ad ad

कारोबार


विदेशमा दुःख पाएर उद्धार गर्न लागिएका नेपालीसँग दोब्बर भाडा असुलिँदै

विदेशमा दुःख पाएर उद्धार गर्न लागिएका नेपालीसँग दोब्बर भाडा असुलिँदै

वसन्त अर्याल
जेठ ३०, २०७७ शुक्रबार ७:११,

विदेशमा दुःख पाएर उद्धार गर्न लागिएका नेपालीसँग सरकारले दोब्बर भाडा लिने निर्णय गरेको छ। कोभिड १९ को कारण विदेशमा काम गुमाएकाहरुलाई उद्धार गर्न सामान्य अवस्थाभन्दा दोब्बर भाडा तोकेको हो।

सरकारले पहिलो चरणमा करिब २५ हजारलाई उद्धार गर्ने समयतालिका सार्वजनिक गरेको छ। आगामी आइतबार (१४ तारिख)बाट बंगलादेशबाट उद्धार सुरु गर्ने निर्णय गरेको छ।

तर दुःख पाएर वा अप्ठ्यारोमा परेर फर्किने आफ्ना नागरिकसँग दोब्बर भाडा लिन लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

विदेशी कम्पनी वा देशले पठाउँदा उनीहरुले नै भाडा तिरिदिने तर सरकारले आफ्ना नागरिकको निःशुल्क उद्धार गर्नु त कहाँ हो कहाँ उच्च भाडा लिने निर्णय गरेको छ।

सरकारले विदेशमा अप्ठ्यारोमा परेकालाई जहाज र भाडा निर्धारण गरेको छ। तर जहाजको भाडा कामदारले काम गर्ने कम्पनी, कामदार पठाउने म्यानपावर वा कामदार स्वयंले तिर्नुपर्ने बताएको छ।

गत शुक्रबार युएईको कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काएको थियो भने म्यान्मारमा रहेका नेपालीलाई पनि उसैले ल्याइदिएको थियो।

हिजो (बिहीबार)मात्रै कुवेतले उनीहरुकै खर्चमा ३ सय जनालाई नेपाल ल्याइदिएको छ। आज (शुक्रबार) करिब डेढ सय जना पठाएको छ। अझै करिब २५ सय जना उसैको खर्चमा पठाउन लागेको छ।

सरकारी निर्णयले कोभिड १९ का कारण रोजगारी गुमाएका, जेलमा बसेर छुटेका वा माफी पाएकालाई समेत आफ्नै खर्चमा आउनुपर्ने अवस्था आएको छ। अहिले उद्धार गर्ने सूचीमा अधिकांश रोजगारी गुमाएका, जेलबाट छुटेका नेपाली छन्।

कोभिड १९ले कम्पनीमा कामविहीन हुँदा खान बस्न समेत दुःख पाएका नेपाली कसरी आउँछन् भन्ने चिन्ता सरकारले देखाएको छैन।

२४ हजारमा उड्नेले ६१ हजार तिर्नुपर्ने
हवाइ यात्रुको चाप तथा हवाइ इन्धनको कारण अन्तर्राष्ट्रिय हवाइ भाडा दर तलमाथि हुने गर्छ। तर दोब्बरभन्दा बढी भाडा सामान्यतया बढ्दैन।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको भाडादर भने अत्यधिक महंगो छ। यसले कोभिड १९ ले व्यापार ठप्प भएका हवाइ कम्पनीलाई फाइदा त हुन्छ तर विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई भने न्याय गर्दैन।

चैतसम्म मलेसिया तथा खाडी मुलुकमा २५ हजारदेखि ३० हजारसम्म धेरै नेपाली जाने÷आउने गरेका थिए। तर सरकारले तोकेको मलेसिया तथा खाडी मुलुकको भाडा ६० हजारदेखि ७० हजारसम्म रहेको छ।

‘तीन महिना पहिले म नेपाल एयरलायन्सको जहाजमा दुवई आउँदा २४ हजारमा आएको थिएँ’, दुवईमा सेक्युरिटीमा काम गर्ने एक नेपालीले भने, ‘अहिले ६१ हजार भाडा तोकेको देखेर अचम्म लाग्यो।’

सरकारले विदेशमा संकट अवस्थामा भएका नेपालीलाई उद्धारको लागि सबैभन्दा सस्तो भाडा बंगलादेशको २० हजार तोकेको छ।

त्यस्तै रोजगारीका लागि गएर हाल कामविहीन बनेका नेपाली ल्याउन साउदी अरब ७२ हजार, रियाद ७७ हजार, दुवई ६१ हजार, आबुधाबी ६१ हजार, ओमान ६२ हजार, क्वाललम्पुर ६३ हजार ५ सय, दोहा ६६ हजार ५ सय, दिल्ली २५ हजार, मुम्बई ३८ हजार, बैंगलोर ४१ हजार भाडा तय गरेको छ।

दशैं तिहारको समय हुने भाडाभन्दा सस्तो छ : अर्चना खड्का
सरकारले विदेशबाट नेपाली ल्याउनको लागि नेपाल वायुसेवा निगमका २४, हिमालयका १९ र विदेशी एयरलाइन्सका २४ उडान गर्ने निर्णय गरेको छ। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले संस्कृति, पर्यटन मन्त्रालयमा भाडा दर बुझाएअनुसार मन्त्रालय भाडा तोकेको हो।

‘चार्टर्ड उडान हुने भएकाले एकातर्फ मात्रै यात्रु हुन्छन्। तर हाम्रो सञ्चालन खर्च दुईतर्फकै हुन्छ’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘दशैँ तिहारमा एकतर्फी यात्रा गर्नेले अहिलेको मूल्यभन्दा बढी नै भाडा तिरेर आउनुपथ्र्यो।’

उनले अहिले सरकारले तोकेको भाडा सामान्य अवस्थामा अधिकतम हुने भाडाभन्दा पनि कम भएको बताइन्।

‘हवाइ भाडा क्लासअनुसार फरक–फरक हुन्छ। इकोनोमी क्लासमै पनि फरक–फरक मूल्य हुन्छ। पहिला जाँदा कसैले मौकाले सस्तोमा सिट पाउनुभयो होला’, खड्काले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .