ad ad

कारोबार


चुनाव नहुँदा महासंघमा चर्कियो विवाद, असार ८ मा मिति तोक्ने अध्यक्ष राणाको आश्वासन

चुनाव नहुँदा महासंघमा चर्कियो विवाद, असार ८ मा मिति तोक्ने अध्यक्ष राणाको आश्वासन

दीपक भट्ट
जेठ २५, २०७७ आइतबार १४:१४,

निर्वाचन पछि धकेलिँदै जाँदा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा विवाद चर्किंदै गएको छ।

अध्यक्ष भवानी राणाले निर्वाचन टार्न खोजेको आरोप आगामी कार्यसमितिका आकांक्षीहरुले लगाएका छन्। अर्को पक्षकाे चर्को दबाबका बीच अध्यक्ष राणाले असार ८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी छन्। सोही बैठकले निर्वाचनको मिति तोक्ने उनले बताएकी छन्।

चैत २८ मा हुने भनिएको महासंघको निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो। लकडाउन लम्बिँदै जाँदा निर्वाचन पछि धकेलिँदै गएको छ।

पछिल्लो समय जेठ ७ का लागि साधारण सभाको मिति तोकिएको थियो। तर, सो मितिमा पनि निर्वाचन हुन नसकेपछि महासंघको नेतृत्वमा विवाद उत्पन्न भएको हो।

खासगरी वरिष्ठ उपाध्यक्षमा दाबेदारी गरिरहेका चन्द्रप्रसाद ढकाल र उनलाई सघाइरहेका पूर्वअध्यक्ष चण्डीप्रसाद ढकाल, उमेशलाल श्रेष्ठलगायतको समूह अध्यक्ष राणासँग असन्तुष्ट छ।

निर्वाचनको मितिबारे छलफल गर्न गत हप्ता कार्यसमितिको भर्चुअल छलफल आयोजना गरिएको थियो। तर, अध्यक्ष राणाले चुनाव गराउन नचाहेको आरोप लगाउँदै ढकाललायतका केही सदस्य छलफलको बीचमै उठेर हिँडेका थिए।

उनीहरुले अध्यक्ष राणालाई निर्वाचनको मिति तोक्न दबाब दिँदै आएका छन्।

अध्यक्ष राणाले भने अहिलेको अवस्थामा निर्वाचन गराउँदा महासंघकै आलोचना हुने तर्क गरेकी थिइन्। महामारी रोकिएर स्वास्थ्य जोखिम कम भएपछि निर्वाचन गराउनुपर्ने उनको भनाइ थियो। तर, दबाबका कारण उनले असार ८ गतेको कार्यसमितिको बैठकले निर्वाचन मिति तोक्ने आश्वासन दिइन्।

महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले तत्काल निर्वाचन मिति तोकिनुपर्ने बताए।

‘महासंघको मिति छिट्टै तोकिनु पर्छ। लामो समय गुज्रिसकेकाले त्यसको निकास दिन पनि मिति तय हुनुपर्छ,’ उनले भने, ‘अन्य कुरा गरेर अबको छलफलमा पनि टार्न पाइँदैन।’

हरेक जिल्लाबाट एकदुई जना मात्र प्रतिनिधि आउने हुनाले निर्वाचनमा ठूलो स्वास्थ्य जोखिम नहुने एकाथरीको भनाइ छ। फराकिलो स्थान छानेर सामाजिक दूरी कायम राखेर अहिलेकै अवस्थामा पनि निर्वाचन गराउन सकिने नयाँ कार्यसमितिमा जान चाहनेहरु बताउँछन्।

वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार किशोर प्रधानले पनि निर्वाचनको मिति चाँडो तोक्दा राम्रो हुने बताए।

‘असार ८ गते अध्यक्षज्यूले कार्यसमितिको बैठक बोलाउनु भएको छ। त्यसले सायद नयाँ मिति तोक्छ होला,’ उनले भने, ‘लामो समय निर्वाचन पछि धकेलिँदा महासंघ नै अन्यौलमा छ। त्यसैले निर्वाचन मिति तय गर्न जरुरी देखिएको छ।’

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही अनुसार शेखर गोल्छा यो साधारण सभाबाट स्वतः अधयक्ष हुँदै छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि भने किशोर प्रधान र चन्द्रप्रसाद ढकालबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .