ad ad

कारोबार


नेपाल वायुसेवा निगम २ अर्ब घाटामा

नेपाल वायुसेवा निगम २ अर्ब घाटामा

वसन्त अर्याल
जेठ १४, २०७७ बुधबार ८:११,

कोरोना भाइरस महामारीका कारण विश्वकै हवाइ सेवा प्रदायक कम्पनीहरु टाट पल्टिने अवस्थामा पुग्दै गर्दा नेपाल वायुसेवा निगम पनि २ अर्ब घाटा व्यहोर्न बाध्य भएको छ।

चैतदेखिको लकडाउनका कारण निगमको चालू आर्थिक वर्षको स्थिति अझै घाटामा पुग्ने देखिएको छ। अर्थ मन्त्रालयले हरेक वर्ष सार्वजनिक संस्थानको कार्यसम्पादन स्थिति समीक्षा गर्ने क्रममा निगम १ अर्ब ९६ करोड रुपैयाँले घाटामा गएको देखिएको हो।

गत वर्षको सार्वजनिक कार्यसम्पादन स्थितिमा निगमले २०७४/०७५ मा २० करोड १६ लाख नाफा गरेको देखिएको छ। मन्त्रालयले २०७५/०७६ मा १ अर्ब २३ करोड नाफा गर्ने अनुमान सोही बखत गरेको थियो।

पूर्ण सरकारी स्वामित्व भएको निगम लक्ष्य प्राप्तिभन्दा माइनस १२३ प्रतिशत तल झरेको छ।

मन्त्रालयले २०७७ मा जारी गरेको समीक्षामा चालू आर्थिक वर्षमा निगमलाई ४१ करोड घाटा हुने देखिएको छ। मन्त्रालयको यो विश्लेषण पनि सही नहुने निश्चित छ किनभने चालू आवमा निगमको घाटा गत वर्षभन्दा बढ्नेछ।

निगमले आर्थिक वर्ष २०७५÷०७६ मा १६ अर्ब ५ करोड आम्दानी गरेको थियो। जसमा कुल सञ्चालन लागत १८ अर्ब ३८ करोड रहेको छ।

निगमले त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको समेत पैसा उठाउने गरेको छ। जहाज उडाएर नाफा गर्न त परै जाओस् गत वर्ष ग्राउण्ड ह्याण्डलिङबापतको पैसा उठाउँदा पनि सञ्चालन खर्च उठाउन सकेन।

निगमको सञ्चालन नोक्सानी मात्रै १ अर्ब ३१ करोड रहेको छ। त्यसमा आयकर र बोनस व्यवस्थापछि खुद नोक्सान १ अर्ब ९६ करोड पुगेको हो।

निगमको प्रशासन खर्च ३ अर्ब, ह्रास कट्टी २ अर्ब ४ करोड, ब्याज खर्च ३ अर्ब ६४ करोड, व्यवस्थापनबापतको खर्च १ अर्ब ६५ करोड खर्च भएको समीक्षा पुस्तकमा उल्लेख छ।

करिब ३९ अर्ब ऋण मात्रै
कम्पनीको खुद स्थिर सम्पत्ति ४३ अर्ब ६९ करोड रहँदा ऋण मात्रै करिब ३९ अर्ब छ। जसमा १ अर्ब ६९ करोड अल्पकालीन ऋण छ भने ३७ अर्ब ६ करोड दीर्घकालीन ऋण छ।

चालू सम्पत्ति ७ अर्ब २७ करोड रहेको निगमको चालू दायित्व ८ अर्ब ८६ करोड छ। सञ्चित घाटा ५ अर्ब ५३ करोड र खुद पुँजी लगानी ४२ अर्ब ११ करोड रहेको छ।

निगमले बैंक तथा वित्तीय संस्थाबाट ४० करोड ऋण लिएको छ भने ३० करोड ७५ लाख ऋण चुक्ता गरेको छ। अन्यतर्फ ७ अर्ब ९८ करोड ऋण उठाएको निगमले १९ करोड ९८ लाख ऋणमात्रै चुक्ता गरेको छ।

३ अर्ब ६० करोड ऋण नेपाल सरकारसँग छ भने बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ६९ करोड तिर्नु बाँकी छ। अन्यलाई ३३ अर्ब ८९ करोड ऋण तिर्नुपर्ने अवस्था छ।

२०७५/७६ मा ४४ करोड ३२ लाख मूल्य अभिवृद्धिकर बुझाए पनि अझै २ करोड १९ लाख मूल्य अभिवृद्धिकर बाँकी नै छ।

‘किस्ता तिर्न नसक्दा घाटा धेरै देखियो’
ऋणमा वाइडबडी सञ्चालन गरेको निगमको व्यवस्थपकीय कमजोरीका कारण तिनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा बढी घाटा भएको हो।

वाइडबडीबाट नाफा होइन सञ्चालन खर्च उठाउनै निगमलाई हम्मे–हम्मे परेको छ। वाइडबडी पूर्ण क्षमतामा लामो दूरीमा उडान भर्नसके मात्रै नाफा कमाउनसक्ने निगमकै कर्मचारी बताउँछन्।

जापान र चीनमा उडाउने लक्ष्यका साथ ल्याइएका वाइडबडीले ०७६ चैतमै चीनमा उडान गर्ने भनेको थियो। यत्तिकैमा कोरोना महामारी सुरु भएपछि चीन उडान अनिश्चित बनेको छ भने जापानको ओसाका उडान गर्दा निगमले घाटा व्यहोर्नुपर्यो।

अहिले निगमले जापानको नारिता उडान गरिरहेको छ तर यो पनि कोरोना महामारीले रोकिएको छ।

हाल देशमा जारी लकडाउनले निगमलाई थप अनिश्चिततातर्फ धकेलेको छ।

निगमका कर्मचारी भने सञ्चालन खर्चले मात्रै करिब २ अर्ब घाटा नभएको बताउँछन्।

‘गत वर्ष हामीले ऋणको किस्ता तिर्न सकेनौं’, निगमका नायब प्रबन्धक गणेश बहादुर चन्दले भने, ‘किस्ता र सञ्चालन खर्च जोड्दा करिब २ अर्ब घाटा देखिएको हो।’

निगमकी प्रवक्ता अर्चना खड्काले पनि सञ्चालन खर्चले मात्रै २ अर्ब घाटा नभएको बताइन्।

‘घाटा के कारण यति धेरै भन्ने व्यवस्थापनले निष्कर्ष निकाल्ला तर सञ्चालन खर्चले मात्रै २ अर्ब घाटा नहुनुपर्ने हो’, उनले भनिन्। निगममा १४ सय ७६ जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .