ad ad

कारोबार


खुल्नै लागेको हवाइ उडान अन्योलमा : यात्रुले ‘बुकिङ’ गरे तर ‘कन्फर्म’ गरेनन्

खुल्नै लागेको हवाइ उडान अन्योलमा : यात्रुले ‘बुकिङ’ गरे तर ‘कन्फर्म’ गरेनन्

वसन्त अर्याल
साउन २०, २०७७ मंगलबार ११:५१,

भदौ १ देखि हुने भनिएको आन्तरिक उडान अन्योलमा परेको छ। पछिल्लो समय उपत्यकासहित तराईमा कोरोनाको संक्रमण उच्च दरमा बढ्न थालेपछि खुल्नै लागेको उडानबारे अन्योल भएको हो।

मन्त्रिपरिषद् बैठकले साउन ५ गते भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेसँगै हवाइ सेवा कम्पनीले बुकिङ सुरु गरेका थिए। तर तराईका जिल्लामा कोरोना संक्रमण बढेसँगै स्थानीय तहले पुनः लकडाउन गर्नथालेपछि बुकिङबारे पनि अनिश्चितता बढेको छ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तराईमा गन्तव्यमा कोरोनाको संक्रमण बढेसँगै उडान के हुने अन्योल भएको बताए।

‘अहिले त यति एयरलाइन्सको बुकिङ खुल्ला नै छ। लकडाउन भएर आवतजावत बन्द हुने अवस्थामा उडान गर्न सक्दैनौँ रद्द गर्छौँ’, बर्तौलाले भने, ‘तराईको गन्तव्यका यात्रुले बुकिङ गर्नुभएको छ तर कोरोना बढेसँगै कन्फर्म गर्नुभएको छैन।’

नेपालमा बढी उडान तथा यात्रु तराईमा नै हुने गरेका छन्। कोरोनाका संक्रमित फेरि बढेपछि विराटनगर महानगरपालिकाले पुनः लकडाउन सुरु गरेको छ। अहिले साउन ३० सम्म लकडाउन भने पनि त्यसपछि अवस्था हेरेर थप हुनसक्ने बताइएको छ।

buddha air udan

बढी यात्रु आवतजावत हुने विराटनगरमा बुद्धले काठमाडौं–विराटनगर, पोखरा–विराटनगर, तुम्लिङटार–विराटनगर उडान गर्ने योजना सार्वजनिक गरी बुकिङ सुरु गरिसकेको छ। बुद्धमात्रै होइन, यति एयरलाइन्स र श्री एयरलाइन्सले समेत विराटनगर उडान गर्ने गरी बुकिङ गरिरहेका छन्।

बुद्ध एयरलाइन्सका प्रवक्ता रुपेश जोशीले बुकिङ खासै नभएको बताए।

‘बुकिङ त सुरु गरेका छौँ एकदम सुस्त छ’, जोशीले नेपालखबरसँग भने, ‘प्रायः आवतजावतको एक हप्ताअघि मात्रै बुकिङ गर्ने नेपाली प्रचलन छ।’

उनले जहाँ लकडाउन खुल्छ, त्यहाँ उडान गर्ने बताए।

‘कुनै स्थानीय तहले लकडाउन गरे हामीले उडान गर्छौँ भन्ने कुरा भएन’, उनले भने, ‘अहिले हामीले बुकिङ खोलेको हो, जाने नजाने यात्रुको कुरा हो। यात्रु भए उडान गर्छौँ।’

वायुसेवा कम्पनीले तराईको भरतपुर, विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा उडान गर्दै आएका छन्। यी ठाउँहरु अहिले फेरि कोरोनाको ‘हटस्पट’ बन्नथालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मोरङ, धनुषा, सप्तरी, पर्सालगायतका जिल्लाहरुमा संक्रमितहरु बढिरहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले पनि पछिल्लो समय उपत्यका र तराईका जिल्लामा कोरोना संक्रमित बढेसँगै आन्तरिक उडानमा अन्योल बढेको स्वीकार गरे।

‘पोखरा र तुम्लिङटार बुकिङ राम्रो’
तराईका जिल्लामा खासै बुकिङ नभए पनि पहाडी गन्तव्यमा बुकिङ राम्रो भएको वायुसेवा कम्पनीले बताएका छन्।

‘पोखरा र तुम्लिङटारको सुरुका २ दिनसम्मको बुकिङ फुल छ। तर तराईका जिल्लामा भने अन्योल बढेको छ। तराईको जिल्लामा बुकिङ गरेकाले पनि कन्फर्म गरेका छैनन्’, यतिका प्रवक्ता बर्तौलाले भने, ‘जुन एरियामा कोरोना संक्रमण बढी हुन्छ, त्यो ठाउँमा उडान रद्द गर्छौँ।’

सहसचिव लामिछानेले अहिलेसम्म पोखरामा खासै संक्रमित देखिएको पोखरामा उडान खोल्दा त्यहाँ बढ्नसक्ने बताए।

उडानको लागि शर्तसहितको कार्यविधि बन्दै
भदौ १ देखि हुने उडानको लागि सशर्त कार्यविधि बन्नलागेको लामिछानेले बताए।

‘हामीले बनाउने कार्यविधि कन्डिसनल (सशर्त) हुन्छ। स्थानीय सरकारले लकडाउन गरिरहेका छन्। त्यहाँ उडान हुँदैन’, लामिछानेले भने, ‘हामीले बनाउने कार्यविधिमा भदौ १ मा जसरी पनि उडान हुनुपर्छ भन्दा पनि त्यो टार्गेट हो।’

उनले संसारका विभिन्न मुलुकले अवस्था हेरेर खोल्ने र बन्द गर्ने काम गरिरहेको बताउँदै कोरोनाको संक्रमणको दर कहाँ कस्तो हुन्छ, त्योअनुसार भर पर्ने बताए।

जहाजभित्र १० जना राख्नु र पूर्ण क्षमतामा राख्नु उस्तै कुरा हुने उनको भनाइ छ।

‘जहाज पाइपजस्तो हो। आकाशमा उडेर ढोका लगाएपछि जहाजभित्र जति बसे पनि एउटै हो। जहाजमा बस्नेले मास्क लगाउनुपर्यो। तापक्रम नापजाँच लगायतका सुरक्षा विधि अपनाउनुपर्यो’, लामिछानेले भने।

अहिलेको समस्या मानिसले अनुमान गर्नसक्ने किसिमको नभएकाले सरकारले मापदण्ड बनाउने कुरा जहिले खुले पनि आवश्यक हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .