ad ad

कारोबार


कोलकाता हुँदै नेपाल आउनुपर्ने मल पुग्यो गुजरात, यता चरम अभाव

कोलकाता हुँदै नेपाल आउनुपर्ने मल पुग्यो गुजरात, यता चरम अभाव

दीपक भट्ट
जेठ ३२, २०७७ आइतबार १५:५४,

नेपालले ग्लोबल टेन्डरमार्फत आयात गरेको रासायनिक मल आइपुग्न अझै दुई महिना लाग्ने देखिएको छ।

कोलकाता बन्दरगाह हुँदै आउनु पर्ने मल गुजरातको कान्डला बन्दरगाह पुगेपछि मल समयमै नेपाल नआइपुग्ने भएको हो। जसका कारण नेपालमा मलको चरम अभाव हुने देखिएको छ।

विशेषगरी धानमा युरिया मल प्रयोग गरिन्छ। तर, सो मल आयातमा गडबडी भएपछि नेपालमा अभाव देखिन थालिसकेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य सामाग्री कम्पनी लिमिटेडले सरकारको कृषि मन्त्रालयको अनुदानमा मल आयात गर्ने गर्छ।

यो वर्ष यी दुई संस्थाले समयमा नै टेन्डर प्रक्रिया सुरु गरेर मलको आयात गरेको थियो। सोहीअनुसार वैशाखको सुरुमा नै कोलकाता बन्दरगाहनजिक मल आइपुगेको थियो।

तर, लकडाउनका कारण भारतीय बन्दरगाहमा कर्मचारी अभाव थियो। थोरै कर्मचारी भएपछि कोलकाता बन्दरगाह अति व्यवस्त बन्यो। जसले गर्दा बन्दरगाह पुग्नुअघि नै जहाजहरुको १० किलोमिटर लामो लाइन लाग्यो।

लाइन लम्बिँदै गएपछि अधिकारीहरुले जहाज नै अन्य बन्दरगाहतर्फ मोडिदिए। त्यसैले नेपालको मल बोकेर आएको जहाज गुजरात पुग्यो।

अब उक्त मल नियम अनुसार पालो पर्खेर पुनः कोलकाता हुँदै आउने हो भने कम्तीमा २ महिना लाग्ने साल्ट ट्रेडिङका प्रबन्धक ब्रजेशकुमार झा बताउँछन्।

मल पुगेको कान्डला बन्दरगाह नेपालले प्रयोग गर्न पाउँदैन। भारतले नेपाललाई कोलकाता र विशाखापटनम बन्दरगाह मात्रै प्रयोगको अधिकार दिएको छ। नेपालले उडिसाको धामरा र गुजरातकै मन्द्रा बन्दरगाह मागिरहेको छ। तर, उसले अहिले सम्म दिएको छैन।

‘तर, अहिलेको संकट टार्न कान्डला बन्दरगाह नेपालले प्रयोग गर्नुपर्ने हुन्छ,’ झा भन्छन् ‘यो बन्दरगाह प्रयोग गर्ने हो भने बढीमा १ हप्तामा नेपालमा मल आइपुग्छ। तर यो कूटनीतिक पहलबिना सम्भव छैन।’

त्यसका लागि सरकारले वाणिज्य दूतावासमार्फत भारतलाई पत्र समेत पठाइसकेको छ।

सो मल ल्याउन मात्र कान्डला बन्दरगाहको प्रयोग अनुमति दिन आग्रह गर्दै पत्र पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

कति मल रोकिएको छ?
साल्ट ट्रेडिङले ले ओमानबाट ल्याएको २२ हजार मेट्रिक टन मल गुजरात पुगेको हो। नेपालमा रहेको करिब १० हजार मेट्रिक टन मलले आयातित मल नआइपुगुन्जेल धान्न आकलन कृषि मन्त्रालयले गरेको थियो।

नेपाललाई वार्षिक ६० हजार मेट्रिक टन मल आवश्यक पर्छ। कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको ५० हजार मेट्रिक टन मल आयातको प्रक्रियामा छ।

मागभन्दा बढी मल आयात हुने भन्दै कृषि मन्त्रालयले ढुक्क थियो। त्यसैले मन्त्री घनश्याम भुसालले पनि यस पटक मल अभाव नहुने बताएका थिए।

तर, गुजरातमा मल अड्किएसँगै नेपालमा अघिल्ला सालहरुमा भन्दा चर्को अभाव हुने देखिएको हो।

विगतमा साल्ट ट्रेडिङले समयमै ल्याए पनि खाद्य सामग्री कम्पनीको जिम्मामा हुने मल आउन ढिला हुने गरेको थियो। त्यसैले केही स्थानमा अभाव हुने गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .