ad ad

कारोबार


वुहानमा ‘डुइङ बिजिनेस इन नेपाल’

वुहानमा ‘डुइङ बिजिनेस इन नेपाल’

चेतनाथ आचार्य
मंसिर २, २०७७ मंगलबार ८:३४,

कुनैबेला कोरोना महामारीको इपिसेन्टर मानिएको चीनको मध्यपूर्वी भागमा पर्ने हुपेई प्रान्तको सदरमुकाम वुहान यतिबेला प्रविधिको विकास लिएर जुर्मुराउन थालेको छ।

वुहानको प्रविधिलाई विश्वव्यापी बनाउन चीनले ‘गोइङ ग्लोबल’ अर्थात् विश्वव्यापी व्यवसायमा जाऊ भन्ने नीति लिएर चीनले मंगलबारदेखि वुहानमा दोस्रो ‘बीआरआई चिनियाँ अन्तर्राष्ट्रिय औद्योगिक उत्पादन फोरम’ आयोजना गरेको हो।

गत वर्षबाट सुरु भएको फोरमसँगै इलेक्ट्रोनिक्स र मेकानिकल प्रोडक्स फेयर पनि वुहानमा आयोजना भइरहेको छ।

फोरममा मंगलबार ‘डुइङ बिजिनेस इन नेपाल’ अर्थात् नेपालमा व्यवसाय शीर्षकमा बेइजिङस्थित नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छबीन्द्र पराजुलीले नेपालको समग्र जानकारी बोकेको प्रस्तुति दिए। 

चिनियाँ लगानीकर्ताहरुलाई अहिले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताउँदै नेपालमा राजनीतिक स्थायित्व भएको र विदेशी लगानीसम्बन्धी नयाँ कानुनले लगानीकर्ताको हकहितको संरक्षण गरेको उनले औँल्याए।

लगानीकर्तालाई ध्यानमा राखेर एकल बिन्दू सेवा स्थापना भएको र ठूला लगानीकर्ताका लागि लगानी बोर्ड गठन भएको उनले जानकारी दिए। नेपालमा लगानी गर्नका लागि कानुनी प्रावधान, प्रकृया, गर्नुपर्ने तयारी, अहिले भइरहेको चिनियाँ लगानीको अवस्था, लगानी कर्ताले प्राप्त गर्ने फाइदा र नेपालो भौगोलिक अवस्था आदिका बारेमा पराजुलीले चिनियाँलाई स्पष्ट पार्ने प्रयास गरेका छन्।

चीन र भारतजस्ता ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालसँग अथाह जलविद्युतको संभावना रहेको, पर्यटन क्षेत्रमा व्यापक बजार रहेको, भौतिक पूर्वाधारमा गरिने काम भरखरै सुरु भएकाले नेपाललाई धेरै ठूलो वैदेशिक लगानी चाहिएको बताउँदा चिनियाँ लगानीकर्ताहरु उत्साही रुपमा आफूलाई प्रतिक्रिया दिएको पराजुलीले नेपालखबरलाई बताए।

नेपाल र चीनबीचमा १४१४ किलोमिटर सीमा जोडिएको र ठूला चिनियाँ प्रविधिहरु स्थलमार्गबाट अर्को मुलुक नभइकन सोझै नेपालमा लान सकिने भएकाले चिनियाँ लगानीकर्ताका लागि नेपाल स्वर्ण अवसरका रुपमा रहेको उनले बताउँदा चिनियाँहरु थप चासो राखेका हुन्।

सो कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको हुपेइ प्रान्तीय कमिटीका स्थायी सदस्य, वुहान नगर समितिका सचिव, वुहानका मेयर, मेकानिकल तथा इलेक्ट्रोनिक्स अन्तर्गत चिनियाँ चेम्बर अफ कमर्सका उपसभापति लगायतका उच्चस्तरीय चिनियाँ अधिकारीहरु कार्यक्रममा सहभागी थिए।

Wuhan DoingBusiness

मंगलबार साँझ वुहानमा भेला भएका विदेशी कुटनीतिज्ञहरुलाई विभिन्न कम्पनीहरुको अवलोकन भ्रमण गराइँदैछ। आफू गएका कम्पनीलाई पनि नेपालमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पराजुलीले बताए। लगानीकर्ताहरुमा नेपालबारेमा ठूलो चासो रहेको आफूले पाएको उनले बताए।

चीनको मध्यपूर्वी भागमा पर्ने हुपेई प्रान्तले पछिल्लो समय विकासको फड्को मारेको छ। याङ्से नदीको किनारमा रहेको सुन्दर सहर वुहानको विकास विश्वलाई देखाउने गरी चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनौपचारिक संवाद गर्नका लागि यही ठाउँ रोजेका थिए।

हुपेइ प्रान्त र वुहानले विभिन्न प्रविधिको विकासलाई केन्द्रमा राखेर विद्युत्तीय तथा यान्त्रिक विकासको अथाह विकास गरेकाले चीनले यही सम्बन्धी फोरम आयोजनाका लागि वुहान रोजेको हो। वुहानको विकास र प्रविधि चीनमा मात्र सीमित नभएर विश्वव्यापी बनाउने उद्देश्य यस फोरमले बोकेको छ।

गत जनवरीको अन्तदेखि ७६ दिनसम्म लकडाउनमा परेको वुहानको चर्चा विश्वव्यापी बनेको थियो। जति वुहानले विज्ञान र प्रविधिमा विकास गरेको थियो त्यो भन्दा बढी कोरोना महामारीका कारण यसको चर्चा चले पनि महामारी नियन्त्रणपछि विश्वमा मेडिकल सामग्री आपूर्ति चीनको वुहानबाटै भइरहेको छ। कोरोना महामारीलाई चाँडै नियन्त्रण गर्न सकेको र अत्यन्त कम क्षतिमा चिनियाँ अर्थतन्त्रलाई फेरि चलायमान बनाउने कुरामा पनि वुहानको केन्द्रीय भूमिका रहँदै आएको छ।

अहिले पनि विश्व कोरोनासँग युद्ध गरिरहेको बेला वुहानले कोरोना जितेर पनि अर्थतन्त्रलाई पुरानै गतिमा हिँडाइसकेको छ। वुहान कोरोनापछि कसरी तङ्ग्रियो भनेर विश्वलाई यतिबेला चासो छ। चीन चाहिँ वुहानको प्रविधि लिएर विश्वव्यापी लगानीमा जाऊ भन्दै आफ्ना व्यवसायीलाई अभिप्रेरित गर्दैछ।

बीआरआईमा आवद्ध रहेका २२ मुलुकलाई सहभागी गराएर चिनियाँ प्रविधिको विकासलाई विश्वसामु देखाउने उद्देश्यले चीनले यो फोरम आयोजना गरेको हो। फोरममा चीनका लागि कोलम्बियाली राजदूतले सम्बोधन गरेका थिए भने पावरपोइन्ट प्रस्तुति नेपालको मात्र रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .