ad ad

कारोबार


‘कोरोनाबाट बच्न यातायातको उत्तम विकल्प साइकल’

‘कोरोनाबाट बच्न यातायातको उत्तम विकल्प साइकल’

वसन्त अर्याल
असार १०, २०७७ बुधबार १०:११,

कोभिड १९ बाट बच्न स्वास्थ्य र सामाजिक दूरी अत्यावश्यक छ।

शरीर स्वच्छ राख्नको लागि व्यायामका साथै वातावरण पनि सफा हुनु आवश्यक छ। दुवै कुरा साइकल चलाउँदा प्राप्त हुन्छ।

साइकलमा ‘पैडलिङ’को लागि खुट्टाले काम गर्छन्, पेट्रोलियम पदार्थको आवश्यक पर्दैन। पेट्रोलियम पदार्थ खर्च नहुँदा वातावरण सफा हुन्छ, रोग लाग्ने समस्या पनि कम हुन्छ।

सामान्यतया साइकलमा एक जनामात्रै यात्रा गर्ने हुँदा कोरोना संक्रमण सर्ने जोखिम पनि कम हुन्छ।

फोक्सो र इम्युनिटी पावर कम भएकालाई कोभिड १९ को संक्रमण धेरै देखिएकोले साइक्लिङ गर्दा दुवै कुराको फाइदा लिन सकिने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्।

कोरोनासँग लड्ने क्षमताको विकासका लागि ‘इम्युनिटी’ बढाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने उनले बताए। साइकल प्रेमी समेत रहेका दीक्षित साइकल यात्री वा हिँड्नेलाई कोभिड १९ कम सर्ने अध्ययनले देखाएको बताउँछन्।

उनले साइकल चलाएर भीडभाडमा जाँदा भने जहिले पनि सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउन सुझाव दिए। साइकल समाजको अन्तर्क्रिया कार्यक्रममा दीक्षितले लकडाउनको समयमा साइकल चढ्ने बढेको बताए।

samir mani cycling

‘अहिले मोटरसाइकल र माइक्रो सडकमा कम हुँदा साइकल यात्रीलाई सहज भएको छ’, उनले भने। नेपाल साइकल समाजका अध्यक्ष रत्नराम श्रेष्ठले लकडाउनपछि साइकल चलाउने टे«न्ड बढेको भन्दै सार्वजनिक यातायात नखुलेको साथै सबैले मोटरसाइकल र कार चढ्न नसक्ने अवस्थामा साइकल उत्तम विकल्प बनेको बताए।

‘अहिले मुख्यतः ‘भुइँ मान्छे’को यातायातको साधन साइकल भएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘तर पूर्वाधार नहुँदा विदेशमा जति बढेको छ त्योअनुसार यहाँ बढ्नसकेको छैन। साइकल लेन, पार्किङ गर्ने ठाउँ छैन जसले गर्दा साइकलको प्रयोग धेरै बढ्नसकेको छैन।’

साइकल अभियन्ता सौरभ ढकाल ढिला भए पनि सरकारले साइकल यात्रीलाई केही राहात हुने काम गरेको बताउँछन्। ‘कोभिड १९ व्यवस्थापन केन्द्रले असार १ देखि लकडाउन खुकुलो गर्दा पैदलयात्री र साइकललाई प्राथमिकता लिएर आयो’, ढकालले भने, ‘कोभिड १९ पछि नेपालमा पनि साइकलको प्रयोग बढ्यो बढेन भनेर हेर्ने निकाय त छैन तर उपत्यकामा अहिले पहिलेभन्दा साइकल धेरै देखिन्छन्।’

उनले सरकारले नीति तथा कार्यक्रम वा बजेटमा साइकलसम्बन्धी स्पष्ट व्यवस्था गर्नसकेको भए अझै बढ्ने सम्भावना रहेको बताए।

saurabh dhakal cycling

पूर्वाधार विकास ‘साइकलमैत्री’ छैन
साइकलिस्ट ढकालले कोभिड १९को समयमा विदेशका सडकमा साइकललाई प्राथमिकता दिन डिभाइडर राखेर साइकल यात्रीलाई सहजीकरण गरियो तर नेपालमा भने यस विषयमा यातायात मन्त्रालयले वा पालिकाहरुले सोच नबनाएको बताए।

‘अहिले ट्राफिक चाप कम भएको बेला डिभाइडर राखेर साइकलको लागि बाटो छुट्याइदिएको भए लकडाउन खुलेपछि गाडीहरुले पनि साइकलको लागि छुट्याइएको लेनमा गुड्थे र साइकल संस्कृति विकास हुन सक्थ्यो’, उनले नेपालखबरसँग भने।

साइकल समाजका अध्यक्ष श्रेष्ठले नेपालमा योजनाबद्ध विकास नहुँदा साइकलसम्बन्धी पूर्वाधार बन्न नसकेको बताए।

‘नीति तथा कार्यक्रम तथा घोषणापत्रमा उल्लेख गरेका छन् तर त्यसलाई कार्यान्वयन भने गर्न तत्पर देखाउनसकेका छैनन्’, श्रेष्ठले भने, ‘सडक हेर्ने निकाय धेरै छन् एक आपसमा समन्वय नहुँदा कसैले गर्छु भन्दा पनि गर्न सक्ने अवस्था छैन।’

डा. दीक्षितले नीतिनियम बनाउनेलाई साइकल पूर्वाधार बनाउने विषयमा जानकारी कम हुनसक्ने भन्दै त्यसको लागि साइकलयात्रीले नै दबाब तथा लबिङ गर्नुपर्ने बताए।

मानिसमा ‘साइकल सोच’को विकास आवश्यक
सरकारले लकडाउन खुकुलो बनाउँदा सार्वजनिक यातायात खोल्ने अनुमति दिएको छैन। तर सडक आधा खालीको अवस्थामा पनि साइकलको लागि छुट्टै कुनै व्यवस्था गरेको छैन। जसले साइकलमा हिँड्नेले सुरक्षित महशुस गर्न पाएका छैनन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले काठमाडौंका सडक चिल्ला त बनाए तर साइकलमैत्री बनाउनसकेका छैनन्। मन्त्री नेम्वाङ सडक चिल्ला बनाएर हाई हाई पाएको बेला साइकलसम्बन्धी व्यवस्था गर्न चुकेको साइकलयात्री बताउँछन्।

साइकलिस्ट ढकाल पनि नीति निर्माण तहमा रहेका मानिसमा ‘कार सेन्ट्रिक माइन्ड’ भएको बताउँछन्। डा. बाबुराम भट्टराईले काठमाडौंका सडक चौडा बनाएर जाम कम हुन्छ भनेर चौडा गरे तर अहिले जाम कम भएको छैन। उनले भने, ‘हाम्रो सोचाइ जहिले पनि गाडीलाई कसरी सहज रुपमा गुड्न दिने भनेर सोचियो तर स्वच्छ वातावरणसहितको सर्वसाधारणको यात्रामा कहिलै ध्यान दिइएन।’

साइकललाई प्रवद्धर्न गर्न स्थानीय सरकारलाई दबाब दिनुपर्ने दीक्षित बताउँछन्।

मन्त्रालय वा नगरपालिकाबाट जाँदा काम हुन नसकेको हुँदा अब वडा कार्यालय वा वडा अध्यक्षबाटै साइकलमैत्री पूर्वाधारको लागि दबाब आवश्यक रहेको उनको भनाइ छ।

उनले केन्द्रमा सय जनाले दबाब दिँदा केही फरक नपर्ने तर वडामा १०० जनाले लबिङ गर्दा काम हुने सम्भावना बढी हुने बताए।

उनले अन्य गाडी सहज रुपमा चल्न नपाएको अवस्थामा साइकल यात्री बढेको भन्दै सबै गाडी चल्दा साइकल यात्रा फेरि कम हुने चिन्ता व्यक्त गरे।

‘कोभिड १९ को समयमा मात्रै होइन, मानसिक र शारीरिक स्वास्थ्यको लागि साइकल एकदमै राम्रो हो’, उनले भने, ‘छोटो दूरीको यात्राको लागि किन बाइक वा गाडी आवश्यक पर्यो?’

महानगरको नीति तथा कार्यक्रममा साइकललाई प्रोत्साहन
मेयर विद्यासुन्दर शाक्यले चुनावको घोषणापत्रमा साइकलाई प्रोत्साहन गर्ने उल्लेख गरे पनि ३ वर्ष बित्दा कुनै नौलो काम भने गर्नसकेका छैनन्। तर आगामी वर्षको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारणले संक्रमणको जोखिम नबढोस् भनेर महानगरवासीलाई साइकल चढ्न प्रोत्साहन गर्ने भएको छ।

‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएको हुँदा महानगरवासीलाई साइकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ। महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने नीति लिइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ।

माइतीघरदेखि तीनकुनेसम्म छुट्टै साइकल लेन बनाएको महानगरले र त्रिपुरेश्वरदेखि महाराजगञ्जमा साइकल लेनको लागि अध्ययन गरिरहेको बताएको छ।

ललितपुर महानगरले साइकलसम्बन्धी छुट्टै लेन बनाउँदै छ। तर साइकलको लागि छुट्टै कानुन बनाउँन खोज्दा राजनीतीकरण गरी अगाडि बढाउन दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .