ad ad

कारोबार


कांग्रेस नेता सुनिल थापाको काँधमा हिमालयन–सिभिल बैंक मर्जर, हबिबको सेयर मुख्य चिन्ता

कांग्रेस नेता सुनिल थापाको काँधमा हिमालयन–सिभिल बैंक मर्जर, हबिबको सेयर मुख्य चिन्ता

दीपक भट्ट
असोज २, २०७७ शुक्रबार ६:२४,

नेपाल राष्ट्र बैंकले बैंकहरुको मर्जरको विषय क्रस होल्डिङबाट अघि बढाउन चाहेपछि हिमालयन बैंक पनि मर्जरमा जान तयार देखिएको छ।

नयाँ गभर्नरमा महाप्रसाद अधिकारी आएपछि क्रस होल्डिङ रहेको बैंकहरु मर्ज गराउने रुपमा निर्देशन समेत जारी गरेका छन्। राष्ट्र बैंकको उक्त निर्देशन आएपछि हिमालयनको मर्जर पहिलेदेखिकै चर्चामा रहेको नेपाल इन्भेष्टमेन्टसँग कुराकानी भएको थियो।

तर इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान हिमालयन बैंकको केही पक्षले नै आनाकानी गरिरहेको छ। त्यसपछि मर्जर सम्भावना रहेको अर्को बैंक भनेको लक्ष्मी बैंक हो। लक्ष्मी बैंकसँग पनि कुरा नमिल्ने देखिएपछि हिमालयन बैंकलाई अहिले नेपाल राष्ट्र बैंकले नयाँ जोडी समेत देखाएको छ। वाणिज्य बैंकहरुमा सबैभन्दा सानो मानिने सिभिल बैंकलाई नेपाल राष्ट्र बैंकले नयाँ जोडीको रुपमा प्रस्तुत गरेको हो।

हिमालयन बैंक स्थापना गर्ने हिमालय शमशेर जबरा (जो अहिले बैंकका सल्लाहकार पनि हुन्) र उनको छोरा अशोक राणा (जो अहिले बैंकको सीईओ छन्) सिभिलसँग मर्ज गर्ने विषयमा सकारात्मक देखिएका छन्।

तर हिमालयन बैंक मर्जरमा जानुअघि सबैभन्दा चिन्ताको विषय पाकिस्तानी साझेदार हबिब बैंक हो। हबिब बैंकको हिमालयन बैंकमा २० प्रतिशत सेयर लगानी छ। हबिब बाहिरिन पनि चाहिरहेको छ। यो सेयर हिमालयन बैंकले बेलायतको सीडीसी फाइनान्स ग्रुपलाई दिन चाहेको छ।

सीडीसीले पनि हिमालयन बैंकको सेयरको लागि सकारात्मक कुरा गर्दै आएको छ। तर उक्त बैंकलाई विश्वास दिलाउने गरी बैंकले छलफल गर्न सकिरहेको छैन।

हिमालयन बैंकका सीईओ अशोक राणाले बैंक मर्जरको लागि तयार भएको बताए। तर मर्जरमा जानुअघि पूरा गर्नुपर्ने धेरै काम भएकोले राष्ट्र बैंकसँग पनि छलफल भइरहेको उनको भनाइ छ।

‘मर्जरमा जानुअघि हबिबको सेयरको पनि टुङ्गो लगाउनुपर्नेछ। हबिब बैंक बाहिरिन चाहिरहेको अवस्थामा उसलाई कि मर्जअघि यथावत् राख्ने कुरा गर्नुपर्यो कि त्यसको व्यवस्थापन कसरी गर्ने त्यो स्पष्ट हुनुपर्‍यो’, उनले भने, ‘यसको लागि सीडीसीसँग छलफल भए पनि कोभिडको कारण उनीहरुसँग छलफल स्थगित भएको छ। बेलायतमा कोभिड कोषमा काम गरिरहेकोले उनीहरुलाई पनि टाइम लाग्ने देखिएको छ। राष्ट्र बैंकसँग यो विषयमा पछि छलफल हुनेछ।’

उनले कुन बैंकसँग मर्जरको लागि ठोस कुरा अघि बढाएको भन्ने प्रश्नमा हिमालयन बैंक सबै सूचकाङ्क र व्यवस्थापनको हिसाबले पनि उच्च रहेकोले धेरै बैंकहरुले चासो दिइरहेको दाबी गरे। वातावरण मिल्ने बैंकसँग मर्जरको कुरा अघि बढ्ने सम्भावना रहेको राणाले बताए। तर त्यसको लागि सञ्चालक समितको भूमिका नै महत्वपूर्ण हुने उनले बताए।

हिमालयन बैंकले राष्ट्र बैंकको दबाबपछि मर्जरको लागि एक कार्यदल नै गठन गरिसकेको छ। उक्त बैंकको सञ्चालक सदस्य रहेका तथा राप्रपा छोडेर भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापालाई उक्त कार्यदलको नेतृत्व समेत दिइएको छ। उक्त कार्यदलमा प्रचण्ड बहादुर श्रेष्ठ र विजय बहादुर श्रेष्ठ सदस्य छन्।

इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकसँग किन कुरा मिलेन?
हिमालन बैंकमा हिमालयन शमशेर राणा, भीमबहादुर पाण्डे, पृथ्वीबहादुर पाण्डे, मोहनगोपाल खेतान, नरसिंहबहादुर श्रेष्ठको सुरुदेखि नै लगानी छ। अहिले पनि यीमध्ये केही व्यक्तिहरुको दोस्रो पुस्तामा सेयर हस्तान्तरण भएको छ भने केही व्यक्तिको नाम अहिले पनि बैंकको मुख्य सेयरधनीमा छ।

हिमालयन शमशेरको आभा इन्टरनेशनल कम्पनीमार्फतको सेयर शशीकान्त अग्रवालले खरिद गरिसकेका छन्। त्यसबाहेक उनी कर्मचारी सञ्चय कोष र हबिब बैंकको पनि मुख्य सेयरधनी हुन्।

इन्भेष्टमेन्ट बैंक हाँकिरहेका पृथ्वी बहादुर पाण्डे हिमालयन शमशेरका छोरीज्वाइँ हुन्। आफ्नो ज्वाइँसँग नै हिमालयन शमशेरले अविश्वास गर्दा इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रिया अघि बढ्नसकेको छैन। इन्भेष्टमेन्टमा मर्ज हुँदा आफ्नो नेपालको पहिलो गभर्नरको साख र आफैँले स्थापना गरेको बैंकको मर्जर पनि अस्तित्व नहुने आँकलनमा इन्भेष्टमेन्टसँगको कुरा अहिलेसम्म मिलेको छैन। तुलनात्मक रुपमा हिमालयनभन्दा इन्भेष्टमेन्ट बैंक बलियो पनि मानिन्छ।

त्यस्तै लक्ष्मी बैंकसँगको मर्जरमा भने योभन्दा अघि अध्यक्ष रहेका मोहनबहादुर श्रेष्ठको अनिच्छाले गर्दा कुरा अघि बढ्नसकेको छैन। पछिल्लो समय राष्ट्र बैंकले खोजिदिएको जोडी सिभिल बैंकसँग भने यसको दुवै पक्ष अहिलेसम्म बेखुस छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .