ad ad

कारोबार


स्वदेशी उद्योगको क्षमता विस्तारसँगै ७० प्रतिशतले घट्यो क्लिंकर आयात

स्वदेशी उद्योगको क्षमता विस्तारसँगै ७० प्रतिशतले घट्यो क्लिंकर आयात

सन्तोष न्यौपाने
असार २१, २०७७ आइतबार १६:५७,

मुलुकमा सञ्चालित ठूला सिमेन्ट उद्योगले उत्पादन बढाएसँगै क्लिंकर आयात ह्वात्तै घटेको छ।

चालू आर्थिक वर्षको ११ महिनामा मुलुकमा भित्रिने क्लिंकरको आयात ७० प्रतिशतभन्दा धेरैले घटेको भन्सार विभागको तथ्यांकले देखाएको हो।

तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा मुलुकमा ३ अर्ब ३७ करोड ८७ लाख ७० हजार रुपैयाँबराबरको क्लिंकर आयात भएको छ। गत वर्ष यही अवधिमा मुलुकमा ११ अर्ब ४६ करोड रुपैयाँभन्दा धेरैको क्लिंकर आयात भएको थियो।

त्यस्तै, चालू आवको ११ महिनामा ८ अर्ब ८ करोड रुपैयाँ अर्थात् ७०.५ प्रतिशतले सिमेन्ट आयात समेत घटेको छ।

उद्योगीहरुका अनुसार स्वदेशमा क्लिंकर उत्पादन राम्रो भएकाले आयात घटेको हो।

यसरी आयात घट्नुको कारण स्वदेशी ठूला सिमेन्ट उद्योगहरुले क्षमता विस्तार गर्नु रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए।

‘स्वदेशी उद्योगका क्लिंकर उत्पादन राम्रो छ। पर्याप्त भएर मात्रै आयात घटेको हो’, उनले नेपालखबरसँग भने।

मुलुकका ठूला स्वदेशी उद्योगहरु होङसी शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्ट, शिवम् सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तमलगायतका सिमेन्ट क्लिंकर उत्पादन क्षमता विस्तार गरेका छन्।

शिवम् सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर केशव आचार्य पनि स्वदेशका ठूला सिमेन्ट उद्योगले उत्पादन क्षमता विस्तार गरेका कारण क्लिंकर आयात घटेको बताउँछन्।

पछिल्लो समय विदेशबाट क्लिंकर आयात गरेर बेच्नसक्ने स्थिति नभएका कारण पनि आयात घटेको उनको बुझाइ छ।

‘अहिले भारतबाट क्लिंकर ल्याएर यहाँ बेच्न धेरै गाह्रो छ’, आचार्यले भने, ‘स्वदेशी क्लिंकर सस्तो पनि हुँदै गएको छ।’

तीन महिनायता जारी लकडाउनले माग पनि घटेको छ। कोरोना भाइरस संक्रमण तथा लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पप्रायः हुँदा सिमेन्ट, फलामे डन्डीजस्ता वस्तुको माग घटेको छ।

लकडाउन सुरु भएको केही समय सिमेन्टको माग बढेको र त्यसपछि पुनः घटेको आचार्यले बताए।

एक्कासि सुरु भएको लकडाउनका बीच निर्माणाधीन पूर्वाधारहरु सक्ने हतारो धेरैलाई भएपछि माग बढेको थियो तर ती सम्पन्न भएपछि अहिले माग ठप्पप्रायः भएको छ।

लकडाउनको अवधिमा मात्रै मुलुकमा एक अर्ब रुपैयाँबराबरको क्लिंकर आयात भएको छ।

लकडाउन सुरु भएपछि स्वदेशी उद्योग सञ्चालनमा समस्या भएपछि विदेशबाट क्लिंकर आयात धेरै भएको मुरारकाले बताए। लकडाउन र कोरोना संकट नभएको भए त्योबराबरको सिमेन्ट पनि आयात नहुने उनको भनाइ छ।

चालू आवको चैत महिनासम्म मुलुकमा २ अर्ब ३९ करोड ५१ लाख ४७ हजार रुपैयाँबराबरको ३४ करोड ३६ लाख २५ हजार ५ सय ५ किलो क्लिंकर आयात भएको थियो। तीन महिनादेखि मुलुकका क्लिंकर तथा सिमेन्ट उद्योग पूर्ण क्षमतामा चल्नसकेका छैनन्। यसै कारण पनि भारतबाट क्लिंकर आयात भएको छ।

यही बेलामा भारतमा क्लिंकरको मूल्य समेत बढेको छ। लकडाउनको अवधिमा केही व्यवसायीले त्यही महंगो क्लिंकर समेत आयात गरेका छन्। व्यवसायीले भारतबाट क्लिंकर आयात बढाउँदै गर्दा त्यहाँ प्रतिक्विन्टल एक हजारका दरले मूल्यवृद्धि गरिएको छ।

व्यवसायीहरुका अनुसार भारतमा पहिले प्रतिटन २५ सय भारु पर्नेमा आहले ३५ सय पुगेको छ। यो भनेको प्रतिटन हजार भारु बढेको हो। पहिले भारतबाट नेपालमा यो आइपुग्दा ९ हजार रुपैयाँ आउने क्लिंकर अब ११ हजार प्रतिटन पर्न थालेको छ।

मुलुकभर हाल सञ्चालनाम रहेका सिमेन्ट उद्योगको संख्या ६२ पुगेको छ भने केही आउने तरखरमा छन्। त्यसमध्ये २१ वटाले आफ्नै क्लिंकर उत्पादन गरिरहेका छन्। यी सिमेन्ट उद्योगमा झण्डै ४ खर्ब लगानी भएको छ। यी उद्योगमा ५५ हजारले रोजगारी पाएका छन्।

हाल बजारको माग वार्षिक १ करोड २० लाख टन (१२ मिलियन टन) छ भने उत्पादन १ करोड ८० लाख टन (१८ मिलियन टन) पुगिसकेको छ। त्यस्तै लकडाउन अवधिमा एक करोडको मात्र सिमेन्ट आयात भएको छ।

मुलुकमा सिमेन्ट आयात पनि रोकिएको छैन। चालू आर्थिक वर्षको जेठसम्म ४२ करोड ७६ लाख ८८ हजार रुपैयाँबराबरको सिमेन्ट आयात भएको थियो।

ह्वाइट पोर्टल्याण्ड सिमेन्ट १९ करोड ९२ लाख ४३ हजारको १ करोड ११ लाख ४१ हजार ५ सय ५० किलो र पोर्टल्याण्ड सिमेन्ट २२ करोड ८४ लाख ४५ हजार रुपैयाँबराबरको २ करोड किलो सिमेन्ट आयात भएको छ।

चैतसम्म ४१ करोड २७ लाख ३८ हजार रुपैयाँबराबरको सिमेन्ट आयात भएको छ। त्यसमध्ये ह्वाइट पोर्टल्याण्ड सिमेन्ट १८ करोड ७८ लाख ६४ हजार र पोर्टल्याण्ड सिमेन्ट २२ करोड ४८ लाख ७४ हजार रुपैयाँबराबरको आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .