ad ad

कारोबार


भौतिक सचिवमा सिग्देल र शर्माको हानथाप, वज्राचार्यले मौकै पाइनन्

भौतिक सचिवमा सिग्देल र शर्माको हानथाप, वज्राचार्यले मौकै पाइनन्

सचिवत्रय प्रमिला वज्राचार्य, गोपाल सिग्देल र केशव शर्मा।


वसन्त अर्याल
साउन १५, २०८१ मंगलबार १८:१६, काठमाडौँ

पछिल्लो दुई वर्षयता दुई मन्त्रालयमा दुई सचिवको हालीमुहाली चलेको छ। उनीहरु दुवै सरुवा हुँदा एकअर्काको मन्त्रालयमा पुग्ने गरेका छन्।

यसरी दुई मन्त्रालयमा रहिरहने सचिवद्वय हुन् गोपालप्रसाद सिग्देल र केशव कुमार शर्मा।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमा यो शृंखला दुई वर्षयता चलिरहेको छ।

सोमबार मात्रै सरकारले सचिव सरुवा गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ४ महिनामै सचिव फेरिएका छन्। 

यसपटक पनि सचिवद्वय सिग्देल र शर्माको मन्त्रालय फेरि साटासाट भएको छ। सिग्देल ऊर्जा जाँदा भौतिकमा फेरि शर्माको प्रवेश भएको छ। पछिल्ला २ वर्षमा भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयमा यिनै २ सचिवबीच हेरफेर चलिराखेको छ। 

२०८० चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका थिए। त्यतिबेला ऊर्जा मन्त्रालयमा सिँचाइ सचिव रहेका गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेका थिए। 

त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका भौतिकमन्त्री रघुवीर महासेठले शर्माको ठाउँमा सिग्देललाई ल्याएका थिए। 

त्यसअघि, २०७९ मा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिँचाइ सचिव रहेका शर्मालाई भौतिक मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको थियो।

उक्त समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माओवादीका नारायणकाजी श्रेष्ठले सम्हालेका थिए भने ऊर्जा मन्त्रालयको जिम्मेवारी राप्रपाका राजेन्द्र लिंग्देनले सम्हालेका थिए । 

सरकारका २२ मन्त्रालयमध्ये सबैभन्दा बढी पुँजीगत बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुन्छ। चालू आर्थिक वर्षको लागि कुल १ खर्ब ५० अर्ब रुपैयाँ मन्त्रालयको कुल बजेट छ। इन्जिनियर तर्फबाट बनेका सचिवबीच भौतिक मन्त्रालयको सचिव को हुने विषयमा हानथाप हुने गरेको छ।

अहिले भौतिक पूर्वाधार मन्त्रालयका ३ जना क्याडर सचिव रहेका छन्। तर प्रधानन्त्री र मन्त्रीको अनुकूल सिग्देल र शर्माले मन्त्रालयको नेतृत्व पाए पनि प्रमिला वज्राचार्यले अहिलेसम्म भौतिक मन्त्रालयको नेतृत्व पाएकी छैनन्। 

उनी सिग्देल र शर्मा दुवैभन्दा अगाडि २०७८ असारमा सचिव बनेकी थिइन्। हाल वज्राचार्य नेपाल ट्रस्टको कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा भएकी छिन्। 

‘अहिलेको सचिव हेरफेर प्रधानमन्त्रीकै इच्छाअनुसार भएको देखिन्छ’, भौतिक पूर्वाधार मन्त्रालयका एक सहसचिव भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवसँग सिधै पहुँच राख्ने भएकाले सो अनुकूल जिम्मेवारी दिएको हुनुपर्छ।’

सामान्यतया मन्त्री मातहत सचिव हुने भए पनि प्रधानमन्त्रीले चाहेको बखत परिवर्तन हुने गरेका छन्। 

‘पहिले पनि प्रधानमन्त्रीमा ओली हुँदा सचिवहरु मन्त्रीभन्दा प्रधानमन्त्रीकै बढी सुन्थे’, ती सहसचिव भन्छन्, ‘अहिले पनि प्रधानमन्त्री कार्यालयकै इच्छाअनुसार सरुवा गरेको देखिन्छ।’

‘थन्क्याइएका’ शर्मा फेरि शक्तिमा
सडक विभागमा केशवकुमार शर्माको तुलनामा गोपाल सिग्देल सिनियर हुन्। शर्माभन्दा १ वर्षअघि नै सिग्देल सडक विभागको महानिर्देशक भएका थिए। 

सिग्देल २०७४ जेठ २ गते सडक विभागको महानिर्देशक भएका थिए। १ वर्ष महानिर्देशक भएपछि रविन्द्र श्रेष्ठ महानिर्देशक भए। श्रेष्ठपछि मात्रै शर्मा सडक विभागको महानिर्देशक भएका थिए। २०७५ चैतदेखि २०७७ फागुनसम्म शर्मा महानिर्देशक भए। 

शर्माभन्दा अघि सिग्देल नै सचिव बनेका थिए। २०७८ असोजमा सहसचिव सिग्देल सचिवमा बढुवा भएका थिए। बढुवासँगै उनी २०७९ जेठसम्म नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन भए।   

२०७९ कात्तिकमा शर्मा सहसचिवबाट सचिवमा बढुवा भएका थिए। उनी प्राविधिकतर्फका राम आधार साह र विश्वबाबु पुडासैनीलाई पछि पार्दै सचिव बढुवा भएका हुन्। बढुवासँगै सिँचाइ मन्त्रालयमा पदस्थापन भएका थिए। 

२०५२ सालमा सडक विभागमा इन्जिनियरको रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा २०६९ मा सहसचिव बढुवा भएका थिए।

‘सरकार परिवर्तन र कर्मचारीमा सेमेस्टर प्रणालीजस्तै भयो’, भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारी भन्छन्, ‘६–६ महिनामा परिवर्तन हुने। अहिले त ६ महिना पनि टिक्न छाडे।’

छिटो छिटो कर्मचारी परिवर्तन हुँदा कुनै पनि कामको जिम्मेवारी लिने अवस्था नरहेको बताए।

‘मन्त्रालयमा कति वर्षदेखि सवारी लाइसेन्सको समस्या छ। कुनै सचिव आए पनि जिम्मेवारी लिँदैनन्’, उनी सुनाउँछन्, ‘४–६ महिनालाई हो, किन टाउको दुखाउनु भन्दै समस्या समाधानतर्फ नै लाग्दैनन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .