ad ad

कारोबार


कोरोनाको मार तारे होटलमा, २५० रुममा ९ वटा मात्रै बुकिङ

कोरोनाको मार तारे होटलमा, २५० रुममा ९ वटा मात्रै बुकिङ

वसन्त अर्याल
चैत ३, २०७६ सोमबार १२:२३,

कोरोना भाइरसको सबैभन्दा ठूलो असर होटल क्षेत्रमा परेको छ। विदेशी पर्यटकमा आधारित तारे होटलको अकुपेन्सी ह्वात्तै घटेको हो।

सरकारले अन अराइभल भिसा रोकेपछि विदेशी पर्यटक ठप्प रहेको छ। जसको प्रत्यक्ष असर ठूला पाँच तारे होटलमा परेको छ।

‘हाम्रो कुल क्षमता २५० रुमको हो,’ याक एण्ड यति होटल स्रोतले भन्यो, ‘आज (सोमबार) जम्मा ९ वटा रुम मात्रै बुकिङ भएको छ।’

होटलहरुका अनुसार विदेशी पर्यटक आउन छाडेपछि होटलको अकुपेन्सी दिनप्रतिदिन घट्दो क्रममा रहेको छ।

याक एण्ड यतिको मात्रै होइन सबै होटलको अवस्था उस्तै छ। र्‍याडिसन होटलमा शनिबार करिब १७ प्रतिशत अकुपेन्सी थियो। आइतबार घटेर १५ प्रतिशत भयो। सोमबार झन् घटेर १३ प्रतिशतमा खुम्चेको होटल स्रोतको दाबी छ।

होटल एसोसिएन नेपाल (हान)की अध्यक्ष सृजना राणाका अनुसार होटलमा ४० प्रतिशत अकुपेन्सी भयो भने मात्रै आफ्नो खर्च धान्न सक्ने बताउँछिन्।

‘अहिले कुनै पनि होटलमा ४० प्रतिशत अकुपेन्सी छैन’, सोमबार सरकारलाई गुनासो सुनाउने क्रममा रक्षा मन्त्रालयमा उनले भनिन्, ‘यसको मतलब सबै होटल व्यवसायी घाटामा रहेका छन्।’

कुन होटलको कति अकुपेन्सी ?
काठमाडौंमा मुख्य पाँचतारे होटलमा सोल्टी क्राउन प्लाजा, अन्नपूर्ण, मल्ल, सग्रिला, रेडिसन, हायात छन्। सबै होटलले हरेक दिन अकुपेन्सी दर घटिरहेको जानकारी दिएका छन्।

होटल सोल्टीले २ सय ८३ रुम र ५ रेस्टुरेन्टसहितको सबैभन्दा ठुलो पाँचतारे होटल भएको आफुले दाबी गर्छ। तर विदेशी पर्यटकमा भर पर्नुपर्ने बाध्यताले उसको रुम बुकिङ २५ प्रतिशत पनि नरहेको होटलले बताएको छ। केही समय अघिसम्म राम्रो रहेको बुकिङ अहिले घटेको हो।

त्यस्तै हायात रिजेन्सीको अवस्था पनि उस्तै छ। २८० रुपसहित ५ वटा आन्तरिक रेस्टुरेन्ट भएको होटलको अकुपेन्सी २० देखि २५ प्रतिशत छ।

यसैगरी २ वटा रेस्टुरेन्टसहित १०० वटा रुम भएको होटल सांग्रिलाको ओकुपेन्सी १० प्रतिशतभन्दा कम रहेको होटलले बताएको छ।

‘हाम्रोमा मुख्य त भारतीय र चिनियाँ पर्यटक आउँथे,’ होटल स्रोतले भन्यो, ‘अहिले होटल सुनसान बन्दै गएको छ। व्यवसाय पूरै डामाडोल भयो।’

हानकी अध्यक्ष राणाले सम्रग होटलहरुको अकुपेन्सी १० दर प्रतिशतमा झरेको बताउँछिन्।

‘होटल व्यवसाय ठप्प हुँदा बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा आइपुगेका छौं,’ उनले भनिन्, ‘अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न सक्ने अवस्था छैन।’

उनले होटल संघ नेपालमा आबद्ध भएका होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताइन्।

‘३ महिनाको सेवा सुविधा चाहिन्छ’
पाँचतारे होटलमा काम गर्ने कर्मचारीले विना तलब विदा दिनखोजेको भन्दै आपत्ति जनाएका छन्।

‘होटलले कर्मचारीलाई ‘फोर्स लिभ’ दिने भनिरहेका छन्’, होटल अन्नपूर्णका एक कर्मचारीले भने, ‘३ महिनाको लागि अहिलेकै सेवा सुविधा पाउनुपर्छ।’

कोरोनाको असर तीन महिनाभन्दा बढी भएमात्रै सुविधा घटाउने विषयमा युनियनबीच छलफल भइरहेको जानकारी दिए।

रेस्टुरेन्ट पनि समस्यामा
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले काठमाडौं, पोखरा र चितवन गरी २५ सय रेस्टुरेन्ट रहेको बताए। जसमा विदेशी पर्यटक लक्षित रेस्टुरेन्ट ९० प्रतिशत अकुपेन्सी कम भएको बताए।

नेपाली ग्राहकलाई लक्षित गरी खुलेका रेस्टुरेन्ट पनि ५० प्रतिशत कमी भइसकेको उनको दाबी छ। यी होटलले दैनिक १४ करोड बराबरको कारोबार गर्दै आएको उनले जानकारी दिए। जसमा ६० हजार कर्मचारी आबद्ध रहेका छन्।

उनले सरकारसँग व्यवसायीलाई राहतको लागि सरकारले लिने १० प्रतिशत घरबहाल करमा पूरै छुट दिनुपर्ने बताए।

व्यवसायीलाई केही प्याकेज दिन्छौँ : सरकार
यसैबीच, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले व्यवसायीलाई नआत्तिन तथा सहकार्य र समाधानको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।

‘कोरोनाको समस्या पर्यटन व्यवसायीको मात्रै होइन, सिंगो राष्ट्रको हो’, उनले भने, ‘त्यसको लागि व्यवसायीले ठोस समस्या र समाधानका उपायसहित आएमा राहतका प्याकेज ल्याउँछौँ।’

त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन्।

पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताए।

कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै उनले सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्योभन्दा बढी कति प्रभाव पार्छ ? त्यसलाई दृष्टिगत गरी गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारी गरेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .