भरतपुर महानगरपालिकाले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ। सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो।
महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन्। उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ। बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ।
यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ ।
दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताइन्। काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ। यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालको भनाइ छ ।
महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर चार दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए। सङ्घीय सरकारको १० करोडको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ।
महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो ।
लामाले भने, “गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।”
पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
Shares
प्रतिक्रिया