लिक र रेल तयारी अवस्थामा रहेको नेपालको एक मात्र रेल सेवा जनकपुर–जयनगर रेल जनशक्तिको कारण चल्न सकेको छैन। असोज २ गते भारतबाट दुईवटा नयाँ रेल खरिद भएर आइसकेको छ।
दुवै रेल इन्जिन अभावमा धनुषाको इनरुवामा पार्क गरि राखिएको छ। नेपाल रेल कम्पनीले जनशक्ति व्यवस्थापन गरी दुई महिना भित्र रेल सञ्चालन गर्ने आश्वासन दिएको थियो। पछि आएर विवाहपञ्चमी महोत्वसमै रेल सञ्चालन गर्ने भनेको थियो।
कम्पनीले भने अनुसार विवाह पञ्चमीको पूर्व सन्ध्यामा नेपालको रेल त चल्न सकेन तर विवाहपञ्चमीकै अघि भने भारतबाट ५३ डब्बाको मालबाहक रेल आएको छ।
दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म निर्माण भइरहेको १७ किलोमिटर लिकमा कालो पत्थर झार्न बिहीबार साँझ मालबाहक रेल जनकपुर आएको हो। रेल आएपछि हेर्नेहरुको जनकपुरमा घुइँचो लागेको थियो।
भारतको पाखोरबाट लिकमा कालो ढुंगा झार्न ५३ डब्बाको भारतीय रेल जनकपुर आएको रेल विभागका साईट इन्जिनियर विनोद ओझाले बताए। रेल शुक्रबार साँझ फर्केको छ। धेरै मालबाहक डब्बा भएको रेल हेर्न फर्किने बेला पनि सर्वसाधारणको घुइँचो लागेको थियो।
रेल चलाउन करारमा १ सय २९ जना कर्मचारी भर्ना गर्ने सूचना आह्वान गरेपनि अहिलेसम्म छनोटै भएको छैन। कर्मचारी छनोट नहुँदा अझै रेल कहिले चल्ने भन्ने अन्योल कायमै छ।
प्रतिक्रिया