ad ad

कारोबार


सस्ता सामान बेचेर अर्बपति, बोटल पानीका ‘बादशाह’लाई उछिन्दै चीनकै धनी

सस्ता सामान बेचेर अर्बपति, बोटल पानीका ‘बादशाह’लाई उछिन्दै चीनकै धनी

झोङ सान्सान र कोलिन हुआङ (दायाँबाट)


नेपालखबर
साउन २६, २०८१ शनिबार १०:४४, काठमाडौँ

गेमिङ र इ–कमर्समा धेरै सफल भेन्चर व्यवसायपछि कोलिन हुआङ बिरामी परे र कामबाट अवकाश लिए। झण्डै एक वर्षजति त अब के गर्ने भनेर घरमै बिताए। 

अन्ततः गुगलका पूर्वइन्जिनियर उनले पिनडुओडुओ सुरु गरे। यो एक इ–कमर्स प्लेटफर्म थियो। सन् २०१५ मा यसले ठूलो प्रवर्द्धनस्वरुप अत्यन्त सस्ता उत्पादनहरु बिक्री थाल्यो। उनी चाँडै विश्वका धनीहरुको वरीयतामा चढ्न थाले। सन् २०२१ को सुरुतिर त उनको कुल सम्पत्ति ७१.५ अर्ब डलर पुग्यो। 

अन्य धेरै कोभिड महामारीका बेला सम्पत्ति कमाएका अर्बपतिजस्तै उनले पनि जति चाँडो कमाए, त्यति छिटै गुमाए। एकै वर्षको अन्तरालमा ८७ प्रतिशतले सम्पत्ति घट्न पुग्यो। कोभिड महामारीको आर्थिक सुस्तीसँगै चीन सरकारले निजी क्षेत्रमा थालेको धरपकडको मार उनले पनि भोग्नुपर्‍यो।

त्यसपछि भने जे भयो आश्चर्यजनक भयो। हुआङको पीडीडी होल्डिंग्स इन्कले ‘कमब्याक’ गर्‍यो। 

पहिलेजस्तो ठूलो त होइन तर एकनासले निरन्तरता पायो। यसले चीनबाहिर टेमु ब्रान्डमा व्यवसाय विस्तार गर्‍यो। जसको फाइदा कमजोर बनिरहेको घरेलु अर्थतन्त्रले पनि पायो। 

अन्ततः अहिले ४४ वर्षका हुआङ चीनकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छन्। 

ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार उनीसँग अहिले ४८.६ अर्ब अमेरिकी डलर सम्पत्ति छ र झोङ सान्सानको स्थान खोस्न सफल भएका छन्। सान्सान बोटल–पानी बेचेर अप्रिल २०२१ यता चीनकै धनीमा रहँदै आएका थिए। 

कसरी सफल भए हुआङ? 
हुआङको सम्झनलायक प्रगतिमा घरजग्गा व्यवसायको गहिरिँदो संकटपछि चीनको बदलिँदो किनबेच शैलीले पनि काम गरेको छ।

ज्याक माको अलिबाबा ग्रुप होल्डिङ लिमिटेडजस्ता निजी क्षेत्रका प्रतिस्पर्धीमाथि सरकारी दबाब बढेको तीन वर्षभन्दा बढी समयमा पहिलो धनी वरीयतामा आउने उनी नै पहिलो प्रविधि उद्यमी हुन्।

सँगसँगै हुआङले मूल्य घटाएको भन्दै आपूर्तिकर्ताहरुबाट विरोध समेत खेपे। आफ्ना कर्मचारीलाई धेरै काम गराएको आरोप पनि सहे। 

‘हुन त मा र जेफ बेजोस आफ्नो समयका ‘कर्पोरेट लिडर्स’ हुन् तर समय परिवर्तन भएको छ र हुआङले फरक किसिमले सफलता देखिरहेका छन्, नदेखिने हिसाबमा’, एक निजी इक्विटी फर्म काइयुआन क्यापिटलका प्रबन्धनिर्देशक ब्रक सिल्भर्सले भने। पीडीडीका प्रतिनिधिले भने प्रतिक्रिया दिन मानेनन्। 

गणितमा तीक्ष्ण 
अंग्रेजी शिक्षण छाडेर अलिबाबाको स्थापना गरेका माजस्ता होइनन् हुआङ। उनी चिनियाँ प्रविधि उद्यमीको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छन् जसले आफ्नो करिअर विश्वव्यापी अवसरसँगै सुरु गरेका थिए। 

हुआङ गणितमा तीक्ष्ण थिए। सोही प्रतिभाले चर्चित हाङझाउ फरेन ल्यांग्वेज स्कुलमा पढ्न पाए। जहाँ चिनियाँ राजनीतिज्ञ र समाजका गन्यमान्यका छोराछोरी उनका समकक्षी थिए। झेजियाङ युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातक लिएपछि उनले युनिभर्सिटी अफ विस्कन्सिनमा स्नातकोत्तरका लागि सन् २००२ मा चीन छाडे। 

अध्ययन सकेको २ वर्षपछि गुगल चाइना स्थापनामा सहयोगका लागि स्वदेश फर्किए। उनले आफ्नो पहिलो कम्पनी सन् २००७ मा स्थापना गरे। त्यसपछि २०१० मा त्यसलाई बेचेर नयाँ सुरु गरे जसले अलिबाबाको ताओबाओ वा जेडी डटकमजस्ता वेबसाइटमा कम्पनीहरुको बजारलाई सहयोग गरे। कानको बिमारसँगै उनी सन् २०१३ मा अवकाश लिन बाध्य भए। सोही बेला घरमा बस्दाबस्दै उनलाई पिनडुओडुओको अवधारणा फुरेको थियो। 

‘पीडीडी आफैँमा सांघाईमा मानिसहरुलाई पेरिसमा बसेजस्तो अनुभूति दिलाउनका लागि होइन’, उनले सन् २०१८ को एक अन्तर्वार्तामा भनेका थिए, ‘तर अनहुईका मानिसलाई भान्छा कागज र स्वच्छ फलफूल रहेको सुनिश्चित गराउनका लागि हो।’

यसको उद्देश्य सस्तो हुने नभई प्रयोगकर्तालाई राम्रो सम्झौता गरेँ भन्ने बनाउनका लागि भएको उनको भनाइ थियो। 

टेमुको समय  
सन् २०२० मा पीडीडीको प्रमुख कार्यकारीबाट राजीनामा दिएयता उनी सामान्य हिसाबले बसिरहेका छन्। बेइजिङले चिनियाँ प्रविधि उद्यममाथि कडिकडाइपछि सन् २०२१ मा उनले बोर्ड प्रमुखको पद पनि छोडिसकेका छन्। (सेयरसदस्यलाई पठाएको पत्रअनुसार उनले खाना र जीवनविज्ञानको अनुसन्धान गर्ने आफ्नो चाहना पूरा गरिरहेका छन्) 

यो ठ्याक्कै त्यतिबेलाको कुरा थियो जतिखेर पीडीडी र उनको सम्पत्ति खस्किन थालेको थियो। 

तर टेमु (चीनबाहिर पीडीडीको अफरिङ) ले कम्पनीको टपलाइनलाई मजबुत बनायो र व्यवसाय फर्कायो। सन् २०२२ सेप्टेम्बरमा लन्च हुनासाथ अमेरिकी एपस्टोरको शीर्षस्थानसम्म पुग्यो। यसको कारण थियो– कम्पनीले महंगीले प्रताडित अमेरिकीलाई सस्तो, ब्रान्डविहीन उत्पादनहरु चीनबाट सिधै शिपमेन्ट। 

सन् २०२३ मा पीडीडीले ३५ अर्ब डलर (२ खर्ब ४८ अर्ब युआन) आम्दानी गरेको छ। जुन सन् २०२२ को तुलनामा ९० प्रतिशत बढी हो।

‘यस्तो आर्थिक परिदृश्यमा मानिसहरु आफ्नो पैसाको ठूलो मूल्य खोजिरहेका हुन्छन्, कम मूल्य हेरिरहेका हुन्छन्’, ग्लोबल डेटा रिटेलका खुद्रा विश्लेषक निल साउन्डर्स भन्छन्, ‘त्यसकारण यो टेमुजस्ता भ्यालु रिटेलरहरु चम्किने समय हो।’ 

सन् २०२२ डिसेम्बरमा चीनले कोभिड–जिरो नीति छोडेसँगै पीडीडीको मूल्यांकन पनि ह्वात्तै बढ्यो। नोभेम्बरमा कम्पनीले पहिलोचोटि अलिबाबालाई उछिन्दै चीनको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भयो र दुई प्रतिस्पर्धी त्यसयता हाराहारीमा आइरहेका छन्। 

जतिखेरै काम 
अझै कम्पनीको अत्यधिक वृद्धिसँगै यसले चीन र चीनबाहिर ध्यान खिचिरहेको छ।

सन् २०२१ मा एक कर्मचारीको मृत्युपछि काम गर्ने अवस्थाको अनुसन्धानपछि पनि पीडीडीले बिहान ११ देखि बेलुका ११ सम्म कर्मचारीलाई काम गराउँछ। हप्ताको ६ दिन र थप समयमा पनि। यो उद्योगको ‘९९६’ संस्कृतिको एक प्रकार हो जुन बाइटड्यान्स लिमिटेड र अलिबाबाले बेइजिङको नियामकीय अनुसन्धानपछि छोडेका थिए। 

त्यसो त टेमुको अत्यन्तै सस्तो अफरिङले केही बिक्रेता र थर्डपार्टी बिक्रेतालाई चिन्तित पनि बनाएको छ। कम्पनीले यसो गर्दा आम्दानी घटेको उनीहरुको गुनासो छ। केहीले त गुआङझाउमा रहेको कम्पनीको कार्यालयबाहिर विरोध प्रदर्शन नै गरेका थिए। 

यता साना अमेरिकी व्यवसायले पनि टेमुको तीव्र विकासलाई ध्यानमा राखेका छन्। अमेरिकामा कम्पनीले अर्को फाइदा पनि उठाइरहेको छ। ८ सय डलसम्मको शिपमेन्टमा ड्युटी फ्रि हुन्छ। यसको फाइदा उठाउँदै कम्पनीले चीनका आफ्ना वेयरहाउसबाट साना प्याकेजहरु पठाइरहेको छ। यसको सीमा १० डलरमा झार्नुपर्ने लबिइङ समेत भइरहेको छ। 

यसका बाबजुद पीडीडीले जबर्जस्त प्रवर्द्धन अभियानलाई जारी राखेको छ। ३० सेकेन्डको सुपर बल विज्ञापन गरेको छ। यसका लागि आँखा तान्ने ब्यानर बनाइएका छन्। जस्तो कि ‘अर्बपतिले जस्तै खरिद गर्नुहोस्।’ 

‘हाललाई टेमु भनेकै वृद्धि हुनु हो’, साउन्डर्सले भने, ‘साइटमा मानिसहरुलाई तान्ने, किनमेलमा सहभागी गराउने। त्यसपछि उनीहरु झनै किन्न चाहन्छन्, त्यसपछि विस्तारै मूल्य थोरै बढाइदिँदा पनि उनीहरु तयार हुन्छन्। त्यसकारण मलाई टेमु अहिले ठूलै जमिन किन्ने युगमा छ जस्तो लाग्छ।’ 

(भेनस फेङ, डियाना लि र झेपिङ हुआङको स्टोरीको अनुवाद) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .