ad ad

कारोबार


इतिहासमै पहिलोपटक अस्ट्रेलिया उड्दै वायुसेवा निगमको जहाज

इतिहासमै पहिलोपटक अस्ट्रेलिया उड्दै वायुसेवा निगमको जहाज

वसन्त अर्याल
चैत १८, २०७६ मंगलबार ८:२५,

नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज सिधै अस्ट्रेलिया उड्ने भएको छ। बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान गर्नलागेको हो।

अष्ट्रेलियाले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश लैजान नेपाल एयरलाइन्स रोजेपछि वाइडबडीले मौका पाएको हो। निर्धारित समयतालिकाअनुसार वाइडबडी बुधबार साँझ ५:३० मा त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाको लागि प्रस्थान गर्नेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त उडानमा २ सय ६० जनाभन्दा बढी यात्रु अस्ट्रेलिया जाने बताए।

‘भोलि (बुधबार) साँझ साढे ५ बजे त्रिभुवन विमानस्थलबाट २ सय ६० भन्दा बढी यात्रु बोकेर जाँदै छ’, उनले नेपालखबरसँग भने, ‘काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान्छ। त्यहाँ इन्धन भरेर अष्ट्रेलियाको ब्रिस्बेन सहर जान्छ।’

क्षेत्रीका अनुसार जहाजमा ३० जना न्युजिल्यान्डका नागरिक समेत रहनेछन् भने बाँकी अष्ट्रेलियाली नागरिक हुनेछन्।

‘व्यावसायिक उडानको लागि आत्मबल बढाउँछ’
नेपालले अस्ट्रेलियासँग सिधा उडानको लागि प्रयास गरिरहेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अस्ट्रेलिया पुग्दा पनि सिधा उडानमा प्रयास गरिरहेको र अस्ट्रेलियासँग छलफल चलिरहेको बताउँदै आएका थिए।

यस्तो प्रयासकै बीच वाइडबडीले मौका पाउनुले यसलाई व्यावसायिक उडानको परीक्षणका रुपमा समेत लिन सकिने अधिकारीहरुको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले चार्टर्ड उडानले व्यावसायिक उडानको लागि निगमको आत्मबल बढाउने बताए।

अष्ट्रेलियन राजदूतावासले कतार एयरवेजको जहाज चार्टर्ड गर्न खोजेको थियो। कतार एयरवेजभन्दा नेपाल एयरलाइन्सको जहाज सस्तो पर्ने हुँदा दूतावासले नेपाल एयरलाइन्स छनोट गरेको निगमका अधिकारीको भनाइ छ।

सहसचिव अधिकारीका अनुसार कुनै पनि देशमा चार्टर्ड उडानको लागि दुईदेशबीचको हवाइ सम्झौता आवश्यक पर्दैन। उनले भने, ‘जुन देशले चाहे पनि नेपाल एयरलाइन्सको जहाजले उडान गर्न सक्छ।’

गत असोजमा नेपाल र अष्ट्रेलियाबीच दुई देशबीच हवाइ सम्झौता भएको थियो। तर नेपाल र अष्ट्रेलियाबीच कुनै पनि सिधा उडान भने अझै हुनसकेको छैन।

चार्टर्ड उडानले नेपाल एयरलाइन्सको क्षमता छ कि छैन भन्ने प्रश्नको पनि उत्तर दिने आचार्यको दाबी छ। यसले निगमका कर्मचारीमा आत्मबल बढाउने र व्यावसायिक उडानको लागि तयार बनाउने उनले बताए।

किन सिड्नी छोडेर ब्रिस्बेन?
सहसचिव आचार्यका अनुसार नेपाल एयरलाइन्सको जहाजले सिड्नीमा उडान गर्न खोजेको थियो तर त्यहाँ क्वारेन्टिनमा बस्नुपर्ने भएकाले ब्रिस्बेन जानुपरेको हो।

‘हामीलाई व्यावसायिक उडान अनुभवको लागि सिड्नी अथवा मेलबर्नमा उडान गर्दा राम्रो हुन्थ्यो’, उनले भने, ‘अहिले ब्रिस्बेन जानुपरे पनि रुटमा धेरै फरक पर्दैन।’

नेपाल वायुसेवा निगमका म्यानेजिङ डाइरेक्टर गणेश बहादुर चन्दले निगमको इतिहासमै पहिलो अष्ट्रेलिया उडान अनुभव हुने जानकारी दिए।

‘यसअघि कुनै पनि उडान भएको थिएन। हामीसँग ठूलो जहाज पनि थिएन। अब हामी व्यावसायिक उडान गर्न पनि सक्छौँ भन्ने सन्देश दिन्छ’, उनले भने, ‘अष्ट्रेलिया उडानको अनुमतिको लागि समय लाग्यो । व्यावसायिक उडान गर्दा यसबाट सिक्न सकिन्छ।’

निगमका निर्देशक तथा पाइलट दिपु ज्वारचनले नेपाल एयरलाइन्सका पाइलटहरुको लागि यो उडान अनुभव हुने बताए।

‘पहिलो उडान भएकाले पाइलटहरुले रुटको अनुभव गर्न पाउँछन्, जसले गर्दा आगमी दिनमा निगमलाई व्यावसायिक उडान गर्दा सहज हुन्छ’, ज्वारचनले भने, ‘अस्ट्रेलिया नेपालको लागि लामो दूरी भएकाले वाइडबडी इन्धन क्षमताले भ्याउँदैन। त्यसैले मलेसियामा इन्धन भर्नुपर्छ।’

१२ सय बढी पर्यटक बाहिरिए
लकडाउनको कारण नेपालका विभिन्न ठाउँमा अलपत्र परेका करिब १२ सय पर्यटक बाहिरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं उद्धार गरेका १२ सय बढी पर्यटकलाई कतार एयरवेजले ४ वटा उडानमार्फत लगिसकेको छ।

मंगलबार दिउँसो मात्रै अमेरिकी राजदूतावासले कतार एरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको छ। यसअघि गत शुक्रबार एउटा र शनिबार दुई उडान कतार एयरवेजले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .