ad ad

कारोबार


दुई छिमेकीको सीमा विवादले नेपालमा सामान ल्याउन समस्या, तीन विमानस्थलको निर्माणकार्य प्रभावित

दुई छिमेकीको सीमा विवादले नेपालमा सामान ल्याउन समस्या, तीन विमानस्थलको निर्माणकार्य प्रभावित

वसन्त अर्याल
असार २२, २०७७ सोमबार ८:५०,

पछिल्लो समय चर्किएको चीन–भारत सीमा विवादले नेपालमा निर्माण तथा मर्मतसम्भार भइरहेका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम प्रभावित भएको छ।

चीनबाट भारतको बाटो हुँदै सामान ल्याउनुपर्ने भए पनि दुई छिमेकी राष्ट्रबीच बढेको तनावले नेपाल आयात हुने सामानमा यसको प्रभाव परेको हो।

चीन–भारत विवादित सीमा क्षेत्र गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक मारिएपछि भारतले चीनबाट आउने सबै सामग्रीमा कडाइ गरेको छ। यसले भारतको बाटो हुँदै नेपाल भित्रिने चिनियाँ सामग्रीमा पनि अवरोध हुने डरले व्यवसायीहरु ती सामग्री ल्याउन तयार नभएका हुन्।

नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने उपकरण चीनबाट ल्याउनुपर्छ। तर विमानस्थल निर्माण गरिरहेका ठेकेदारले चीनबाट सामग्री ल्याउन खोजे पनि कार्गो व्यवासायी तयार नभएको पोखरा विमानस्थल प्रमुख विनेश मुनाकर्मीले बताए्।

करिब ६० प्रतिशत काम सकिएको पोखरा विमानस्थलको लागि आवश्यक उपकरण तथा डिजाइनका सबै सामग्री ल्याउन बाँकी नै छ।

‘विमानस्थलको लागि आवश्यक उपकरण सबैभन्दा बढी चीनबाटै ल्याउनुपर्ने छ’, मुनाकर्मीले भने, ‘विमानस्थलको लागि आवश्यक सामग्री चीनमा तयार भए पनि भारतको बाटो हुँदै ल्याउन व्यवसायी डराइरहेका छन्।’

कार्गो व्यवसायीहरु पनि चीनको सामान भारतको बाटो हुँदै ल्याउन त्रास भए पनि अहिलेसम्म कुनै अवरोध नभएको बताउँछन्।

‘चीनबाट भारतको लागि आउने सामानमा अवरोध हुँदै आएको छ तर नेपाल आउने सामग्रीमा अहिलेसम्म कुनै अवरोध छैन’, कार्गो व्यवसायी नरेश अग्रवालले भने, ‘भोलि केही भइहाले भन्ने सबैमा डर होला। भारतले नेपाल आउने चीनको सामान रोक्यो भने त हाहाकार मच्चिहाल्छ।’

मुनाकर्मीले विमानस्थलका लागि आवश्यक सामग्री ठूला कन्टेनरमा ल्याउनुपर्ने भएकाले उत्तरी नाकाबाट ल्याउन समस्या रहेको बताए।

‘उत्तरी नाकाबाट ठूला कन्टेनर ल्याउन ठेकेदार तयार छैनन्’, उनले भने, ‘केरुङ नाकामा भएको सामग्री पनि आउनसकेको छैन। भर्खर खुलेको नाकामा सामग्री धेरै हुँदा पालैपालो ल्याउन पनि समय लाग्ने देखिएको छ।’

रसुवागढी–केरुङ नाका कोभिड–१९ का कारण रोकिएकोले सामग्री भारत घुमाएर ल्याउनुपर्ने अवस्था आएको थियो। केही दिनयता यो नाका खुलेको छ। तातोपानी नाका पनि अहिले खुलेकाले केही सामग्री त्यहाँबाट ल्याइएको उनले जानकारी दिए।

‘नाका टाढा हुँदा केरुङमा रोकिएका सामग्री तातोपानी घुमाउन ठेकेदार तयार छैनन्’, उनले भने, ‘तातोपानी नाकाबाट आउँदा काठमाडौं घुम्दै आउनुपर्ने र केरुङको नाका प्रयोग गर्दा धादिङबाट ल्याउन पाइने हुँदा केरुङ नाका प्रयोग गर्न खोजेका हुन्छन्।’

उपकरण अभावले तीनवटै विमानस्थलको काम प्रभावित
कोभिड १९ को संक्रमण फैलिएसँगै गौतमबुद्ध, पोखरा र त्रिभुवन विमानस्थलको काम प्रभावित भएको छ। मार्च अन्तिमसम्म सक्ने भनिएको गौतमबुद्ध विमानस्थलको काम डिसेम्बरसम्म पुगेको छ भने पोखरा विमानस्थलका लागि आवश्यक उपकरणका सामग्री आउन पाएको छैन। त्रिभुवन विमानस्थलमा ३ सय मिटरको धावनमार्ग बनिसक्दा पनि विद्युतीय सामग्री नहुँदा काम ठप्प भएको छ।

त्रिभुवन विमानस्थलका आयोजना प्रमुख मुरारी भण्डारीले तीन मिटर धावनमार्ग थप भए पनि विद्युतीय (लाइट) सामग्री जडान नभई प्रयोगमा ल्याउन नसकिने बताएका छन्। त्रिभुवन विमानस्थलको धावनमार्ग लकडाउनको समयमा तीव्रगतिमा काम भए पनि आवश्यक उपकरण ल्याउन नसक्दा बाँकी काम ठप्प भएको छ।

‘बजारमा सहजै पाउने सामग्री होइन, स्पेसल अर्डर गरेर ल्याउनुपर्छ’, भण्डारीले भने, ‘कोभिड १९ले अन्तर्राष्ट्रिय यातायात प्रभावित हुँदा सामग्री आउनमा ढिलाइ भएको हो।’

उनले विमानस्थलको डिजाइनअनुसार कम्पनीमा अर्डर भइसकेको भन्दै विभिन्न देशबाट आउनुपर्ने सामग्रीमध्ये केही पानीजहाजमार्फत आइरहेको जानकारी दिए।

केही सामग्री उडानमार्फत ल्याउनुपर्ने भए पनि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ल्याउन नसकिएको उनको भनाइ छ।

‘केही उडानमार्फत आउनुपर्ने सामग्री आउनसकेका छैनन्’, उनले भने, ‘जहाज त आएका छन् तर उताबाट आउने जहाज प्याक भएको भन्दै सामग्री ल्याउन अप्ठ्यारो परेको छ। ल्याउने प्रयास जारी छ।’

लकडाउन खुुलेपछि मात्रै सामग्री आउने सम्भावना रहेको उनले बताए।

भैरहवा विमानस्थल प्रमुख प्रवेश अधिकारीले ट्रान्सपोर्टले सजिलै जिम्मा नलिने वा बोर्डरमा ल्याएर मात्रै छाड्दा समस्या भइरहेको बताए।

‘केही सामग्री लकडाउनको समयमा पनि आएका छन्, पूरै ठप्प त होइन तर स्पेसल ट्रान्सपोर्ट गरेर ल्याउनुपर्ने सामग्री ल्याउन सकिएको छैन’, प्रवेश अधिकारीले भने।

बन्दरगाह तथा नाकाका सामान रोकिएका सामग्री छुट्नथाले
लकडाउन खुकुलो भएसँगै भारतको बन्दरगाह र उत्तरी नाकामा रोकिएका सामग्री नेपाल आउन सुरु गरेको बताए।

पोखरा विमानस्थलका प्रमुख मुनाकर्मीले मार्च महिनादेखि कलकत्तामा रोकिएका सामग्री छुट्न थालेको जानकारी दिए।

‘विमानस्थलको ९ कन्टेनर सामग्री आइसकेको छ। नेपालका उत्तरी नाकामा भएको सामग्री आउन पाएको छैन’, उनले भने, ‘उत्तरी नाका पनि खुल्नथालेकाले अब नाकाबाट सामग्री आउला।’

उनले उपकरण मात्रै नभई दक्ष जनशक्ति समेत बाहिरबाट ल्याउनुपर्ने बताए। उपकरण जडानको लगि २ सय चिनियाँ आउनुपर्ने अवस्था छ । २ सय जना आवश्यक पर्ने भन्दै पत्र समेत दिइसकेको उनले बताए।

भैरहवा विमानस्थल प्रमुख अधिकारीले पहिला उपकरण ल्याउने र अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै दक्ष जनशक्ति ल्याउने तयारीमा रहेको उनको भनाइ छ। विमानस्थलमा अझै धावनमार्गको लाइट, टर्मिनल भवनका केही उपकरण आवश्यक छ।

‘२०२० को सुरुमा चीनमा लकडाउन भयो र त्यसपछि नेपालमा सामग्री ल्याउन पनि कठिनाइ भएको तथा जनशक्ति ल्याउन पनि सकिएको छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .