ad ad

कारोबार


चालक दलका सदस्य नै संक्रमित हुँदा ‘सुरक्षित उडान’मा प्रश्न

चालक दलका सदस्य नै संक्रमित हुँदा ‘सुरक्षित उडान’मा प्रश्न

वसन्त अर्याल
असार ३०, २०७७ मंगलबार ९:२६,

औपचारिक उडान बन्द रहेको बेला नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजहरुले धमाधम उद्धार उडान गरिरहेका छन्।

तर ती कम्पनीका कर्मचारीमै कोरोना संक्रमण भेटिएसँगै सुरक्षा मापदण्डमा प्रश्न उठेको छ। यस्ताे अवस्थामा नियमित उडान अहिलेजसरी नै खाेल्ने हाे भने कति सुरक्षित हाेला भन्ने चासाे पनि बढेकाे छ।

जेठ ३२ देखि उद्धार उडान गरिरहेका एयरलाइन्सका पाइलट र क्रु मेम्बरमा कोरोना संक्रमण देखिएसँगै यात्रुको सुरक्षामा समेत प्रश्न उठेको हो।

त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय हवाइ नियमन संगठन (आईकाओ), नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बनाएको सुरक्षा निर्देशिका वा गाइडलाइन कम्पनीहरुले राम्रोसँग पालना नगरेको आशंका हुनथालेको छ।

सम्भवतः यात्रु र पाइलटसँग एउटै क्रु मेम्बरको सम्पर्क हुँदा कोरोना सरेको हुनसक्छ। उद्धार उडानबाट नेपाल आएका झण्डै सय जनामा कोरोना पुष्टि भइसकेको छ। तर यसले यात्रु र एयरलाइन्सका कर्मचारी कोरोनाका उच्च जोखिममा रहेको देखिन्छ।

नेपाल वायुसेवा निगममा ४ पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिमालय एयरलाइन्सका पनि एक पाइलट, एक को–पाइलटसहित अन्यमा कोरोना संक्रमण पुष्टि भएको छ। निगमका संक्रमित कर्मचारी क्वारेन्टिनमा छन् भने हिमालयका सबै निको भई घर फर्किसकेका छन्।

एयरलाइन्सले भने सजगता अपनाउनुका बाबजुद कोरोना संक्रमण देखिएको दाबी गरेका छन्। आफूहरुले गाइडलाइन बनाई अधिकतम पालना गरे पनि पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण फैलिनु एयरलाइन्सको कमजोरी नभएको दाबी उनीहरुको छ।

‘एयरलाइन्सको कमजोरी त कसरी भन्न मिल्छ र? हामीले यतिधेरै सुरक्षा विधि अपनाएका छौँ’, वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘कोभिड १९ मानिसमा छिटो फैलिने रोग भएकाले सर्यो। कहाँबाट सर्यो भन्न सकिन्न। हामीले त्यसको अध्ययन गरिएका छौँ।’

हिमालय एयरलाइन्सले पनि सबै कर्मचारीले पीपीई लगाई काममा खटिएको बताउँदै जहाजबाटै कोरोना संक्रमण फैलिएको भन्ने आधार नभएको दाबी गरेको छ।

‘उडानबाटै सर्यो भन्न त सकिँदैन। पाइलट र कर्मचारीको सम्पर्क यात्रुसँग मात्रै हुन्छ भन्न त मिल्दैन’, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘जो प्रत्यक्षरुपमा यात्रुको सम्पर्कमा आउँछन्, उनीहरुले पीपीई लगाउँछन्। प्राधिकरणले दिएको प्रोटोकलअनुसार हामीले आफ्नै सेफ्टी गाइडलाइन बनाएका छौँ।’

कसको कमजोरी?
पाइलट तथा कर्मचारीमा देखिएको संक्रमणको कमजोरी स्वीकार गर्न कोही तयार छैनन्। एयरलाइन्सले आफ्नो कमजोरी नभएको बताइरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत यसलाई सामान्य कुरा भएको बताउँछन्।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कसैलाई दोष दिने ठाउँ नरहेको बताए।

‘एयरलाइन्स, एयरपोर्ट वा कसैलाई दोष दिएर मात्रै हुँदैन’, उनले भने, ‘पाइलट वा कर्मचारी समाजमा पनि घुलमिल हुने हुँदा त्यहाँबाट सरेको पनि हुनसक्छ।’

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एयरलाइन्सले विमानस्थलमा कसरी सुरक्षा विधि अपनाएको छ भनेर मात्रै आफूहरुले हेर्ने बताए।

‘पाइलट तथा कर्मचारीमा कसरी कोरोना सर्यो हामीले भन्न सक्दैनौँ’, उनले भने, ‘हामीले एयरपोर्टमा कसरी सुरक्षा विधि अपनाएका छन्, त्यो मात्रै हेर्ने हो। पाइलट तथा कर्मचारी विदेश जान्छन्, आउँछन्। यहाँ पनि घर जाने आउने गरेका हुन्छन्। सबै जिम्मा त हाम्रो हुँदैन।’

विमानस्थलमा एयरलाइन्स तथा अध्यागमन विभागले आफ्नो दायित्व निर्वाह गरे कोरोना संक्रमण जोखिम कम हुने उनले बताए।

सबै एयरलाइन्सलाई सुरक्षा गाइडलाइन पालना गर्न उपलब्ध गराएको बताउँदै प्राधिकरणको बचाउ गर्छन् उनी।

प्राधिकरणले आईकाओले बनाएको गाइडलाइन अनुशरण गरेको उनको भनाइ छ। त्यसैअनुसार निर्देशिका बनाएको बताउँदै उनले भने, ‘त्रिभुवन विमानस्थलले छुट्टै निर्देशिका बनाएको छ। सबै एयरलाइन्सले पनि आफ्ना गाइडलाइन बनाएका छन्।’

‘नियमित उडान खुले समस्या हुँदैन’
नेपाल वायुसेवा निगमले पाइलट तथा कर्मचारीमा कोरोना देखिए पनि कुनै समस्या नहुने जनाएको छ।

‘असार ३१ देखि नयाँ तालिकाअनुसार उडान गर्न कुनै समस्या छैन,’ प्रवक्ता खड्काले भनिन्, ‘१४ जनामा देखिएको पनि रिकभर हुने अवस्थामा आएको छ। साउन ७ देखि नियमित उडान गर्यो भने पनि हामी तयार अवस्थामा रहेका छौँ।’

‘जहाजका क्रु मेम्बरहरुलाई सकेसम्म यात्रुको सम्पर्क नहुने व्यवस्था मिलाएका छौँ। बारम्बार क्रु र यात्रुबीच सम्पर्क हुने अवस्था छैन। खाना, पानी, जुस यात्रुको सिटमै राखिएको हुन्छ। तर दुर्भाग्य संक्रमण भयो’, उनले भनिन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले नियमित उडान गरे पनि अहिलेभन्दा बढी यात्रु आउने सम्भावना नरहेको बताए।

‘नेपालले नियमित उडान गर्छौँ भनेर मात्रै हुँदैन’, उनले भने, ‘अन्तर्राष्ट्रिय उडानमा हाम्रो मात्रै नियमले हुँदैन अर्को देशको नियम पनि लागू हुन्छ।’

साउन ७ गतेबाट अन्तर्राष्ट्रिय उडान खुल्यो भने त्रिभुवन विमानस्थल सुरक्षा विधि अपनाई सञ्चालन हुनसक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने, ‘चाँडै खुल्ने कुरा भइरहेको छ। उच्चस्तरीय समितिले निर्णय गर्ला।’

उडान खाेल्ने हाे भने अहिलेकाे मापदण्डलाइ अझै सुधार गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .