ad ad

कारोबार


सवारी पासको दुरुपयोग गर्दै, मान्छे खोज्दै पर्यटकीय वाहनहरु!

सवारी पासको दुरुपयोग गर्दै, मान्छे खोज्दै पर्यटकीय वाहनहरु!

वाशुदेव मिश्र
चैत १५, २०७६ शनिबार १४:३०,

पोखराबाट चार्टर्ड विमान र बसबाट विदेशी पर्यटकको उद्धार भइरहँदा केही ट्राभल व्यवसायीहरुले प्रशासनको सवारी पाससहित पर्यटकी नम्बर प्लेट भाडामा भएको सूचना जारी गरेका छन्।

अत्यावश्यकीय सामान ढुवानी गर्न प्रशासनबाट दिइने सवारी पाससहित सामाजिक सञ्जालमा राखिएको सूचनामा ‘पास’ पनि भएको र जतिबेला पनि उपलब्ध हुने जानकारीसहित सम्पर्क नम्बर पनि दिइएको छ। यस्ता सूचना जारी भएपछि पर्यटन व्यवसायीहरुबाट विरोध पनि आएको छ।

पोखराका पर्यटन व्यवसायी विजय केसीले आफ्नो फेसबुक वालमार्फत यस्तो सूचना जारी भएको जनाउँदै विपदको बेला लुट मच्चाइएको भन्दै आपत्ति पनि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत नै यस्ता पासहरु जफत हुनुपर्ने माग पनि गरेका छन्।

उनको मागमा अन्य धेरै पर्यटन व्यवसायीहरुले सहमति पनि जनाएका छन्। गाडीमा धेरै मान्छे हिँड्ने र यदि कुनै व्यक्तिलाई कोरोना संक्रमण भए त्यसले नेपाललाई नै असर गर्ने उनीहरुको आशंका छ। 

यता, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता श्रीनाथ पौडेलले अत्यावश्यक सामान बोक्ने सवारी साधनहरुलाई सवारी पास दिइएको र यसको दुरुपयोग भए कडा कारबाही गर्ने बताए। उनले पर्यटनका गाडीहरुलाई सवारी पास दिइएको स्वीकारे।

‘त्यसो गर्न दिएको हैन, यो यस्तो सुविधा हो, जुन अलपत्र भएका व्यक्तिलाई आफ्नो गन्तब्यसम्म पु-याउन दिइएको हो’, उनले भने,‘ त्यसको दुरुपयोग भयो भने हामी कडा कारबाही गर्छौँ।’

शनिबार पोखराबाट ३३९ जना पर्यटकको उद्धार
अन्नपूर्ण पदयात्रा मार्ग र पोखरा वरपर रहेका विदेशी शनिबार पनि उद्धार गरि काठमाडौं लगिएको छ। शनिबार पोखराबाट ३ वटा चाटर्ड विमान र ८ वटा बसमा गरि करिब ३२० जनाजति काठमाडौं गएका छन् ।

श्री एयरलायन्सको दुईवटा र यतिको एउटा उडानबाट १३८ जना काठमाडौं गएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। उनका अनुसार यति एयरलायन्सको पहिलो उडानबाट ७० जना, दोस्रो उडानबाट ५० जना तथा यतिको उडानबाट १८ जना काठमाडौं गएका हुन्।

पहिला दुईवटा उडानको व्यवस्थापन नेपाल पर्यटन बोर्डले गरेको हो भने यति एयरलायन्स भने जर्मन दूताबासले चाटर्ड गरेको हो। अघिल्ला दुई उडानको पैसा पर्यटक स्वयंले तिरेका हुन्। पछिल्लो उडानमा जर्मन नागरिकहरु थिए भने अघिल्ला दुई उडानमा सबै देशका नागरिकहरु रहेका थिए।

यता बसमा भने तीनवटा बस चारवटा कोष्टरबाट करिब १८० जनालाई काठमाण्डौ पठाइएको छ।

‘अझै पनि पोखरा र वरपर करिब ३ सयको संख्यामा विदेशी पर्यटक रहेको अनुमान छ, हामी उनीहरुबारे जानकारी बटुल्दै छौँ’,पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने,‘तीमध्ये केही नेपाल बस्न चाहन्छन् भने जानेहरु पनि छन्।’

यसैबीच शनिबार मात्रै २१ देशका ५१ जना पर्यटकलाई मुस्ताङबाट पोखरा पठाइएको छ। उनीहरुको साथमा ८ जना पथप्रदर्शन पनि रहेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार मुस्ताङमा अझै ८/९ जना पर्यटक बाँकी छन्। उनीहरु आफै मुस्ताङ बस्न चाहन्छन्।

यता, पोखरामा लामो भिसा भएका र नेपालमै बस्न चाहनेहरु दूताबासको सम्पर्कमा रहेको टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले जनाए।

यसअघि बुद्ध एयर र यतिबाट १७ जनाको उद्धार गरिएको थियो। बिहीबार बुद्ध एयरलाई फ्रान्सेली दूताबासले र शुक्रबार यतिको चार्डर्ट युरोपियन युनियनले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .