ad ad

कारोबार


क्वारेन्टिनको लागि होटल छानिए, मापदण्ड अझै बनेन

क्वारेन्टिनको लागि होटल छानिए, मापदण्ड अझै बनेन

वसन्त अर्याल
जेठ २५, २०७७ आइतबार ८:३२,

विदेशबाट फर्किएर होटल क्वारेन्टिनमा बस्न चाहनेलाई होटलको सूची तयार भए पनि ‘होटल सेवा सुरक्षा मापदण्ड’ भने अझै पास हुनसकेको छैन।

जिल्ला प्रशासन कार्यालयले पर्यटकस्तरदेखि ४ तारेसम्मका होटलहरुको सूची सार्वजनिक गरे पनि व्यवसायीलाई मापदण्ड उपलब्ध गराइएको छैन।

शुक्रबारबाट नेपालीलाई स्वदेश फर्काउन थालिसकिएको छ तर होटलमा बस्दा के–के गर्ने, होटलले कसरी सेवा दिने भन्ने विषयसहितको मापदण्ड अझै छलफलकै क्रममा छ।

पर्यटन बोर्डले तयार पारेको होटल सञ्चालन मापदण्ड संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा बुझाए पनि अझै पास हुनसकेको छैन।

बोर्डले बनाएको मापदण्ड क्वारेन्टिनको लागि भन्दा पनि कोभिड १९ पछि होटल व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड हो। उक्त मापदण्डमा पनि सामाजिक दूरी कायम गर्दै कसरी होटल सञ्चालन गर्न सकिन्छ भन्ने स्पष्ट मापदण्ड छ।

‘बोर्डले होटल सञ्चालनसम्बन्धी मापदण्ड पर्यटन मन्त्रालयमा बुझाएको छ’, पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले भने, ‘सम्बन्धित मन्त्रालय तथा निकायमा छलफलपछि पास हुन्छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) होटल सञ्चालनसम्बन्धी मापदण्डलाई छिट्टै अन्तिम रुप दिई मन्त्रिपरिषदले पास गर्ने बताए।

‘बोर्डले तयार पारी मन्त्रालयमा बुझाएको छ’, लामिछानेले भने, ‘मापदण्डमा सीसीएमसीले आवश्यक परिमार्जन गर्दै उच्चस्तरीय समिति वा मन्त्रिपरिषदले नै पास गरेपछि लागू हुन्छ।’

होटल एसोसिएसन नेपाल (हान)ले पर्यटन विभागमा क्वारेन्टिन राख्नसक्ने होटलको सूची बुझाएको थियो। आफ्नै खर्चमा होटलमा बस्न चाहनेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको संकट व्यवस्थापन केन्द्रले प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

सूचीमा काठमाडौं, ललितपुर र भक्तपुरमा ४५ र पोखरा र बुटवलमा एक÷एक क्वारेन्टिन गरी ४७ होटल रहेका छन्। जसमा दुई हजार बढी कोठा रहेका छन्।

‘मापदण्ड आएपछि राख्छौँ’
हानका प्रथम उपाध्यक्ष विनायक शाहले विषम परिस्थितिमा सरकारलाई सहयोग गर्न होटलको सूची बुझाएको बताएका छन्। उनले सरकारले होटलहरुले पालना गर्ने मापदण्ड जारी नगरेको भन्दै मापदण्ड आएपछि होटलमा बस्न चाहनेलाई राखिने बताए।

‘क्वारेन्टिन राख्नु सरकार तथा विदेशबाट फर्किने नेपालीलाई सहयोग त हुन्छ’, उनले भने, ‘तर होटल कर्मचारी र स्थानीयबासीलाई सुरक्षित राख्न मापदण्ड आवश्यक छ। सरकारले दिएको मपदण्ड हामी पालना गर्छौं।’

उनले सरकारले जारी गरेको मापदण्ड व्यवसायीले पालना गर्नसक्ने खालको हुनुपर्ने बताए।

पार्क भिलेज रिसोर्ट बूढानिलकण्ठका निर्देशक धर्मराज अर्यालका अनुसार सरकारले २÷३ दिनभित्र मापदण्ड उपलब्ध गराउने बताएको छ।

‘हामी सरकारलाई सहयोग गर्न तयार भएर रिसोर्ट उपलब्ध गराउने बताएका छौं’, अर्यालले भने, ‘सरकारले अहिलेसम्म मापदण्ड उपलब्ध नगराए पनि २÷३ दिनमा उपलब्ध गराउने बताएको छ।’

उनले व्यवसायीहरुले तयारी गर्नको लागि छिट्टै मापदण्ड उपलब्ध गराउनुपर्ने बताएका छन् ।

हानले सरकारलाई चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रतिबेड ५ हजार ५ सय रुपैयाँ तोकेको छ। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५ सय निर्धारण भएको हानले जनाएको छ।

यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहनेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ।

एकतारेका हकमा भने एक्लै बस्न चाहेनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ छ। साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ।

हानका प्रथम उपाध्यक्ष शाहले होटललाई आवश्यक पर्ने कोभिड १९ सुरक्षा सामग्री सरकारले उपलब्ध गराए उक्त रकममा पनि कमी आउने बताएका छन्। तर सरकारले आफ्नै मेन्यु र मूल्यअनुसारको मापदण्ड बनाउने गरेको बताए पनि अझै मापदण्ड जारी गर्नसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .