ad ad

कारोबार


नेपाली वस्तु निर्यातमा भारतको अघोषित बन्देज, जोगबनीदेखि पूर्वका नाकामा अवरोध

नेपाली वस्तु निर्यातमा भारतको अघोषित बन्देज, जोगबनीदेखि पूर्वका नाकामा अवरोध

दीपक भट्ट
असार ५, २०७७ शुक्रबार १६:४२,

भारतले अघोषित रुपमा नेपाली वस्तु निर्यातमा बन्देज लगाउन थालेको छ।

नेपालको सबैभन्दा धेरै निर्यात गर्ने वस्तुलाई लक्षित गरी भारतले नाकामा अवरोध गर्न सुरु गरेको हो।

जोगबनी नाका र सोभन्दा पूर्वका नाकामा भारतले नेपाली वस्तु निर्यातमा अवरोध गरिरहेको छ।

विशेषतः भारतले नेपालबाट निर्यात हुने पाम आयल, चिया, अलैँची लगायतको वस्तुमा बन्देज लगाएको हो।

भारतले विदेशबाट पाम आयल आयात प्रतिबन्ध लगाए पनि नेपाललाई भने खुल्ला गरेको थियो। तर वैशाखदेखि नेपालबाट भारतले पाम आयल प्रवेश गर्न दिएको छैन।

लकडाउनपछि भारतले नेपाली वस्तु निर्यातमा समस्या खडा गर्न थालेको हो। वैशाखको अन्तिम हप्तादेखि नेपालको पाम आयल भारत छिर्नै दिइएको छैन। त्यही बेलादेखि भारतले नेपालको चिया निर्यातलाई पनि अवरोध गर्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, अहिले अलैँचीमा पनि अवरोध गरेको छ।

नेपाली वस्तु निर्यातमा भारतले अवरोध गरेको गुनासो भन्सार विभागबाट अर्थ मन्त्रालय हुँदै वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म आइएको एक अधिकारीले बताए। यी सामान बोकेका करिब ३० वटा ट्रक गत सातादेखि मेची भन्सारमा रोकिएको उनले बताए।

भारतको भन्सारले पास नगरेपछि मेची नाका तथा जोगबानीमा चिया अलैँची, अम्रिसोलगायतका वस्तु रोकिएका छन्। भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार भारतले यस्ता वस्तु प्रवेशमा गत महिनादेखि गर्न आनाकानी गरिरहेको छ। एकैपटक अधिक मात्रामा वस्त निर्यात भएको खण्डमा भने प्रवेश दिएको छ। तेस्रो मुलुक पठाउन लागिएको वस्तु समेत रोकिएको घिमिरेले बताए।

नेपाली वस्तु भारततर्फ निर्यातमा अवरोध गरिएको विषयमा भारतलाई जानकारी दिइसकिएको छ।

पाम आयल र चिया निर्यातमा गरिएको अवरोधबारे वैशाखमै वाणिज्य मन्त्रालयले परराष्ट्रमार्फत भारतको केन्द्र सरकारलाई पत्र पठाएको छ।

सो समस्या समाधान गर्न दिल्लीस्थित नेपाली दूतावासलाई समेत खबर गरिसकिएको मन्त्रालयको भनाइ छ।

भारतको केन्द्र सरकारकै निर्देशनमा चाहिँ सो अवरोध नभएको हुनसक्ने वाणिज्य मन्त्रालयको आकलन छ।

‘स्थानीय तहका सरकार र नाकामा कार्यरत कर्मचारीहरुले नेपालको नक्साको प्रसंग आएपछि विभिन्न बहना बनाउँदै क्षणिक अवरोध गरेको हुनसक्ने आकलन छ,’ ती अधिकारीले भने। यद्यपि बाधा हटाउन केन्द्रबाटै पहल आवश्यक रहेको उनले बताए।

नेपालले वर्षमा करिब सवा खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गर्छ। जसमा २० अर्बभन्दा बढीको हिस्सा पाम आयलले ओगटेको छ। त्यस्तै, अलैँची ४ अर्ब र चिया ३ अर्बको निर्यात हुने गर्छ।

यी नेपालका मुख्य निर्यातजन्य वस्तु हुन्। त्यस्तै नेपालबाट धेरै निर्यात हुनेमा नेपाली धागो पनि पर्छ। जुन वार्षिक ८ अर्ब बराबरको निर्यात हुने गर्छ र त्यो प्रायः पूर्वी नाकाबाट बाहिरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .