ad ad

कारोबार


गुणस्तरहीन चिनी आयातमा भन्सार कर्मचारी र खाद्य प्रविधि महानिर्देशकको शंकास्पद भूमिका

गुणस्तरहीन चिनी आयातमा भन्सार कर्मचारी र खाद्य प्रविधि महानिर्देशकको शंकास्पद भूमिका

दीपक भट्ट
जेठ ३२, २०७७ आइतबार ८:३०,

गत वर्ष अन्त्यतिर भएको गुणस्तरहीन चिनी आयातमा महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यको भूमिका शंकास्पद देखिएको छ।

शिवराज तिमिल्सिना प्रोपाइटर रहेको अनुश्का मल्टिप्रपोज कम्पनीले आयात गरेको ७२ हजार १ सय ४० किलो चिनी न्यून गुणस्तरको रहँदारहँदै पनि भन्सार कार्यालयले छोडिदिनु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालाले ‘गुणस्तर’ पहिचान दिएको पाइएपछि दुवै कार्यालयको भूमिका शंकास्पद देखिएको हो।

यो विषयमा राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ। विभागले भन्सार कार्यालयका को–को यसमा संलग्न छन्, कसरी अनुमति दिइयो भन्ने अनुसन्धान गरिरहेको छ। त्यस्तै, उक्त चिनीलाई प्रयोग गर्न सकिने रिपोर्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कसरी दियो भन्ने समेत अध्ययन भइरहेको विभागले जनाएको छ।

महानिर्देशक मतिना जोशी वैद्य आफैँले उक्त रिपोर्टमा हस्ताक्षर गरेकोले उनलाई समेत केन्द्रमा राखेर राजस्व विभागले अनुसन्धान गरिरहेको छ।

नेपाल भित्रिने क्रममा गत वर्ष फागुन २५ गते उक्त चिनी नियन्त्रणमा लिइएको थियो। भन्सारमै अवस्थित खाद्य प्रविधि विभागको गुणस्तर मापन कार्यालयले कम गुणस्तरको रिपोर्ट दिएको तर सोही कार्यालयको केन्द्रीय प्रयोगशालाले भने ‘खानयोग्य’ देखाएको थियो।

उक्त चिनी नियन्त्रणपछि त्यसको आधिकारिक परीक्षणको लागि नमूना काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याउँदा बरामद भएको चिनी प्रयोग गर्नसक्ने खालको देखिएको रिपोर्ट खाद्य विभागले दिएको थियो।

तर यसमा धेरै कुराहरु जोडिएको हुनसक्ने आँकलनका साथ राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

आयातकर्ता कम्पनीले यो चिनी भारतको उत्तर प्रदेशस्थित बहराइचबाट ल्याएको हो। उक्त जिल्लाबाट आयात गर्दा नेपालको सबैभन्दा नजिकको नाका भनेको नेपालगञ्ज हो। तर किन महोत्तरीसम्म पुग्यो भन्ने आफैँमा शंकास्पद देखिएको राजस्व अनुसन्धानको भनाइ छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘यदि नेपालगञ्जबाट ल्याइएको थिएन भने पछि आउनसक्ने भनेको सुनौली नाकाबाट हो।

तर यति धेरै परबाट नेपाल भित्रिन खोज्नु भनेको आफैँमा शंकास्पद रहेको देखिन्छ।’ सोही आधारमा राजस्व अनुसन्धानले समातेको र अहिले पनि अनुसन्धानको क्रममा राखिएको उनले नेपालखबरलाई जानकारी दिए।

को हुन् आयातकर्ता?
अनुश्का मल्टिप्रपोज कम्पनीले उक्त चिनी आयात गरेको देखिन्छ। यसका प्रोपाइटर शिवराज तिमिल्सिना रहेको कम्पनी रजिस्ट्रारमा उल्लेख छ। २०६५ सालमा दर्ता भएको यो कम्पनीले आयातनिर्यातसम्बन्धी काम गर्ने गर्छ। तर अनुसन्धानका क्रममा उनले पनि कसैको व्यवसायको लागि आयात मात्रै गरेको हुनसक्ने देखिएको छ। राजस्व अनुसन्धानले गरेको अध्ययनमा तिमिल्सिनाले कार्गो वस्तुको अर्डर लिएर सामान आयात गर्ने काम गर्दै आएको देखिएको छ। उनी कार्गो व्यवसायसँग पनि सम्बन्धित रहेको देखिएको छ।

अहिले कहाँ छ बरामद चिनी?
राजस्व अनुसन्धानले समातेको ७२ हजार १ सय ४० किलो चिनी अहिले पथलैयामा छ। राजस्व अनुसन्धान पथलैयाका शाखाले नै उक्त चिनी समातेको थियो। उसले समातेर आफ्नो कार्यालय परिसरमा नै चिनी राखेर अनुसन्धान गरिराखेको छ।

अहिले एक जना राजस्व अनुसन्धान अधिकृतको टिम नै बनाएर यो विषय हेरिरहेको महानिर्देशक मैनालील बताए। यो टोलीले दिएको प्रतिवेदनअनुसार को–कोविरुद्ध मुद्दा कसरी चलाउने भन्ने निर्णय हुने उनले बताए। यसमा तीनवटा विषय केन्द्रित रहेको उनको भनाइ छ।

यो काम कि भन्सार छल्न भन्सारको कर्मचारीसँग मिलेमतो भएको छ कि गुणस्तरको सौदाबाजी गर्न खाद्य प्रविधिसँग मिलेमतो भएको छ वा दुवै हुनसक्ने समेत देखिएको छ। त्यसकारण तीनवटा विषय केन्द्रित रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .