ad ad

कारोबार


चाबहिलबासीलाई सकस : आधामात्रै कालोपत्रे हुँदा यो वर्ष पनि हिलोमै यात्रा गर्नुपर्ने!

चाबहिलबासीलाई सकस : आधामात्रै कालोपत्रे हुँदा यो वर्ष पनि हिलोमै यात्रा गर्नुपर्ने!

वसन्त अर्याल
असार १, २०७७ सोमबार ८:२,

चाबहिल–गौशाला सडकखण्ड यो वर्ष पनि वर्षातमा हिलाम्मे हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठभित्र चाबहिल सडकखण्ड कालोपत्रे गरिसक्ने दाबी गरे पनि आधामात्रै काम सम्पन्न गरेको छ।

कालोपत्रे गर्न तयार भएको सडकमा विद्युत् प्राधिकरणले खनिदिँदा कालोपत्रे गर्न नसकेको मन्त्रालयले बताएको छ। काठमाडौंका अधिकांश सडक बनाउँदा पनि मन्त्रालयले योे सडकखण्ड कालोपत्रे गर्न नसकेको हो।

गौशाला–चुच्चेपाटी तथा चाबहिल–गोपीकृष्ण सडक खण्ड बिग्रिएको ५ वर्ष बढी भएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धूलो त्यहाँका बासिन्दा तथा ओहोरदोहोर गर्ने भोग्दै आएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले भौतिक पूर्वधार तथा यातायात मन्त्रालय सम्हालेपछि धेरै सडक कालोपत्रे तथा ओभरले हुँदा चाबहिलबासीले पनि कालोपत्रे हुने विश्वास गरेका थिए।

मन्त्रालयको १०० दिने उपलब्धिमा मन्त्री नेम्वाङले ‘सबैले हेर्दै जानु चालू आर्थिक वर्षभित्र गौशाला–चाविल–चुच्चेपाटी सडक बन्छ’ भनेका थिए। उनले खानेपानी मन्त्रालयसंगको समन्वयमा उक्त क्षेत्रमा खानेपानीका पाइपको समस्या समाधान गर्दै सडक बन्ने बताएका थिए।

खानेपानी र भौतिक पूर्वाधार मन्त्रालयको समन्वयमा ठेक्का लगाए पनि खानेपानीको काम पूरा भयो तर कालोपत्रे भने हुनसकेन।

भौतिक पूर्वाधार मन्त्रालयले लकडाउनको कारण निर्माण सामग्रीको अभाव तथा विद्युत् प्राधिकरणले बाटो खनिदिँदा कालोपत्रे हुन नसकेको दाबी गरेको छ।

उक्त सडक हेर्ने काठमाडौं डिभिजन कार्यालयले सबै सडक बनाउँदा पनि उक्त सडक बनाउन सकेन। चालू आर्थिक वर्षमा मात्रै काठमाडौंका करिब ४१ किमि सडक बनाउँदा उक्त क्षेत्रमा समन्वयको अभावले बन्न सकेन ।

‘हामीले गौशाला–मित्रपार्क ३ सय मिटर कालोपत्रे ग¥यौं’, सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘मित्रपार्कदेखि चुच्चेपाटीमा कालोपत्रे गर्ने सम्भावना यो वर्षलाई सकियो।’

डिभिजन कार्यालय चाबहिल–गोपिकृष्ण सडक खण्डको कालोपत्रे गरिसकेको छ। सबै सडक एउटै ठेक्का भए पनि आधा पनि काम भएको छैन।

कुवेर नेपालीले मित्रपार्कदेखि चाबहिलसम्म पूरा कालोपत्रे नभए पनि हिलो नहुने व्यवस्था गर्ने तयारी गरेको भन्दै चाबहिल–चुच्चेपाटी हिलाम्मे हुने बताए।

‘हामीले कालोपत्रे गर्न तयार पारेको सडक आएर विद्युत् प्राधिकरणले खनिदियो। अहिलेसम्म सडकमा काम गरिरहेको छ’, नेपालीले भने, ‘प्राधिकरणले बल्ल खाल्डा पुर्न सुरु गरेको छ। उसले काम सकेपछि हामीले काम गर्नको लागि वर्षात् लाग्यो पिच गर्ने समय छैन।’

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त क्षेत्रमा १५ दिनमा काम सकिने बताएका थिए। तर करिब २ महिना लगाएर बल्ल काम सकेका छन्।

चाबहिलबासी अमृता लम्सालले सडक सदावहार हिलाम्मे हुने र फुटपाथ पनि साँघुरा हुँदा चाबहिलबासी दुःख पाइरहेको बताइन्। उनले सडक बनिरहेको बेला फुटपाथ बनाउने विषयमा कसैले ध्यान नदिएको भन्दै आक्रोश पोखेकी छन्।

मौसमले साथ दिए पुतलीसडक कालोपत्रे
कुवेर नेपालीले काठमाडौंका ४१ किमि सडकमा चैतभित्र ओभरलेको काम सक्ने गरी काम भइरहेको फागुनमा नेपालखबरलाई बताएका थिए। चैत ११ गते लकडाउन हुँदासम्म करिब ३० किमि सडक कालोपत्रे गरिसकिएको थियो भने करिब ११ किमि सडक बाँकी थियो।

लकडाउपछि डिभिजन कार्यालयले कामलाई निरन्तरता दिँदै बाँकी १० किमिमा पनि कालोपत्रे गर्ने कामसँगै सडक रोड मार्किङ गरेर आकर्षक बनाएको छ। तर लगभग मित्रपार्क–चुच्चेपाटी र पुतली सडक खण्डगरी करिब १ किमि सडक भने कालोपत्रे गर्न सकेको छैन।

‘पुतली सडकमा कालोपत्रे गर्न पूरा तयारी भएको छ। ‘बेस हाल्ने काम भएको छ । दुई दिन सुक्न पायो भने कालोपत्रे हुन्छ,’ नेपालीले भने, ‘तर लगातार पानि पर्यो भने वर्षाभरी कालोपत्रे हुँदैन।’

पुतली सडकमा ढल निकासको राम्रो व्यवस्था नहुँदा वर्षातमा बाटोमाथि ढल बगिरहन्थो । हाल वर्षात् हुँदा पनि उक्त सडक ‘जलमग्न’ हुन छाडेको छ।

‘असार १ देखि सबै कालोपत्रेका काम रोक्न भनेका थियौँ। पुतली सडक र चाबहिलमा काम गर्ने अवस्था आयो। असारे विकास नगर्ने योजना बनाएका थियौं,’ कुवेर नेपालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .