ad ad

कारोबार


कोरोना कहरमा हवाइ यात्रा : दशैँ सुरु हुनै लाग्दा छैन प्रि–बुकिङ

कोरोना कहरमा हवाइ यात्रा : दशैँ सुरु हुनै लाग्दा छैन प्रि–बुकिङ

वसन्त अर्याल
असोज २५, २०७७ आइतबार ७:४३,

दशैँ सुरु हुनै लाग्दा पनि हवाइ यात्राको लागि प्रि–बुकिङ सुरु भएको छैन। सामान्य अवस्थाभन्दा करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि दशैँलक्षित प्रि–बुकिङ हुन नसकेको हो।

हवाइ व्यवसायीले ६ महिना बन्द रहेको आन्तरिक उडान दशैँको समयमा रौनक आउने विश्वास गरे पनि प्रि–बुकिङ हुनसकेको छैन। हाल करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि फुल अकुपेन्सी हुनै गाह्रो रहेको व्यवसायी बताउँछन्।

पछिल्लो समय कोभिड–१९ का संक्रमित बढ्दै जाँदा मानिसहरुले यात्रा गर्न अनिच्छा देखाएका छन्। अत्यावश्यक मानिस मात्रै बाहिर जाँदा हवाइ कम्पनीलाई यात्रु पाउन मुस्किल रहेको छ।

सरकारले दशैँ तिहारमा सकेसम्म जुन ठाउँमा छौँ, त्यही बस्न आग्रह गरेको छ। हरेक दशैँमा उपत्यका छाडेर जाने लाखौं भए पनि यो वर्ष धेरै नजाने व्यवसायीको आँकलन रहेको छ।

yeti airlines plane

‘सरकारले दशैँमा सकेसम्म बाहिर नजानु। जहाँ छौँ, त्यही भर्चुअल माध्यमबाट आशीर्वाद लिनु भनेको छ’, यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘कोभिड १९ का संक्रमित पनि बढिरहेको र सरकारले पनि बाहिर नजान आग्रह गर्दा हवाइ यात्रु नभएका हुन्।’

बर्तौलाले अक्टोवर अन्तिमसम्म बुकिङ खुल्ला गरेको भए पनि यात्रुहरु बुकिङ नगरेको बताए।

‘हामीले दशैं लक्षित अक्टोबर अन्तसम्मको लागि बुकिङ लिएका छौँ’, उनले भने, ‘कोभिड १९ को संक्रमित बढ्दै जाँदा फेरि लकडाउन हुने डरले पनि बुकिङ नगरेको हुनसक्छ।’

सरकारले देशभर एकैपटक लकडाउन नभए पनि हस्पिटलमा संक्रमित राख्ने ठाउँ नभए सम्बन्धित पालिकामा लकडाउन वा निषेधाज्ञा हुनसक्ने बताएको छ। कोभिड १९ का संक्रमित दैनिक ५ हजारसम्म देखिन थालेपछि मानिस यात्राको लागि निरुत्साहित भएका छन्।

buddha air udan

बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले दशैंका लागि बुकिङ खुल्ला भए पनि यात्रुले बुकिङ अझै नगरेको बताए। उनले अहिले यात्रु सकेसम्म बाहिर नजाने र जानै परे पनि १÷२ दिनअघि मात्रै बुकिङ गर्ने गरेको बताए।

‘दशैंको लागि खासै बुकिङ छैन। गत वर्ष दशैंको बेला यात्रुको चाप बढी हुँदा प्रि–बुकिङ बढी हुन्थ्यो’, जोशीले भने, ‘यो वर्ष यात्रुको चाप नभएकाले प्रि–बुकिङ नभएको हो कि!’

आधा उडानमा पनि ९० प्रतिशत मात्रै अकुपेन्सी, दशैँको लागि छैन योजना
गत वर्ष चैत ११ देखि बन्द भएको आन्तरिक उडान सरकारले असोज ५ देखि खुल्ला गरेको थियो। सुरुका १० दिन करिब २५ प्रतिशत मात्रै उडान गर्दै आएका एयरलाइन्सले अहिले करिब ५० प्रतिशतसम्म उडान गर्दै आएका छन्।

असोज ५ गते यति एयरलाइन्सले ११ उडान गर्ने अनुमति पाएको थियो। यात्रुको संख्या बढ्दै जाँदा असोजदेखि दैनिक १९ उडान गर्ने अनुमति पायो तर अहिले सबै उडान गर्न पाएको छैन।

‘अहिले हामीले १९ उडान गर्न अनुमति पाएका छौँ तर यात्रुको चाप हेरी दैनिक १५÷१६ मात्रै उडान गर्न सफल भएका छौँ’, यतिका प्रवक्ता बर्तौलाले भने, ‘दशैंमा यात्रुको संख्या बढ्ने आशामा थप ५ उडान गर्न अनुमति माग गरेका छौँ।’

सुरुमा १९ उडान गरिरहेको बुद्धले अहिले ३२ उडान गरिरहेको बताएको छ।

‘दशैंका लागि प्रि–बुकिङ छैन अहिले ३२ उडान गरिरहेका छौँ। दशैँमा यात्रुको संख्या बढ्यो भने उडान पनि थप गर्छौँ’, बुद्ध एयरका जोशीले भने, ‘अहिले दशैँका लागि अरु कुनै योजना छैन।’

एयरलाइन्स कम्पनीले हवाइ कम्पनीले फुल क्षमतामा उडान गर्न नसकेकाले दशैंमा यात्रुलाई कुनै समस्या नहुने बताए। अहिले काठमाडौं उपत्यकामा अत्यावश्क काम भएका मात्रै बसिरहेका छन्। विद्यार्थीलगायत ठूलो संख्या लकडाउनअघि नै उपत्यका छाडेका थिए।

‘आजभोलिको अवस्था हेर्दा उपत्यका छाडेर बाहिर जाने धेरै छन्। तर उपत्यका आउनेको संख्या न्यून रहेको छ’, जोशीले भने, ‘उपत्यका छाडेर जानेले पनि धेरै अघि बुकिङ गर्दैनन्। १/२ दिनअघि मात्रै बुकिङ गर्छन।’

हवाइ कम्पनीहरुले अन्य समयको तुलनामा हवाइ भाडा कम हुँदा पनि यात्रुको संख्या बढ्न नसकेको बताए। हवाइ व्यवसायीले लामो दूरीका बसमा भाडा बढेको र हवाइ यात्राको तुलनामा असुरक्षित हुँदा हवाइ यात्रु बढ्ने आँकलन रहेको थियो।

लामो दूरीका बस व्यवसायीले सिट क्षमताको आधा मात्रै राख्दा पनि यात्रु नपाएको गुनासो गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .