ad ad

कारोबार


पशुपति क्षेत्र विकासकाे विवादित गुरुयोजना परिमार्जन हुने, ३३ अर्ब खर्च हुँदा कस्ताे बन्नेछ पशुपति?

पशुपति क्षेत्र विकासकाे विवादित गुरुयोजना परिमार्जन हुने, ३३ अर्ब खर्च हुँदा कस्ताे बन्नेछ पशुपति?

वसन्त अर्याल
भदौ ७, २०७७ आइतबार १०:११,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्रको गुरुयोजनामा विवाद भएपछि परिमार्जन गर्ने भएको छ।

मन्त्रालयअन्तर्गतको पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा मन्त्रालयले भदौ १० गतेसम्म सुझाव माग गरी विवाद समाधान गर्न खोजेको हो।

गुरुयोजनामा पश्चिमी ढोका भत्काउने, आर्यघाट हटाउने र ब्रह्मनाल सार्नेजस्ता योजना भएकाले अभियन्ता र स्थानीय बासिन्दाले चर्को विरोध गरेका थिए। मन्त्रालयले सरोकारवालासँग छलफल नै नगरी मन्त्रिपरिषदमा लगेको उनीहरुको भनाइ छ।

पशुपतिनाथको सनातन परम्परा र प्राचीनता सिध्याउन लागेको भन्ने विरोध भए पनि कोषले पशुपति क्षेत्रमा भौतिक विकास गर्दा प्राचीनता, आध्यात्मिकतालाई ध्यान दिने बताउँदै आएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल प्रसाद भट्टराईले गुरुयोजनामा केही कुरा उठेकाले सुझाव माग गरेको बताए।

‘नीति र योजना संशोधन र सुधारको गुञ्जायस रहिरहन्छ’, भट्टराईले भने, ‘गुरुयोजना मन्त्रिपरिषदले पास नगरेको अवस्थामा केही सुधार भए हुन्थ्यो भन्ने आवाज आएकाले सुझाव माग गरेका हौँ।’

उनले आएको सुझावको आधारमा परिमार्जन आवश्यक भए परिमार्जन भई गुरुयोजना पास हुने बताए।

गुरुयोजना ५० वर्षको सोच राखी तयार पारिएको बताइएको छ। नयाँ गुरुयोजनामा पशुपति दर्शनपथ, अनुसन्धान केन्द्र, पशुपति साधना सदनको कार्यक्रम राखिएको छ।

त्यसैगरी पशुपति क्षेत्र प्रदक्षिणपथको रुपरेखा स्पष्ट भएको, वाग्मती जलप्रवाह प्रवद्र्धन बृहत् जलशय निर्माण, शिवशक्ति लीला भवन निर्माण, लिच्छविकालीन शिवलिङ्गको अतिक्रमण हटाई सामाजिकीकरण गर्ने कार्यक्रम छ।

संग्रहालय र स्मृति कोषको व्यवस्था, शिक्षा, स्वास्थ्य र समाज कल्याणसम्बन्धी कार्यक्रमको सोच, निःशुल्क भोजन व्यवस्था (अन्नदान भवन), भण्डारी आगमघर निर्माण, कोष कार्यालय भवन निर्माणको सोच, सेवा क्षेत्रको परिकल्पना र पशुपति तारामण्डलसहितका कार्यक्रम छन्।

गुरुयोजनामा पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्ताको प्रवर्द्धन गर्ने, पशुपति क्षेत्रको विकासका लागि आन्तरिक आर्थिक स्रोतलाई सुदृढ बनाउँदै बाह्र स्रोतको खोजी र परिचालन गर्ने मार्गदर्शक सिद्धान्त राखिएको छ। 

गुरुयोजनाको कुल लागत ३३ अर्ब ६ करोड
पशुपति विकास कोषले गुरुयोजनाको कुल लागत ३३ अर्ब ६ करोड ६४ लाख हुने उल्लेख गरेको छ। 

गुरुयोजनाको उद्देश्य धार्मिक–आध्यात्मिक वातावरणको प्रवर्द्धन गर्नु, वाग्मती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धन गर्नु, धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरुको संरक्षण गर्नु, दर्शनार्थी तथा पर्यटकहरुको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्नु, ठोस तथा तरल फोहोर मैलाको उचित निकासको व्यवस्था गर्नु, प्रभावपूर्ण सुरक्षा प्रणालीको व्यवस्था गर्नु, धार्मिक, सांस्कृतिक क्षेत्रको अनुकूलको सौन्दर्य सिर्जना गर्नु रहेको छ।

गुरुयोजनाको प्रमुख क्रियाकलाप धार्मिक–आध्यात्मिक वातावरणको प्रवर्द्धन गर्नका लागि नियमित भवनकीर्तन, सत्संग, पुराण, प्रवचन वेदपाठजस्ता कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ।

वाग्मती नदीको शुद्धीकरण र जलप्रवाह प्रवर्द्धनका लागि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी नदीको नियमित सरसफाइ तथा सुख्खायाममा जलप्रवाह बढाउन गुह्येश्वरी पूर्वमा विशाल जलाशय निर्माण गरिने योजना बनाइएको छ।

धार्मिक, सामाजिक एवं पुरातात्विक महत्वका स्मारकहरुको संरक्षणका लागि तिनको भौतिक स्थितिको सर्वेक्षण गरी प्राथमिकताका आधारमा संरक्षण गरिनेछ। मन्दिरका हकमा संरक्षणसँगै पूजा व्यवस्था तथा सत्तल पाटी आदिका हकमा पुनः प्रयोग योजना समेत बनाइनेछ।

दर्शनार्थी तथा पर्यटकहरुको सेवा सुविधाको लागि भौतिक पूर्वाधारको विकास गर्ने सन्दर्भमा अत्यावश्यक सुविधासहितको पशुपति दर्शनपथ, पूजा सामग्री पसल, निःशुल्क भोजन व्यवस्था तथा पर्याप्त पानी, बत्ती, शौचालय र सुरक्षाको समेत व्यवस्था गरिनेछ।

प्राकृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने सन्दर्भमा भूक्षय नियन्त्रण, हाता पर्खाल निर्माण तथा वृक्षरोपणका कार्यक्रमहरु सञ्चालन गरिनेछन्। पशुपति क्षेत्रमात्र कार्यक्षेत्र भएको सुरक्षा संयन्त्र खडा गर्न नेपालसरकारसँग अनुरोध गरिनेछ। कोषबाट पनि आवश्यकताअनुसार सुरक्षाकर्मीको व्यवस्था गरिनेछ।

पशुपति क्षेत्रमा प्रतिदिन बहुसंख्यक तीर्थयात्रीहरुको आवागमन हुने र पर्वविशेषमा अत्यधिक चाप हुने अवस्थाका साथै तिलगंगा–चाबहिल मार्गको दायाँबायाँ प्राचीन सम्पदा समेत भएकाले तिनको सुरक्षाका लागि समेत यस खण्डको चक्रपथको वैकल्पक व्यवस्था गर्न अत्यावश्यक भएकाले सोका लागि नेपाल सरकारसँग अनुरोध गरिनेछ।

धार्मिक संस्कृतिक क्षेत्र अनुकूलको सौन्दर्य सिर्जना गर्ने सन्दर्भमा वनवाटिकाको विकास, हरियाली प्रवर्द्धन, सरसफाइका साथै सम्पदाहरुको संरक्षणमा विशेष ध्यान दिई कार्यक्रम अघि बढाइनेछ।

गुरुयोजनाको दीर्घकालीन रणनीतिमा वाग्मती नदीको जलप्रवाह बढाउन पानी संकलनको व्यवस्था उल्लेख गरिएको छ। पशुपतिनाथका नामबाट समाजको उत्थानमा सहयोग पुग्ने गरी शैक्षिक प्रतिष्ठान, स्वास्थ्य प्रतिष्ठान र सामुदायिक कल्याणका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ।

पशुपति क्षेत्रको विकासका लागि केन्द्रीय, सन्निकट, परिधीय र सेवा गरी चार क्षेत्र तथा अन्य ३५ उपक्षेत्र विभाजन गरिएको छ।

तीन चरणमा हुनेछ काम 
गुरुयोजना तीन चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गुरुयोजनाअनुसार पहिलो चरणमा ०७७/०७८ देखि ०८१/०८२ सम्म, दोस्रो चरणमा ०८२/०८३ देखि ०८६/०८७ र तेस्रो चरणमा ०८७/०८८ देखि ०९१/०९२ सम्म काम गरिनेछ।

पहिलो चरणमा पशुपति दर्शनपथको निर्माण, सूचना केन्द्र, स्नानगृह, शौचालय, पूजा सामग्री कक्ष, विश्राम स्थल, पशुपतिनाथ प्रांगण विस्तार, गुह्येश्वरी प्रांगण विस्तार, विश्वरूप मन्दिर सत्तल पुनर्निर्माण, पशुपति अध्ययन केन्द्र निर्माण, गोठाटारस्थित सेवा क्षेत्र भू–उपयोग, वाग्मती जलप्रवाह प्रवर्द्धनका लागि वर्षाको पानी संकलन गर्न बृहत् जलाशय निर्माण, गोरखनाथ–मृगस्थली क्षेत्रका मन्दिर तथा सत्तलहरुको पुनर्निर्माण, तिलगंगा–ताम्रागंगा सडक बन्दगरी वृक्षरोपण योजनालगायत २९ वटा योजना छन्।

दोस्रो चरणमा यज्ञशाला, पशुपति साधना सदन, भण्डारेश्वर क्षेत्रमा किरियापुत्री भवन, विद्युत् शवदाह गृह विस्तारको प्राविधिक अध्ययन, उमाकुण्ड आश्रम तथा कुण्डको पुनर्निर्माण, बहुउद्देश्यीय जोसमनी मठ, पशुपति नक्षत्र मण्डल निर्माण, पशुपति वेद–वेदाङग महाविद्यालय निर्माणलगायत २० वटा योजना छन्।

तेस्रो चरणमा पहिलो र दोस्रो चरणमा निर्माण सुरु भएका तर अधूरा रहेका योजना, हेमन्त भैरव, गौरीघाट, जयवागेश्वरीपूर्वको चोक तथा सिफलमा प्रवेशद्वार, हेमन्त भैरव–गौरीघाट तथा गुह्येश्वरीमा पार्किङस्थल निर्माणलगायत ८ वटा योजनालाई तेस्रो चरणमा राखिएको छ।

पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुधार गरी अन्तर्राष्ट्रिय तीर्थस्थलको रुपमा विकास गर्न तथा क्षेत्रका सम्पदा एवं पर्यावरणको संरक्षण गर्न २०४४ सालमा पशुपति क्षेत्र विकास कोषको स्थापना भएको थियो। कोषले स्थापनासँगै गुरुयोजना तयार गर्ने काम २०५३ सालमा मूर्तरुप लिएको र २०५६ सालमा मात्रै सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .