ad ad

कारोबार


विमानस्थल निर्माणमा एकपछि अर्को बाधा : पहिला उपकरण ल्याउन सकिएन, अहिले दक्ष जनशक्ति

विमानस्थल निर्माणमा एकपछि अर्को बाधा : पहिला उपकरण ल्याउन सकिएन, अहिले दक्ष जनशक्ति

वसन्त अर्याल
भदौ १४, २०७७ आइतबार ७:५५,

विदेशबाट दक्ष जनशक्ति ल्याउन नसक्दा निर्माणाधीन विमानस्थलको प्रगतिमा प्रभाव पर्ने भएको छ। जनशक्ति अभावले पोखरा र भैरहवा विमानस्थल निर्माणमा प्रभाव पर्ने भएको हो।

यही वर्ष (सन् २०२० मार्चमा) सक्ने लक्ष्य राखिएको भैरहवा विमानस्थलको कोभिड १९ को कारण डिसेम्बरसम्म म्याद थपिएको छ।

अर्को क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको पोखरा विमानस्थल २०२० कै डिसेम्बरमा सक्ने लक्ष्य राखिएको थियो। तर कोभिड १९ को कारण लक्ष्यअनुसार काम हुन सकेको छैन। विमानस्थलको निर्माणकार्य अब सन् २०२१ जुलाईसम्म सक्ने बताइएको छ।

भैरहवा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ भने पोखराको पनि पूर्वाधारको धेरै काम सम्पन्न भइसकेको छ। दुवै विमानस्थलमा मुख्य उपकरण जडान काम बाँकी छ।

चीनमा सन् २०१९ डिसेम्बरतिर कोभिड १९ को अवस्था देखिएकाले लकडाउन गरियो। त्यसपछि नेपालमा अवश्यक पर्ने उपकरण र जनशक्ति आउन पाएनन्। चैतदेखि नेपालमै लकडाउन भयो। यसले पुनः निर्माण सामग्री तथा उपकरण बाटोमै रोकिनपुगे।

लकडाउन खुकुलो भएसँगै निर्माण सामग्री त आए तर दक्ष जनशक्ति आउन पाएनन्।

‘अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने अधिकांश उपकरण आइसकेका छन्। केही आउँदै छन्, अवरोध छैन’, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले नेपालखबरसँग भने, ‘नेपाल आएका उपकरण जडानको लागि दक्ष जनशक्ति छैन।’

उनले मुख्यतया ती उपकरण जडानको लागि थाइल्यान्ड, चीन, अमेरिका, अष्ट्रियालगायतका देशबाट जनशक्ति ल्याउनुपर्ने बताए।

‘विदेशीलाई नेपाल आउने अनुमति नै छैन’
मन्त्रिपरिषदले नेपालमा कोभिड १९ को संक्रमण बढेको भन्दै नेपालीबाहेक अरु नेपाल आउन नपाउने निर्णय गरेको छ। त्यसले पनि विदेशी जनशक्ति नेपाल आउन अवरोध भएको छ। हुन त सरकारले भदौ १७ गतेबाट नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालमा दैनिक पाँच सय जना आउन पाउँछन्।

‘नियमित उडान खुले पनि मन्त्रिपरिषदले नेपालीबाहेक अरु ल्याउन नपाउने भनेको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘विदेशी कामदार ल्याउनको लागि सरकारले अर्को निर्णय गर्नुपर्छ।’

मन्त्रालयले सार्वजनिक गरेको उडान तालिकाअनुसार चीनबाट हप्तामा दुई उडान हुन पाउने व्यवस्था छ। तर त्यसमा अहिले चिनियाँ कामदार आउन भने नपाउने मन्त्रालयको तर्क छ।

‘मन्त्रिपरिषदको निर्णयअनुसार त नेपाली, एनआरएनए र कूटनीतिक नियोगका मनिस मात्रै आउजाउ गर्न पाउँछन्’, लामिछानेले नेपालखबरसँग भने, ‘विमानस्थलका ठेकेदार कम्पनीले पनि अहिले विदेशबाट नेपाली कामदार ल्याउन तयार छैनन्।’

pokhara airport 22
निर्माणाधीन पोखरा विमानस्थल

पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण फैलिएको भन्दै नेपालमा काम गरिरहेका चिनियाँ ठेकेदारले समेत जनशक्ति नल्याउने बताउँदै आएका छन्।

‘विमानस्थलमा काम गरिरहेका कामदार विमानस्थलबाहिर निस्किन पाउँदैनन्’, पोखरा विमानस्थल प्रमुख विनेश मुनकर्मीले भने, ‘अहिले कामदार ल्याएर विमानस्थलभित्रै राख्ने ठाउँ छैन। बाहिर राखेर जोखिम मोल्न ठेकेदार तयार छैन।’

जनशक्ति नहुँदा कामको गति सुस्त
भैरहवा विमानस्थलमा मुख्य उपकरण जडानको काम भए पनि अहिले फिनिसिङ अर्थात् अन्तिम रुप दिने काम भइरहेका छन्। तर विमानस्थलको लागि उपकरण जडान गर्ने जनशक्ति नभए काम रोकिने निश्चितजस्तै छ।

‘पहिला उपकरण ल्याउन सकेनौँ अहिले जनशक्ति ल्याउन सकिरहेका छैनौँ’, प्राधिकरण निदेशक अधिकारीले भने, ‘दक्ष जनशक्ति नआई उपकरण जडानको काम अघि बढ्न सक्दैन।’

भैरहवा विमानस्थल र पोखरा विमानस्थलमा चिनियाँ कामदारसहित नेपाली कामदारले काम गरिरहेका छन्।

‘पोखरा विमानस्थलमा केही चिनियाँ कामदार काम सकिएर खाली बसेका छन्। अबको १५ दिनमा धेरै कामदार खाली हुन्छन्’, विमानस्थल प्रमुख मुनकर्मीले भने, ‘विमानस्थलमा विषयविज्ञका जनशक्ति चाहिएकाले बाहिरबाट ल्याउनैपर्छ।’

पोखरा विमानस्थलको लागि तत्काल दुई सय चिनियाँ कामदार आवश्यक रहेको मुनकर्मीले नेपालखबरलाई जानकारी दिए।

‘समयावधिभित्र सक्ने लक्ष्य त छ तर जनशक्ति ल्याउन नसके समयमै काम सकिँदैन’, उनले भने।

नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलको काम लकडाउनको अवस्थामा तीव्रगतिमा काम हुन नसके पनि काम भइरहेको बताउँदै आएका छन्। उनका अनुसार दक्ष जनशक्ति आएसँगै कामले गति लिनेछ।

‘दक्ष जनशक्ति नहुँदा भैरहवा विमानस्थल निर्माणको काम अपेक्षित रुपमा अघि बढ्नसकेको छैन’, मन्त्री योगेश भट्टराईले भने, ‘दक्ष जनशक्ति ल्याउने पहल गरिरहेका छौँ। दक्ष जनशक्ति आएको ३ महिनामा काम सकिन्छ, त्यसको ३ महिनापछि विमानस्थल सञ्चालनमा आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .