ad ad

कारोबार


मापदण्ड मिचेर अवैध उत्खनन्, चुरेका वस्ती जोखिममा

मापदण्ड मिचेर अवैध उत्खनन्, चुरेका वस्ती जोखिममा

गोकुल जोशी
मंसिर २५, २०७७ बिहिबार ८:५१,

कञ्चनपुरका नदी, खोला नालाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा चोरी निकासी बढ्दै गएको पाइएको छ। प्रभावकारी अनुगमन नहुँदा निर्माण सामग्रीको उत्खनन् तथा चोरी निकासी बढ्दै गएको स्थानीयले बताएका छन्।

जिल्लाका विभिन्न नदीहरुबाट अवैध रुपमा नियम विपरित नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ। कञ्चनपुरका सबैजसो स्थानीय तहमा नियम विपरित अवैध उत्खनन् भइरहेको स्थानीयको भनाइ छ।

कृष्णपुर नगरपालिकामा पर्ने बण्ड र मछेली खोलामा मापदण्ड विपरीत निर्माण सामग्री उत्खनन् भइरहेको स्थानीय बताउँछन्। पहिलेको तुलनामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि बनजंगल अतिक्रमण र अवैध रुपमा खोला नालाबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासी हुने क्रम बढेको स्थानीय दलबहादुर विष्टले बताए।

उनका अनुसार खोलामा निर्माण सामग्री उत्खननका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) रिपोर्टमा बढीमा डेढ मिटर गहिराइसम्म मात्रै उत्खनन् गर्न पाउने उल्लेख छ। तर, त्यहाँ उल्लेख भएभन्दा ३/४ गुणा गहिरो खनेर मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ। नदीको बहाव नै परिवर्तन गर्ने गरी मछेली खोलामा निर्माण सामग्री उत्खनन् भइरहेको कृष्णपुर नगरपालिका–२ का वडा सदस्य तुलुुसीदेवी कलौनीले बताइन्।

‘यहाँ मापदण्ड मिचेर निर्माण सामग्री उत्खनन् भइरहेको छ, जथाभावी रूपमा भइरहेको उत्खननले नजिकका बस्ती समेत जोखिममा छन्,’ उनले भनिन्।

मछेली खोलामा पुल छेउबाट निर्माण सामग्री उत्खनन् हुँदा पुल समेत जोखिममा परेको उनी बताउँछिन्।

utkhanan-mnr2.jpg

सामान्यतया पुलभन्दा ५ सय मिटर टाढा, नदी किनारबाट ५/५ मिटर टाढा र चुरेफेदीबाट २ सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्न पाइन्छ। यो मापदण्डविपरीत यहाँ उत्खनन् भइरहेको छ।

यहाँका अधिकांश खोला, नाला वन क्षेत्रमै भएका कारण जथाभावी दोहनले वनमा पनि ठूलो असर परिरहेको सब–डिभिजन वन कार्यालय वाणीका प्रमुख बालमुकुन्द भट्टले बताए।

‘ठूलो संख्यामा टिपर, ट्रयाक्टर प्रयोग गरेर राति राति अवैध तरिकाले नदीजन्य पदार्थ चोरी, तस्करी भइरहेको सूचना आएका छन्’ उनले भने, ‘अवैध उत्खनन् रोक्न हामीले नियमित गस्ती गर्ने गरेका छौँ। त्यो कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याइने छ।’

नदी, खोला, नालाबाट अनधिकृत रुपमा भइरहेको उत्खनन् तत्कालन रोक्नुपर्ने माग गर्दै स्थानीयहरु आन्दोलनमा समेत उत्रिन थालेका छन्। केही दिन अगाडि मनपरी रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै बेदकोट नगरपालिका–५ धरमपुर र ६ घुर्सुवाका स्थानीय आन्दोलित भएका थिए।

‘खोलाबाट मनपरी रुपमा उत्खनन् भइरहको छ। ठूलो संख्यामा प्रयोग भएका जेसिबीले अनाधिकृत उत्खनन् गरिरहेका छन्’ बेदकोट नगरपालिका–६ घुर्सुवाका स्थानीय केशव पन्तले भने।

अनाधिकृत रुपमा नदीजन्य पदार्थ बोकेर हुइँकिने टिपरहरुले बाटो बिगारेको स्थानीय भुवन थापाले बताए।

‘खोलामा ६/७ वटा जेसिबीले अनाधिकृत रुपमा उत्खनन् गरिरहेका छन्। नदीजन्य पदार्थ बोकेर जाने टिपरहरुले यहाँको सडक बिग्रेको छ’ उनले भने।

अवैध उत्खननको गुनासो बढ्न थालेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिको टोलीले बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलामा अनुगमन गरेको छ। अनुगमनका क्रममा मापदण्ड विपरित उत्खनन् भइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताए।

utkhanan-mnr3.jpg

‘मापदण्ड विपरित उत्खनन् भएको पाइएको छ। सम्झौता अनुसार मापदण्ड अपनाएर उत्खनन्, बिक्री, वितरण तथा संकलन गर्न निर्देशन दिएका छौँ’ उनले भने, ‘कतै बढी खनेको, मेसिन प्रयोग भएको, ढाँचा अनुसार राख्नु पर्ने अभिलेख नराखेको पाइएको हो।’

अवैध रुपमा खोलाको उत्खनन् गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रजिअ महतोले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .