ad ad

कारोबार


लोभलाग्दा अवसर र डरलाग्दा चुनौतीबीच केन्द्रीय बैंकको हटसिटमा महाप्रसाद

लोभलाग्दा अवसर र डरलाग्दा चुनौतीबीच केन्द्रीय बैंकको हटसिटमा महाप्रसाद

दीपक भट्ट
चैत २५, २०७६ मंगलबार १८:३३,

लामो समय राष्ट्र बैंकमा काम गरेर डेपुटी गभर्नर पदबाट पाँच वर्षअघि बाहिरिएका महाप्रसाद अधिकारी सोमबार सोहि बैंकको गभर्नर पदमा नियुक्त भएका छन्।

मुलुककै केन्द्रीय बैंकको प्रमुखको रुपमा मंगलबारबाट पाँच वर्षे कार्यकाल सुरु गर्दा अधिकारीसामु निकै लोभलाग्दा अवसर र कठिन चुनौतीहरु छन्।

समग्र देशको मौद्रिक तथा वित्तीय प्रणालीलाई निरन्तर निगरानीमा राख्दै र नीतिगत तथा कार्यगत कदमहरु चाल्दै अघि बढ्नु्पर्ने हुँदा केन्द्रीय बैंकको प्रमुखको रुपमा उनले सँधै सरकार तथा अर्थमन्त्रालयको नेतृत्वसँग सहकार्य गरिरहनुपर्नेछ।

त्यस्तो अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्रीभन्दा फरक दल वा खेमाबाट नियुक्त भएको व्यक्ति गभर्नर हुँदा काम गर्न निकै अप्ठेरो हुनेगर्छ।

हालै आफ्नो कार्यकाल सम्पन्न गरेका गर्भनर चिरञ्जीवि नेपाल ठीक त्यहि अप्ठेरो परिस्थितिबाट गुज्रेका थिए।

नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका नेपालले अधिकांश समय बामपन्थीहरुको नेतृत्वमा रहेर काम गर्नुपर्दा जटिलता आएको बताउने गरेका थिए। जुन कुरा उनले विदाई कार्यक्रममा समेत अभिव्यक्त गरे।

अधिकांश समय कम्युनिष्ट नेतृत्वको सरकारमा काम गर्दा राजनीतिक प्रकृतिका समस्या झेलेरै आफूले आफ्नो कार्यकाल पुरा गरेको कुरा विदाई भाषणमा बताएका थिए।

अधिकारीले भने राजनितिक रुपमा निकै सहज अवस्थाबीच राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका छन्। पहिलेदेखि उनीसँग ‘लाइन मिल्ने’ राजनीतिक नेतृत्व सरकार र अर्थ मन्त्रालयको नेतृत्वमा छन्।

बलियो बहुमतसहितको दल सरकारमा रहेको हुँदा राजनीतिमा ठूलै उथलपुथल भएको अवस्थामा बाहेक अहिलेकै समिकरण नै कायम रहनेछ।

हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पूर्व नेकपा–एमालेले पहिले पनि अधिकारीलाई गभर्नर बनाउन चाहेको थियो। त्यो संभव नभएपछि, ओली नै पहिलोपटक प्रधानमन्त्री हुँदा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरिएको थियो।

पहिलेदेखि नै ओलीसँग राम्रो सम्बन्ध भएका अधिकारी, प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको प्रमुख कार्यकारीको रुपमा लामो समय सँगै काम गर्दा प्रधानमन्त्रीसँगको सम्बन्धलाई थप निकट बनाउने मौका पाए। जसका कारण पनि अहिले यो पद प्राप्तीमा उनलाई थप सहयोग पुगेको थियो।

अर्थमन्त्री युवराज खतिवडासँग उनको लामो सहकार्य र सम्बन्ध छ। खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा अधिकारी उनको ‘कोर टिम’ मा रहेर काम गरेका थिए। खतिवडाले बैंक तथा वित्तीय क्षेत्रमा ठूला नीतिगत परिवर्तन र सुधारका कदम चाल्दा उनलाई साथ दिने एक मुख्य व्यक्ति अधिकारी थिए।

त्यो सम्बन्धका कारण अहिले प्रधानमन्त्रीकै विश्वासपात्र र सरकारको प्रवक्ताको समेत भूमिकासहित अर्थ मन्त्रालय हाँकेका खतिवडासँग उनको कार्यशैली, बुझाई र समग्र ‘केमेष्ट्री’ मिल्ने सहजै अनुमान गर्न सकिन्छ।

राष्ट्र बैंकबाट ओली र खतिवडाले गर्ने अपेक्षा उनले सहजै अनुमान लगाउन सक्छन् भने अधिकारीले मन्त्रालयसँग राख्ने प्रस्तावको स्प्रिट बुझ्न पूर्वगभर्नर समेत रहेका खतिवडालाई कुनै कठिन हुनेछैन।

यस्तो सहज राजनीतिक परिस्थिति विगतका कमै गभर्नरले पाएका थिए।

पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्री भन्छन्, अधिकारीले आफ्नो पुरै समय खुलेर काम गर्न पाउने राजनितिक माहोल देखिएको छ। ‘जुन गर्भनरको लागि एकदम राम्रो अवसर हो,’ क्षेत्रीले भने।

तर, उनको कार्यकाल चुनौतिविहिन भने छैन।

अत्यन्त प्राविधिक तथा नीतिगत विषयमा निरन्तर निर्णय लिने र त्यसलाई कार्यान्वयन गर्दै वित्तीय क्षेत्र र बजारलाई निकै सन्तुलनमा ‘ड्राइभ’ गर्नुपर्ने सिटमा रहेको गभर्नर पद राजनीतिक परिस्थितिले मात्र साथ दिएर भने पुग्दैन।

Governor sapathमंगलबार प्रधानन्यायधिशबाट पद तथा गाेपनियताकाे सपथ लिँदै नवनियुक्त गभर्नर अधिकारी (दायाँ)

तरलता र विदेशी मुद्रा सञ्चिति मुख्य चुनाैति
कोरोना (कोभिड–१९) संक्रमणको विश्वव्यापी महामारीले निम्त्याएको अकल्पनीय अन्तर्राष्ट्रिय आर्थिक संकटको भूमरीका बीच अधिकारीले केन्द्रीय बैंकको ‘हटसिट’ सम्हालेका छन्।

कोरोना महामारीकै कारण सुरु भएको लकडाउनको दोश्रो साता पुरा गरी तेस्रो साता सुरु हुँदा उनले पदबहाल गरेका हुन्।

उनले केन्द्रीय बैंकको प्रमुखको जिम्मेवारी सम्हाल्दा बैंक तथा वित्तीय संस्थाहरु ठप्प छन्। व्यापार व्यवसाय चलेको छैन। त्योभन्दा डरलाग्दो कुरा यो स्थिति कहिलेसम्म पुग्ने हो, अनुमान गर्न गार्हो छ।

मुलुकको मौद्रिक नीति तय गर्ने तथा देशभरका बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय समेत राष्ट्र बैंक नै भएका कारण देशको समग्र वित्तीय क्षेत्रको स्वास्थ्यको प्रत्यक्ष निगरानी उनकै नेतृत्वमा हुनेछ।

देशको भुक्तानी सन्तुलन कायम राख्ने, बजारमा तरलता र वित्तीय स्थिरता सुनिश्चित गर्ने लगायतका स्वस्थ वित्तीय सेवालाई प्रवद्र्धन गर्ने केन्द्रीय बैंकको प्रमुख कार्यकारीको भूमिकामा समेत गभर्नर नै हुन्छन्।

राजनीतिकरुपमा उनी जति सहज अवस्थामा देखिन्छन्, त्यसको ठीक विपरित ‘कोर’ आर्थिक पक्षहरु भने निकै जटिलतातर्फ उन्मूख छन्।

कोरोनाले तहसनहस भएको वित्तीय क्षेत्रलाई सुधार गरेर जान सहज छैन। त्यसको लागि भने उनले वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अर्थात् तरलता व्यवस्थापनमा निकै हेक्का राख्नुपर्नेछ।

नेपालमा अहिले तरलताको समस्या छैन। यो विशेषगरी नेपालमा पनि माघदेखि नै कोरोनाको प्रत्यक्ष असर देखिन थाले पनि मानिसहरु लगानीमा अग्रसर देखिएका थिएनन्।

लगातार तीन वर्षदेखि कमजोर देखिएको सेयर मार्केट पनि यहि समयमा केहि दिन उकासिएको थियो। अन्य क्षेत्रमा पैसा लगानी नै हुन नसक्नु यसको प्रमुख कारण हो।

कोरोना साम्य भएपछि भने लगानीकर्ता आउनसक्ने अनुमान गरिन्छ। केहि वस्तु उत्पादन को अवसर समेत देखिएकाले तरलताको माग ह्वात्तै बढ्ने क्षेत्री बताउँछन्।

‘अब अर्थतन्त्र उकास्ने हो भने लगानीयोग्य रकमको अभाव चाहि कहिल्यै पनि हुन दिनु हँदैन। नयाँ गभर्नर अधिकारीलाई यो ठूलो चुनौती हुनेछ,’ उनले भने। ‘वित्तीय संस्थामा गएपछि ऋण नपाएर फर्किनु पर्ने अवस्था आउनु हुँदैन भने बैंकरहरुलाई पैसा भएन भन्ने गुनासो गर्न दिनु हुँदैन, यो व्यवस्थापन गर्नुपर्ने उनीसामु आउने चुनौती हो।’

उनलाई तरलता जुटाउनु सबैभन्दा ठूलो चुनौती हुनसक्ने अर्थ मन्त्रालयको एक अध्ययन प्रतिवेदनले नै देखाएको छ।

अर्थमन्त्रालयले कोरोना प्रभावको बारेमा प्रारम्भिक अध्ययन गरिसकेको छ। उक्त अध्ययनले अबको समस्या नै तरलता हुनसक्ने देखाएको छ।

नेपालको प्रमख आम्दानी मध्येको रेमिट्यान्स निकै कमजोर हुने, पर्यटन क्षेत्र तथा उद्योग क्षेत्रमा अब आम्दानी नहुने भएकोले वित्तीय संस्थाहरुमा लगानीयोग्य पैसा (तरलता) कम हुने आँकलन गरिएको हो।

त्यस्तै अन्य देशबाट ऋण तथा अनुदान पनि पाउन नसक्ने अवस्था सिर्जना हुने आँकलन अर्थ मन्त्रालयले गरेको छ।

प्रायः सबै देश कोरोनाबाट प्रभावित बनेकोले अमेरिका, बेलायत, भारत, चीन जस्ता मुलुकबाट आउने सहयोग रोकिने आँकलन छ।

बिश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक (एडीबी) जस्ता दातृ निकायबाट मात्रै केहि सहयोग आउनसक्ने र त्यसको भरपुर सहयोग गर्नुपर्ने अर्थ मन्त्रालयको प्रतिवेदनले बताएको छ।

नेपालको विदेशी मुद्राको मुख्य श्रोत तीनवटा हुन्– रेमिट्यान्स, पर्यटन र वैदेशिक सहयोग। यी तीनै क्षेत्र अहिले प्रत्यक्ष प्रभावित भएको हुँदा विदेशी मुद्राको सञ्चितीमा सोझै प्रभाव पर्नेछ, जसले आर्थिक तथा वित्तीय क्षेत्रका विभिन्न पक्षलाई आघात पुर्याउनेछ।

पूर्वगर्भनर क्षेत्री पनि विदेशी मुद्रा सञ्चितीमा नेपाल कमजोर बन्ने बताउँछन्। नेपालको वस्तु उत्पादन कोरोनाको कारणले घटेको छ। यसै पनि आयातमुखी देश अब वस्तु आयातमा नेपालले धेरै पैसा खर्चिनुपर्ने अवस्था आउने उनको भनाई छ।

जसले नेपालको विदेशी मुद्रा सञ्चिति निकै कमजोर हुनेछ। ‘तर, यो व्यवस्थानपन गर्न महाप्रसाद अधिकारी सक्षम छन् भन्ने मेरो विश्वास छ। उनको लोभमा नपर्ने स्वभावले उनलाई यी कुराहरु सम्हाल्न सफल हुनेछन् भन्ने मेरो विश्वास हो,’ उनले भने।

यी चुनौतीबारे के भन्छन् स्वयं महाप्रसाद अधिकारी?
अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये वित्तीय क्षेत्र महत्वपूर्ण रहेको र अहिलेको विषम परिस्थितिले गर्दा वित्तीय क्षेत्रलाई असर गरेको उनी बताउँछन्। यसलाई व्यवस्थित गर्नु र सहजरुपमा चलाएर लैजानु पनि एक किसिमको चुनौती नै रहेको उनले नेपालखबरसँग बताए।

‘ऋण लिएकोलाई रिपेमेन्टमा असर गरेको छ। ब्याज तिर्न असर गरेको छ। बन्द व्यापार चलाउने, आर्थिक उन्नति गर्ने, समृद्धिको बाटोमा अघि बढ्ने, यी अधिकांश कुराहरु अहिले हेर्नुपर्ने मुख्य विषय हुँदैहुन्,’ उनले भने।

दैनिक जीवीकोपार्जन चलाउनका लागि पनि धेरै मान्छेलाई गाह्रो परिरहेको हुँदा त्यसको प्रत्यक्ष असर समेत वित्तीय क्षेत्रमा परेको कुराहरु उनले अहिले अध्ययन गरिरहेका छन्।

‘कोरोनाले असर त गरेको नै छ तर त्यसका कारण वित्तीय क्षेत्रमा गम्भीर क्षति हुन नदिनु मेरो पहिलो कर्तव्य हो र पहिलो चुनौति पनि हो,’ उनले भने।

वित्तीय प्रणालीमा पब्लिकको आत्मबल जोगाउनु महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै अधिकारीले त्यसका लागि राष्ट्र बैंकले धेरै खालका उपकरणहरु लागु गर्ने बताए।

‘वित्तीय क्षेत्रलाई अगाडी बढाउने राष्ट्र बैंकको कर्तव्य हो र मैले पनि गर्ने त्यहि हो,’ अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .