ad ad

कारोबार


लकडाउन अवधिमा नेपालबाट ३ हजार विदेशी स्वदेश फर्किए

लकडाउन अवधिमा नेपालबाट ३ हजार विदेशी स्वदेश फर्किए

वसन्त अर्याल
चैत २६, २०७६ बुधबार ८:१८,

लकडाउन अवधिभर ३ हजार बढी विदेशी नागरिकको उद्धार भएको छ। अन्तर्राष्ट्रिय उडान बन्द भएपछि चार्टर्ड जहाजमार्फत विदेशीको उद्धार भएको हो।

चैत १० देखि बुधबारसम्म १९ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भरेका छन्। नेपालभर अलपत्र परेका पर्यटकलाई पर्यटक बोर्डको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता पठाइएको हो।

हवाइ तथा सडक यातायात बन्द हुँदा नेपालका विभिन्न ठाउँमा पर्यटकहरु अलपत्र परेका थिए।

देशभरका पर्यटकलाई सम्बन्धित देशको राजदूतावासको सहयोगमा आन्तरिक चार्टर्ड उडान तथा बसमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पर्यटकलाई समयमै उद्धार गर्दा नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिन सफल भएको बताएका छन्।

British return lockdown 2तस्बिर : विनाज गुरुवाचार्य/फेसबुक

उनले ट्विट गर्दै भनेका छन्, ‘नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिन सफल भएका छौं। सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दछौं।’

सरकारको यो कामलाई धेरैले राम्रो काम भएको समेत बताएका छन्।

पर्यटन क्षेत्रमै काम गर्ने बसन्त राज गौतमले उद्धारमा जो सम्मिलित भए राम्रो काम भन्दै सामाजिक सञ्जालमा धन्यवाद भनेका छन्।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता हेमराज पाण्डेले सरकारले राम्रो काम गरेको भन्दै नेपालमा रहेका अन्य पर्यटकलाई सहयोग गर्नुपर्ने सुझाव दिएका छन्।

कतार एयरवेजको धेरै उडान
अन्तर्राष्ट्रिय उडान बन्द भएपश्चात् सबैभन्दा बढी उडान कतार एयरवेजले गरेको छ। २६ गतेसम्म कुल १९ उडानमध्ये कतार एयरवेजको मात्रै ९ वटा उडान भएको छ।

‘लकडाउनपछि अन्तर्राष्ट्रिय उडानमार्फत ३ हजार बढी विदेशी नागरिक बाहिरिँदा ९ वटा उडान कतार एयरवेजले गरेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘त्यसबाहेक ४ वटा नेपाल एयरलाइन्ससहित कोरियन, एत्तिहाद, मालिन्डो, मलेसियन एयर, चेक एयर, टाइटन एयरले एक–एक उडान भरेका छन्।’

क्षेत्रीका अनुसार नेपालबाट बाहिरिनेमा अमेरिकी र युरोपेली धेरै छन्।

‘बेलायत, अमेरिका, जर्मन, फ्रान्स, चेक गणतन्त्रलगायत युरोपियन देशका नागरिक सबैभन्दा बढी रहेका छन् । त्यस्तै मलेसियन, कोरियन र सिगापुरका नागरिक पनि आफ्नो देश फर्किएका छन्’, उनले भने।

नेपाल एयलाइन्सका वाइडबडी जहाजले इतिहासमा पहिलोपटक अष्ट्रेलिया उडान भरेको छ भने कोरोना संक्रमणसँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री लिन चीनमा समेत चार्टर्ड उडान भरेको छ।

British return lockdown 4तस्बिर : विनाज गुरुवाचार्य/फेसबुक

बुधबार मात्रै दुई उडान
बुधवार त्रिभुवन विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भरेका छन्। कतार एयरवेज र टाइटन एयरले उडान भरेका हुन्। जसमा जर्मन र बेलायतका नागरिक फर्किएका छन्।

टाइटन एयरमा अधिकांश बेलायतीसहित २ सय ६८ जना छन् भने कतार एयरवेजमा अधिकांश जर्मन नागरिकसहित ३०२ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .