरक फरक प्यानल निर्माण गर्न पहल गरेका चण्डीराज ढकाल र पुशपति मुरारकालाई भने सर्वसम्मत नेतृत्व निर्माण गर्न भएको यो पहलमा सहभागी गराइएको छैन।

मुरारकाले पछिल्लो समय महासंघमा राजनीति गर्न चाहिरहेको बुझाईमा रहेको ज्योति ग्रुपले उनलाई सहभागी नगराएको हो।

मुरारकाले हतारमा किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्न लगाएर उपाध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठलाई समेत सोही प्यानलमा सहभागी गराएर माहोल बिगार्न खोजेको आरोप ज्योति ग्रुपको छ।

चण्डीराज ढकाल पनि महासंघको राजनीतिमा सधैं सक्रिय रहन चाहने र चलखेल गर्ने व्यक्ति हुन्। ज्योति ग्रुपले उनलाई पनि बिहीबारको भेलामा सहभागी गराएन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .