ad ad

कारोबार


लकडाउनमै खुले ४० सेनिटाइजर उद्योग, औषधि उत्पादकको असन्तुष्टि केमा?

लकडाउनमै खुले ४० सेनिटाइजर उद्योग, औषधि उत्पादकको असन्तुष्टि केमा?

सन्तोष न्यौपाने
असार ३१, २०७७ बुधबार ११:४९,

कोरोना संकटले मुलुकको आर्थिक अवस्था शिथिल भइरहेको बेला स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योगहरु भने फस्टाउँदै गएका छन्।

यसअघि मुलुकमा उत्पादन नहुने सेनिटाइजर लकडाउनकै अवधिमा सुरु भएका छन्। त्यस्तै, सर्जिकल मास्क उत्पादन पनि स्वदेशमै हुनथालेका छन्।

औषधि व्यवस्था विभागका अनुसार लकडाउनको अवधिमा ४० वटा उद्योग दर्ता भएका छन्। कोभिड–१९ को संक्रमण बढ्दै गएपछि विश्वमै सेनिटाइजरको प्रयोग बढ्नथालेको थियो। नेपालमा लकडाउन सुरु नहुँदै सेनिटाइजर र मास्कको माग ह्वात्तै बढेको थियो।

माग बढेपछि स्वदेशी उत्पादन सुरु भए भने आयातमा पनि वृद्धि भयो। सेनिटाइजर प्रयोगले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न सकिने भएपछि स्वदेशी उत्पादन बढ्नथालेका हुन्।

‘लकडाउनको अवधिमा ४० वटा नयाँ सेनिटाइजर उद्योग दर्ता भएका छन्’, विभागका सूचना अधिकृत सन्तोष केसीले नेपालखबरसँग भने, ‘यसअघि सेनिटाइजर उद्योगको दर्ता भएका थिएनन्।’

यी उद्योगले १ सय २० ब्रान्डका सेनिटाइजर उत्पादन गरिरहेका छन्। विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र आयात हुने सेनिटाइजर दुवै पर्छ। दर्ता भएका सेनिटाइजरमध्ये ९५ प्रतिशतभन्दा धेरै स्वदेशी उद्योग रहेका छन्।

कोभिड–१९ संक्रमणबाट बच्न सेनिटाइजरको प्रयोग गर्नुपर्ने भएपछि उद्योग व्यवसायीहरुले सेनिटाइजर उत्पादन सुरु गरेका थिए। काठमाडौं उत्पत्यकासहित बाहिरका विभिन्न सहरमा सेनिटाइजर र मास्क उत्पादन सुरु भएका थिए।

बजारमा अत्यधिक मागलाई पूर्ति गर्न सेनिटाइजर उत्पादन सुरु भए पनि गुणस्तर र दर्ता प्रक्रियामा जानसकेका थिएनन्।

यही अलमलबीच सरकारले लकडाउनको अवधिमा उत्पादन सुरु भइसकेका र नयाँ उद्योग विभागमा दर्ता गर्न भन्दै ३ महिनाको समयावधि दिएर सूचना जारी गरेको थियो। दर्ताको लागि पहिलोपटक दिएको समयावधि असार ९ गते सकिसकेको छ।

तर सरकारले पुनः असार २२ गते तीन महिनाको लागि समयावधि थप गरेको छ।

औषधि उत्पादक संघको विरोध केमा?
सरकारले सेनिटाइजर उत्पादन उद्योगलाई दर्ता समयावधि पुनः तीन महिना थप गरेपछि औषधि उत्पादक व्यवसायीहरुले भने त्यसको विरोध गरिरहेका छन्।

सरकारले उद्योग दर्ताकै नाममा समय थप्दै गएर सेनिटाइजर उत्पादकलाई विना दर्ता ६/६ महिना सञ्चालनको मौका दिएको औषधि उत्पादकको भनाइ छ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले सेनिटाइजर उत्पादन दर्तामा विरोध नगरेको तर सरकारले विना कारण दर्ताको समयावधि बढाइरहेकोले विरोध गर्नुपरेको बताए।

‘समय थप्दै जानुको अर्थ विना दर्ता थप ३ महिना सेनिटाइजर बिक्रीवितरण गर्न छुट दिनु हो’, अधिकारीले नेपालखबरसँग भने, ‘हरेक दिन दर्ता गरेर उत्पादन सुरु गर्न सकिन्छ। ३ महिनाको समय किन दिनुपर्‍यो?’

औषधि व्यवस्था विभागमा स्वदेशी उद्योग र आयात भइरहेका उत्पादन पनि दर्ता भइरहेका छन्। दर्ता सधैँ चलिरहने प्रक्रिया भएको भन्दै दर्ताको लागि ३÷३ महिना दर्ता समय दिँदा ती उद्योगले गुणस्तरहीन सेनिटाइजर बिक्री गर्ने मौका पाएको अधिकारीले बताए।

‘सरकारले अनुगमन गरे पनि दर्ता गर्ने समय तीन महिना छ, कागजपत्र मिलाउँदै छौँ भन्ने मौका पाएका छन् उनीहरुले’, अधिकारीले भने, ‘सरकारले विना दर्ता पुनः तीन महिना सञ्चालन गर्ने अवसर दिएको छ।’

दर्ताको लागि समयावधि दिनु नपर्ने र उत्पादन गर्नेले तत्कालै दर्ता गर्नुपर्छ भन्ने संघको माग रहेको अधिकारीले बताए।

औषधि व्यवस्था विभागले भने सेनिटाइजर उत्पादक उद्योगले लकडाउनको अवधिमा दर्ता गर्न असहज भएकोले थप समय दिन अनुरोध गरेपछि समय थपिएको जनाएको छ।

‘लकडानका कागजपत्रदेखि अन्य प्रक्रिया मिलाउन लकडाउनको अवधिमा सहज नभएको भन्ने कुरा आयो’, सूचना अधिकृत केसीले भने, ‘त्यही अनुरोधका आधारमा दर्ता गर्ने समयावधि थपिएको हो।’

अधिकारीका अनुसार चैत ९ गते स्वास्थ्यमन्त्री स्तरीय निर्णयबाट सेनिटाइजर आयातकर्ता र स्वदेशी उत्पादकलाई विभागमा दर्ता गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयलगत्तै चैत १२ लकडाउन सुरु भएको थियो।

विश्वमा कोरोना भाइरस संक्रमण बढ्दै गएको र त्यसले गर्दा नेपालमा सेनिटाइजर माग बढ्न थालेपछि स्वदेशी उत्पादन सुरु भएका थिए। साथै, विदेशबाट आयात पनि बढ्दै गएको थियो।

बजारमा एक्कासि सेनिटाइजर प्रयोग छ्यापछ्याप्ती भएपछि स्वास्थ्य मन्त्रालयले दर्तामा आउने सूचना जारी गरेको अधिकारीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .