लकडाउनको बीचमा पनि काम भइरहेका काठमाडौंका सबै सडक निर्माणको काम रोकिएका छन्। सडक निर्माणको लागि आवश्यक सामग्री स्थानीय उचालेर ‘क्रसर डन’हरुले उठाउन नदिँदा सबै काम रोकिएका हुन्।
सरकारले लकडाउनको समयमा पनि विकास निर्माणका काम अघि बढाउने योजनामा क्रसरहरु बाधक बनेका हुन्। काठमाडौंको गौशाला–चाबहिल सडक पिच तथा सबै सडकको ओभरलेको काम ठप्प भएको छ।
काठमाडौंका सडकमा ओभरले तथा पिचको लागि आवश्यक पर्ने सामग्री सडक डिभिजन कार्यालय काठमाडौंले ठेकेदारमार्फत काभ्रेबाट ल्याएर काम गरिरहेको थियो। तर काभे्रका क्रसर गिरोहले गिट्टी र बालुवा लिन काभ्रे गएका टिप्परलाई त्यहीँ रोकेका छन्।
‘ओभरलेको काम पनि रोकिएको छ। थापाथलीदेखि त्रिपुरेश्वर–एयरपोर्ट–गौशाला र न्यु रोडको केही भागमा ओभरलेको काम गरिरहेका थियौँ’, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘गिट्टी, बालुवा सकिएपछि कुनै पनि काम गर्न पाएका छैनौँ।’
लामो समयदेखि भद्रगोल अवस्थामा रहेको गौशाला–चाबहिल खण्डको सडकको काम पनि रोकिएको छ। उक्त सडक खण्डमा खानेपानी पाइपको समस्याका कारण बन्न सकेको छैन। आइतबारबाट उक्त सडक खण्डमा पिचको काम सुरु गर्ने बताइएको थियो।
‘हामीले चाबहिलबाट–गोपीकृष्ण खण्डमा कालोपत्रे गर्ने तयारी गर्दा गिट्टी, बालुवा रोकियो,’ नेपालीले भने, ‘स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्न सकेनन्। मन्त्रालयले समन्वय गरे मात्रै काम गर्न सकिन्छ।’
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले काठमाडौंबाट आएका टिप्परमा गिट्टी, बालुवा पठाउन गाउँपालिकालाई अनुरोध गरेको दाबी गरे।
‘दोलालघाटमा गिट्टी लैजान टिप्पर आएका थिए। भुम्लु गाउँपालिकाले स्थानीयसँग समन्वय गर्न सकेन। सडक डिभिजन कार्यालयलाई अन्य ठाउँबाट गिट्टी, बालुवा उठाउन अनुरोध गरेका छौं’, सीडीओ तिमिल्सिनाले नेपालखबरसँग भने।
उनले हाल कोरोना संक्रमणको बेला भएकाले अवरोध गर्नेलाई जबर्जस्ती हटाउन उपयुक्त समय नभएको बताए। ‘अवरोध गर्नेलाई पुलिस लगेर बलपूर्वक काम गर्ने अवस्था होइन। त्यसैले अर्को विकल्प खोज्न भनेका छौं’, उनले भने।
क्रसर गिरोहले केही स्थानीयलाई उचालेर गिट्टी, बालुवा उठाउन विरोध गरेका हुन्। ‘गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र प्रहरीसहित क्रसर गिरोहले टिप्परलाई गिट्टी, बालुवा उठाउन दिएका छैनन्’, एक अधिकारीले भने, ‘लेनदेनको कुरा नमिल्दा गिट्टी, बालुवा उठाउन नदिएका हुन्।’
‘मौजुदा सामग्री उठाउनुपर्ने भएकाले धेरै विकल्प छैन’
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले तत्काल विकल्प धेरै नभएको बताए।
‘लकडाउनको अवस्था छ, क्रसर उद्योग चलेका छैनन्’, नेपालीले भने, ‘जहाँ मौजुदा सामग्री छ। त्यहीँबाट गिट्टी, बालुवा उठाउनुपर्छ।’
किन रोकियो भन्ने बुझ्न नसकिएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग पनि समन्वयको लागि काठमाडौं सडक डिभिजनले पत्र पठाएको र गाउँपालिकाले समेत अनुमति दिएको अवस्थामा क्रसर गिरोह हावी भएको हो।
गाउँपालिकाले वडा कार्यालयलाई गिट्टी उठाउन दिनु भनेर पत्र लेखेको तर वडा कार्यालयले त्यसको अनुमति नदिएको हो।
डिभिजन प्रमुख नेपालीले दोलालघाट मात्रै नभई रोसीबाट पनि गिट्टी र बालुवा उठाउन अनुमति नपाएको बताए।
खानी भएको ठाउँमा बस्ती कम हुन्छ। टिप्परमा दुई जनाभन्दा बढी मानिस पनि हुँदैनन्। जाने र सामान लोड गरी ल्याउने मात्र काम भए पनि सामग्री ल्याउन अवरोध भएको उनको भनाइ छ। स्थानीयसँग भेटघाटै नहुने हुँदा कोरोना फैलने जोखिम शून्य रहेको नेपाली बताउँछन् ।
सडक डिभिजन कार्यालयले लकडाउनको समयमा काम गर्न १५ टिप्परको अनुमति लिएको थियो। जसमा काभ्रेमा ७ टिप्पर मात्रै गएका थिए।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जोखिमलाई ध्यान दिँदै विकास निर्माणका काम गर्नेसँग समन्वय गर्न गृह मन्त्रालयलाई भने पनि सडक डिभिजनले प्रशासनबाट कुनै सहयोग पाएको छैन।
प्रतिक्रिया