ad ad

कारोबार


न श्रमिक, न सामग्री : सरकारले भने पनि अघि बढेनन् विकास निर्माणका काम

न श्रमिक, न सामग्री : सरकारले भने पनि अघि बढेनन् विकास निर्माणका काम

वसन्त अर्याल
बैशाख ३०, २०७७ मंगलबार ७:३९,

विकास निर्माणका कार्य अघि बढाउन निर्माण सामग्री अभाव खट्किएको छ। वैशाख २६ गतेबाट निर्माण उद्योग सञ्चालन गर्न दिने भने पनि निर्माण सामग्री अभावमा धेरै काम अघि बढ्न नसकेका हुन्।

विकास निर्माणका कार्यले हरेक आर्थिक वर्षको अन्त्यमा तीव्रता पाउने गरेका थिए। चालू आर्थिक वर्षमा भने लकडाउनका कारण डेढ महिनादेखि निर्माणका आयोजना ठप्प छन्।

निर्माण सामग्री ढुवानीको लागि संघीय सरकारले खुला गरे पनि स्थानीय तहले आवतजावतलाई कडा बनाएका छन्। व्यवसायीलाई निर्माण सामग्री उठाउन दिएका छैनन्। केही सीमित क्रसर उद्योग मात्रै चलेका छन्।

‘काठमाडौं केन्द्रित नीति’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले उपत्यका केन्द्रित नीति बनाएको बताए।

‘सरकारले काठमाडौं उपत्यकामा कसरी काम गर्न सकिन्छ भन्ने सोचेर नीति बनाएको छ’, अध्यक्ष सिंहले भने, ‘यसले देशभर निर्माण आयोजना अघि बढ्न सक्दैनन्।’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले अहिले पनि निर्माणका काम गर्न सहज नभएको बताए।

‘निर्माण उद्योग खोल्ने भने पनि अझै सहज भएको छैन’, नेपालीले भने, ‘वर्षायामअघि नै सक्नुपर्ने धेरै काम नसकिने भयो।’

उनले लकडाउनको अवसरलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे।

‘उपत्यकामा अन्य समयमा ट्राफिक चाप बढी हुँदा काममा प्रभाव पर्ने गरेको थियो। लकडाउनको समयमा निर्माण सामग्री ल्याएर छिटो काम गर्ने योजना असफल भएको छ’, उनले भने ।

उपत्यकामा निर्माण सामग्री बोक्ने गाडी राति मात्रै गुड्न दिने व्यवस्थाले सबैभन्दा ठूलो असर गरेको बताए।

‘बेलुकी ८ देखि बिहान ६ बजेसम्म टिप्पर चल्न दिएर त हाम्रो काम नै नहुने भयो। नर्मल अवस्थामा जस्तो खाने बस्ने ठाउँ पाउँदैन’, नेपालीले भने, ‘हामीले निर्माण सामग्री ल्याउने मुख्य ठाउँमा क्रसर उद्योग अझै चल्न सकेका छैनन्। कहाँबाट काम गर्न सक्नु?’

उनले वर्षात्अघि चाबहिल–गौशालाको पिच गर्ने भने पनि सुरु गर्न नसकेको बताए।

उनले भने, ‘चाबहिल–गौशाला छिटै सकौँ भनेको निर्माण सामग्रीको अभावसँगै विद्युत् प्राधिकरणले तार अन्डरग्राउन्ड (भूमिगत)को लागि अहिले खन्दै छ। यो सडक खण्ड वर्षात्अघि सक्ने भनेको सकिँदैन होला।’

‘आयोजना अघि बढाउन श्रमिक छैनन्’
महासंघका अध्यक्ष सिंहले ५ हजार आयोजनामध्ये १ प्रतिशत आयोजना पनि सुरु हुन नसकेको बताए। उनले निर्माण सामग्रीको अभावसँगै श्रमिक नै गाउँ फर्किएको कारण काम नभएको बताए।

‘निर्माण क्षेत्रमा काम गर्ने श्रमिक गाउँ फर्किसकेका छन्,’ सिंहले भने, ‘गाउँमा खेतीपातीको काम सुरु भयो अब दशैँअघि ती श्रमिक काममा फर्किँदैनन्।’

नेपालको निर्माण क्षेत्रमा अधिकांश श्रमिक तराईका र भारतीय छन्। तराईका श्रमिक हिँडेरै आफ्नो घर पुगिसकेका छन् भने धेरै भारतीय श्रमिक बोर्डरमा बसेको सिंहको भनाइ छ।

‘निर्माण उद्योग खोले पनि दशैँअघि अब धेरै आयोजना सुरु हुँदैनन्’, उनले भने, ‘आयोजना स्थलमा भएका श्रमिक पनि घर जान पाए हुन्थो भन्ने मानसिकतामा छन्।’

उनले आयोजना स्थलमा बाहिरबाट श्रमिक ल्याउन नपाई काम गर्न नसक्ने बताए।

‘मैले आयोजनालाई अघि बढाउँछु भनेर चितवनमा रहेका आफ्ना श्रमिकलाई धादिङमा ल्याएको थिएँ। त्यहाँको स्थानीय तहले बाहिरबाट आएकाले क्वारेन्टिनमा बस्नुपर्छ भन्यो। अनि अब मैले काम कसरी गर्ने?’, उनले भने ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक उद्योगहरु खोल्न चाहन उद्योगी व्यवसायीलाई स्थानीयस्तरमा सहजीकरण गरिदिन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सार्वजनिक आह्वान गरेको छ।

केन्द्र सरकारले अत्यावश्यक उद्योग खोल्न दिने घोषणा गरे पनि स्थानीयस्तरमा उद्योग सञ्चालनमा कठिनाइ भएको गुनासो आएको भन्दै महासंघले उक्त आग्रह गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .