ad ad

समाज


भिसा आएका २५ सय नेपाली कोरिया जान पाएनन्, १२ हजारको रोजगारी अन्यौलमा

भिसा आएका २५ सय नेपाली कोरिया जान पाएनन्, १२ हजारको रोजगारी अन्यौलमा

उजिर कार्की
असार ३१, २०७७ बुधबार ११:५३,

महामारीका कारण नियमित उडान बन्द हुँदा दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली रोजगारी गुमाउने अवस्थामा पुगेका छन्।

सरकारले गत चैत ९ गतेदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। जसका कारण भिसा आइसकेर पनि २ हजार ५ सय नेपाली जान नपाएको ईपीएस कोरिया शाखाका प्रवक्ता बाबुराम घिमिरेले बताए।

दक्षिण कोरियाबाट नेपालका लागि चार्टर्ड उडान भएपनि दक्षिण कोरियाले चार्टर्ड उडानबाट कुनै देशबाट श्रमिक नल्याउने निर्णय गरेको छ। दक्षिण कोरिया श्रमिक लैजान पहिले नै टिकट दर सहित टेन्डर गरिएको हुन्छ।

नेपालबाट दक्षिण कोरियाका लागि भाडा ३ सय ९३ अमेरिकी डलर (करिब ४७ हजार रुपैयाँ) कायम गरिएको छ। तर चार्टर्ड उडानमा एक लाख ५७ हजार रुपैयाँसम्म तिरेर गइरहेका छन्। घर बिदामा आएका श्रमिक भने चार्टर्ड उडानबाट फर्किइरहेका छन्।

तर नयाँ श्रमिकलाई चार्टर्ड उडानबाट पठाउँदा कोरियाले स्वीकार नगर्ने अनौपचारिक जानकारी गराइसकेको प्रवक्ता घिमिरेले बताए। नियमित उडान कहिले खुल्ला गर्ने भन्नेबारे सरकारले निर्णय गरेको छैन।

भिसा आएका मध्ये पनि ४ सय जनाको भिसाको म्याद सकिइसकेको छ। थप ४ सय १ जनाको भिसाको म्याद अब १५ दिनलाई मात्रै रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

बाँकी कमिन्टमेन्ट भइसकेका, भिसा लगाउने तयारी भइरहेका र फर्म भराइसकेर थप कागजात मगाउने प्रक्रियामा रहेका घिमिरेले नेपालखबरलाई बताए।

यस्तै रोस्टरमा १२ हजार बढी छन्। भाषा परीक्षा, लगायतका सबै प्रक्रिया टुंगिएर रोस्टरमा रहेकाहरुको पनि कोरिया जान पाउने नपाउने अन्यौल बढेको छ।

गत वर्ष भाषा परीक्षा पास गरेका मात्रै झण्डै सात हजार जना छन्। सबै प्रक्रिया पूरा गरेर अन्तिम समयमा कोरिया जान नपाउने अवस्था आएपछि गतसाता उनीहरुले माइतीघरमा प्रदर्शन समेत गरेका थिए।

उनीहरुको आन्दोलतपछि वैदेशिक रोजगार विभागले आवश्यक कूटनीतिक पहल गरेर नेपाली श्रमिकलाई कोरिया पठाउने व्यवस्था गर्न श्रम मन्त्रालयलाई पत्राचार गरेको छ। श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत चार्टर्ड उडानमा पठाएका श्रमिक लिन अनुरोध गर्दै पत्राचार गरेको छ। अहिले परराष्ट्र मन्त्रालयले कोरियासँग आवश्यक पहल गरिरहेको विभागका प्रवक्ता भोलानाथ गुरागाईंले बताए।

तत्काल व्यावसायिक उडान नभएपनि उडान अनुमति माग गरिएको गुरागाईंले बताए।

कोरियाले भने चार्टर्ड उडान गर्दा श्रमिकलाई थप आर्थिक भार पर्ने भएकाले नमानेको बताइएको छ। दक्षिण कोरियामा हाल करिब ४० हजार नेपाली श्रमिक कार्यरत छन्। कोरियाले ईपीएसमार्फत नेपालबाट सन् २००८ देखि श्रमिक लिन थालेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .